यतिबेला देशका विभिन्न जिल्लामा स्वाइन फ्लू भनेर चिनिने रोग इन्फ्लूएन्जा ए पोजेटिभ भाइरस (एच १ एन १)का बिरामी देखिन थालेपछि नेपालीलाई यो रोगको डरले सताउन थालेको छ। हरेक दिन स्वाइन फ्लूका नयाँ बिरामी भेटिएको खबर बाहिर आइरहँदा आम नागरिकमा स्वाइन फ्लूको डर झन् फैलिँदै गइरहेको छ। तर चिकित्सकहरूले यसलाई सामान्य रुघाखोकी भएकाले आत्तिनुनपर्ने बताइरहेका छन्। स्वाइन फ्लूको बारेमा पर्याप्त जानकारी दिन नसक्दा आम नागरिकहरूमा यो कुनै ठूलै रोग हो कि भन्ने भ्रम रहेको चिकित्सकहरूको भनाइ रहेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीका अनुसार सामान्य रुघाखोकी, घाँटी दुख्दा र उच्च ज्वरो आउ”दैमा स्वाइन फ्लू हुने होइन। उनले स्वाइन फ्लू पनि अन्य मौसमी रुघाखोकीजस्तै सामान्य समस्या भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए।
‘सामान्य रुघाखोकी भइसक्दा पनि स्वाइन फ्लू मानिसहरूमा रोग भन्दा पनि बढी डर भएको छ,’ उनले भने, ‘यो अन्य साधारण रुघाखोकीभन्दा फरक छैन। तर, मानिसहरूमा रहेको फियर फ्लू (डरको त्रास)ले यसलाई ठूलै रोग हो भन्ने भ्रम रहेको छ।’ उनले अन्य रुघाखोकीको समस्यामा जस्तै यसमा पनि झोल खानेकुरा खाएर एक हप्ता आराम गर्ने हो भने आफैँ निको भएर जाने बताए।
विश्व स्वास्थ्य संगठनले पनि यसलाई सामान्य मौसमी रुघाखोकीका रूपमा सन् २०१० मै प्रमाणित गरेपछि यसको नामै परिवर्तन भएर एच वान एन वान भाइरसको संक्रमणबाट सर्ने सरुवा रोग भएको हो। मौसम परिवर्तन सुरु भएलगत्तै मानिसलाई रुघाखोकी लाग्ने तथा ज्वरो आउने समस्या आमरूपमा देखिने गरेको छ। तर, यही समयमा उपत्यकालगायत देशका अन्य स्थानमा पनि मौसमी रुघाखोकीकै जस्तो लक्षण भएको स्वाइन फ्लू संक्रमण पनि देखिएपछि मानिसहरूमा ठूलै डर फैलिरहेको छ।
डा. मरासिनीका अनुसार पछिल्ला केही दिनयता स्वाइनफ्लूको संक्रमण भएका खबर बाहिरीएपछि प्रयोगशाला तथा अस्पतालहरूमा स्वाइन फ्लूको आशंकामा परीक्षण र उपचारका लागि जाने क्रम बढिरहेको छ। ‘यो सबै मानिसहरूमा रहेको डरको कारणले नै हो,’ उनले भने, ‘साधारण रुघाखोकी भएकाले यसलाई डरलाग्दो रोगका रूपमा लिनुपर्ने अवस्था छैन। यो जुनसुकै ठाउँमा सर्ने गर्छ, तर यसको प्रभाव भने निकै कम हुने गरेको छ।’ उनका अनुसार विश्व स्वास्थ्य संगठनले यसलाई सामान्य मौसमी रुघाखोकीका रूपमा प्रमाणित गरिसकेकाले चिकित्सकहरूले पनि साधारण रुघाखोकीको जस्तै यसमा पनि आराम र अरूलाई सार्न नदिन मास्क लगाउन, भीडभाडमा नजान र घरमै आराम गर्न सुझाव दिँदै आइरहेका छन्।
उनले आम नागरिकसँगै अझै पनि धेरै स्वास्थ्यकर्मीमा स्वाइन फ्लूका बारेमा अन्योल र त्रास रहेको भन्दै सचेतना जरुरी रहेको बताए। उनले गम्भीर प्रकृतिका लक्षण देखिए वा केही दीर्घरोग छ भनेमात्र अस्पताल जानुपर्ने, होइन भने आरामकै भरमा यो समस्या समाधान हुने बताए।
चिकित्सकहरूका अनुसार पान्डमिक इन्फ्लूएन्जा एच वान एन वान रोगले ९९ प्रतिशत मानिसमा मन्द प्रकृतिको रुघाखोकी र एक प्रतिशतमा मात्रै गम्भीर असर गर्छ। रोगीको सम्पर्कमा आएका प्रत्येक तीनजनामा एक बिरामी हुन्छन्। १० मा एकजनामा इन्फेक्सन हुन्छ। प्रति १० हजारमा चारदेखि १० जनाको मृत्यु हुन्छ।
