डा. सविना श्रेष्ठ प्रधान
विवाहपछि प्रत्येक दम्पतीको एउटा स्वाभाविक सपना हुन्छ– घरमा बच्चाको हाँसो गुञ्जियोस्। तर, चाहँदाचाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन। कुनै–कुनै महिलाले सन्तान जन्माउन सक्दैनन्। यस्ता दम्पतीमध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्छन्। आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवान्को श्राप वा पूर्वजन्मको अभिशाप भन्दै हेलाँ गर्ने चलन छ। सन्तान सुखबाट वञ्चित हुनु पर्दा धेरै दम्पतीका लागि यो सुन्दर संसार कालकोठरीजस्तै बन्नपुगेको छ। आजको वैज्ञानिक युगमा आईयूआई, आईभीएफ (टेस्टट्युब बेबी), एक्सीजस्ता आधुनिक प्रविधिद्वारा कैयौँ निःसन्तान दम्पतीको सपना साकार हुनपुगेको छ।
कुनै पनि परिवार नियोजनका साधन नअपनाई नियमित सहवासपश्चात् पनि दुई वर्षभित्र गर्भधारण हुन नसकेको अवस्थालाई निःसन्तान मानिन्छ। सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रूपमा जिम्मेवार मानिन्छन्। कहिलेकाहीँ दुवैमा खराबी नहुँदानहुँदै पनि गर्भ रहन कैयौँ वर्ष लाग्न सक्छ। किनभने, गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो। स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुन सक्छ। स्त्री राग रस वा पुरुष राग रसको कमीका कारण यस्तो हुन सक्छ।
कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ। युवाहरू विवाह गर्नासाथ रोजगारीका लागि विदेश गएका हुन्छन्। दुई महिनाको बिदामा आएको समयमा घर परिवारबाट बच्चा पाउने दबाब हुन्छ। छोटो समयमै सन्तानको इच्छाका कारण तनाव पर्दा सन्तान जन्माउन सकेका हुँदैनन्। श्रीमान्–श्रीमती दुवैमा कुनै खराबी नभए पनि तनावका कारण समस्या उत्पन्न हुन्छ। कतिपयले उपचारका क्रममा भन्ने गरेको पाइन्छ, ‘विवाह गरेको चारपाँच वर्ष भयो, सन्तानभएको छैन।’ यस्ता समस्या लिएर आउनेका लागि ओम अस्पतालले शुक्रकीट फ्रिज गरेर उपचार गर्ने गरेको छ। श्रीमान्को शुक्रकीट जम्मा गरेर राख्ने र श्रीमान् विदेश गइसकेपछि पनि श्रीमतीको पाठेघरमा राखी उपचार गर्ने गरिन्छ। तर, यस्तो अवस्थालाई हाम्रो समाजले श्रीमान् विदेशमा भएको समयमा पनि कसरी गर्भवती भएको भनेर नकारात्मक दृष्टिले हेर्ने चलन छ। यसमा जनचेतना जगाउन जरूरी छ। श्रीमान्को शुक्रकीट नै श्रीमतीको पाठेघरमा राखिएको हुन्छ।
‘विदेशमा काम गर्न जाने कामदारमा शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी भएको हुन्छ। किनभने, त्यहाँको उच्च तापक्रमले यस्तो हुन सक्छ। विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ। शुक्रकीट सामान्य अवस्थामा फर्कन करिब तीन महिना लाग्ने गर्छ। त्यस समयसम्म उनीहरू पुनः रोजगारीका लागि फर्किनुपर्ने हुन्छ। त्यसकारण पनि सन्तान चाहेको समयमा हुन सकेको हुँदैन। उनीहरूका लागि आईयूआई प्रविधिबाट उपचार गर्नुपर्ने हुन्छ। यस विधिद्वारा ओम अस्पतालमा करिब दुई हजारले सन्तान जन्माएका छन्।
पुरुषमा सन्तान नहुने कारण
– वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी
– वीर्यमा शुक्रकीट उत्पादन नहुनु।
– वीर्यमा संक्रमण
– शुक्राणुको बनावटमा खराबी
– हर्मोनमा गडबडी
– पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु
– शुक्रनली वा अन्य भागमा केही अवरोध भएमा।
महिलामा सन्तान नहुने कारण
– अण्डाशयमा अण्डा नबन्ने अथवा थुपै साना–साना डिम्ब बने पनि नबढ्ने।
– पाठेघरको नली पूरा बन्द भएमा, पिप या पानी जमेमा या अण्डा पकडिने काम नगरेमा।
– पाठेघरको झिल्ली क्षय रोग अथवा कुनै कारणबाट पातलो हुनु।
– हर्मोनमा गडबडी।
– पाठेघरको झिल्लीमा मासु बढ्नु।
– गर्भाशयको मुख ज्यादै सानो हुनु।
महिलामा गर्नुपर्ने जाँच
– पाठेघरको झिल्लीमा क्षय रोग भएको हो या होइन।
– महिनावारी भएको दोस्रो वा तेस्रो दिनमा हर्मोनको जाँच।
– रगतको सामान्य जाँच
– भित्री अल्ट्रासाउन्डद्वारा अण्डाको जाँच
– दुरबिन प्रविधिद्वारा पाठेघरको भित्री भाग तथा नलीको जाँच
– सहवासपश्चात् शुक्रकीटको जाँच
पुरुषमा गर्नुपर्ने जाँच
– रगतको सामान्य जाँच
– वीर्यको विशेष जाँच
– आवश्यकताअनुसार टेस्टिकुलर बायोप्सी गर्ने
– हर्मोनको जाँच
सबै किसिमको जाँचपश्चात् नै कुनै निष्कर्षमा पुग्न सकिन्छ। त्यसपछिमात्र उपचारको विधि अपनाउनुपर्छ।
उपचार विधि
– सबै जाँचपश्चात् श्रीमान्–श्रीमतीको सामान्य उपचार गर्ने
– आर्टिफिसियल इन्सेमिनेसनविद पार्टनर्स स्पर्म
– आर्टिफिसियल इन्सेमिनेसनविद डोनर्स स्पर्म
– टेस्टट्युब बेबी
– आईएभीएफविद डोनर स्पर्म
– एग डोनेसन
– सिमेन एन्ड एम्ब्रियो बैंक
– डोनर एम्ब्रियो ट्रान्सफर
– इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन
सामान्य उपचारअन्तर्गत महिनावारी भएको तेस्रो दिनबाट अण्डा बन्ने औषधि दिएर महिनावारी भएको नौ दिनबाट ‘ट्रान्सभ्यागिनल सोनोग्राफी’बाट अण्डा बनेको गतिविधि हेरिन्छ। कसैकसैलाई हर्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ। अण्डा फुटेपछि प्राकृतिक सहवासको सल्लाह दिइन्छ र यसबाट गर्भधारण गर्ने अवसर बढ्न जान्छ।
आईयूआई प्रविधिमा महिनावारी भएको दोस्रो दिनबाट अण्डा बन्ने औषधि दिएर नौ दिनबाट टीभीएसबाट अण्डा बनेको गतिविधि हेरिन्छ। कसैकसैलाई हर्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ। महिनावारी भएको १४–१५ दिनमा जब अण्डा फुट्छ तब श्रीमान्को वीर्य संकलन गरी आईभीएफ मिडियामा हेरेर मसिनो नलीको माध्यमबाट श्रीमतीको पाठेघरमा राखिन्छ। यो प्रक्रिया पीडादायक हुँदैन। यसमा बिरामीलाई अस्पताल पनि भर्ना हुनुपर्ने आवश्यकता पर्दैन।
श्रीमान्को वीर्य संख्या निकै कम भएको या शुक्राणुको अभाव भएको अवस्थामा श्रीमान्–श्रीमती दुवैको सहमति बमोजिम दाताको शुक्राणु लिएर यो प्रविधि अपनाइन्छ। आईयूआई प्रविधिका लागि पाठेघरको एउटा नली भए पनि खुल्ला भएको हुनुपर्छ र पाठेघरको झिल्ली पनि स्वस्थ हुनुपर्छ। यदि महिलाको पाठेघरको दुवै नली बन्द भएमा, नलीहरू शल्य क्रियाद्वारा निकालिएमा, छपटकसम्म आईयूआई सफल नभएमा, बाँझोपनको कुनै कारण पत्ता नलागेमा आईभीएफ (टेस्टट्युव बेबी) विधि अपनाइन्छ। सर्वप्रथम निःसन्तान हुनुको कारण निर्क्याेल गर्नु जरुरी हुन्छ।
निःसन्तान विशेषज्ञ, ओम अस्पताल
शुक्रवार साप्ताहिकबाट साभार