सामान्य रुघाखोकीमा जस्तै यो रोगमा पनि ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, झाडापखाला हुने, नाकबाट पानी बग्ने लक्षण हुन्छ। इन्फ्लूएन्जाका समस्यामा श्वासप्रश्वासमा अप्ठ्यारो हुने, मुखबाट रगत आउनेजस्ता लक्षण देखिएमा मात्रै तुरुन्त अस्पताल जानुपर्ने हुन्छ। अन्यथा, एक हप्ताको आरामले नै स्वाइनफ्लू निको हुने चिकित्सकहरू बताउँछन्।
सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेका अनुसार स्वाइन फ्लू कुनै असामान्य रोग होइन, सामान्य रुघाखोकी नै हो। उनले रुघाखोकी लागेका व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा रुमालले नाकमुख छोप्ने र प्रशस्त मात्रामा झोल पदार्थ र मनतातो पानी खाँदा यो रोग निको हुने बताए। तर, अत्यधिक ज्वरो आउने, मुखबाट रगत नै आउने तथा श्वासप्रश्वासमा समेत जटिल समस्या आउँदा सामान्य नै हो भनेर बस्न भने नहुने उनको सुझाव छ। यस्तो अवस्थामा तुरुन्त अस्पताल पुग्नुपर्छ।
जोखिममा हुने समूह
यो रोगले बच्चा, युवा, बूढाबूढी सबैलाई रुघाखोकीले सताउने गर्छ। युवाको रोगसँग लड्ने क्षमता बढी हुने भएकाले अर्थात् उनीहरूको रोगप्रतिरोध शक्ति बढी हुने भएकाले यो रोगले युवालाई खासै असर गर्दैन। तर, यो रोग केही खास वर्गका व्यक्तिलाई भने बढी जोखिमका रूपमा लिने गरेको पाइन्छ। डा. पाण्डेका अनुसार पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, दमका रोगी तथा छाती र श्वासप्रश्वाससम्बन्धी रोग लागेका एवं मुटु र मिर्गाैलासम्बन्धी रोग लागेकालाई यो रोगले छिट्टै समात्ने तथा बढी खतरा रहने गरेको छ।
त्यसैगरी, मधुमेह भएका तथा एचआईभी एड्स रोग लागेकालाई पनि यो रोगले चाँडै पक्रन सक्छ। यी रोगबाट पीडित तथा बालबालिका र गर्भवतीको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले जस्तोसुकै रोगले चाँडै समाउन सक्ने हुनाले उनीहरूले धेरै सतर्कता अपनाउनुपर्ने डा. पाण्डेले बताए। उनका अनुसार यी समूहका मानिसले यो रोगमा हेलचेक्य्राइँ गरेमा मृत्युसमेत हुन सक्छ।
जोगिने उपाय
चिकित्सकका अनुसार यो रोग मानिसमा एक–अर्काको प्रत्यक्ष सम्पर्कबाट सर्ने हुनाले हाच्छियुँ गरेपछि, खोकेपछि हात धुनु जरुरी हुन्छ। हात नधोईकन अरू सामानको प्रयोग गर्दा ती भाइरस जीवित रही अर्कामा सर्न पुग्छन्। यदि हात धुन सम्भव नभएमा दुई हातलाई आपसमा मज्जाले रगडेमा पनि कीटाणु मर्ने चिकित्सकको भनाइ छ। खोक्दा, हाच्छियुँ गर्दा सकेसम्म हातले नछोपी रुमाल वा त्यस्तै अरू सफा वस्तुको प्रयोग गरेमा अरूलाई सर्ने डर कम हुन्छ। हेलचेक्य्राइँ गरेमा फोक्सोमा संक्रमण हुन सक्छ। फोक्सोमा संक्रमण भयो भने निमोनिया हुने तथा छातीको संक्रमण भई ज्वरो आउने, खोकी लाग्ने, सेतो वा पहँ”लो खकार आउने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने गर्छ।
एक सातासम्म अरू व्यक्तिको सम्पर्कमा नआईकन घरैमा बसी आराम गरी प्रशस्त मात्रामा तरल खानेकुरा खाएर उपचार गर्नुपर्छ। बाहिर निस्कनुपरेमा मास्क अनिवार्य रूपमा लगाउनुपर्छ। घरेलु औषधि र झोल खानेकुराको सेवन नै महŒवपूर्ण उपचार मानिन्छ। रुघाखोकीमा मात्र नभएर स्वाइन फ्लूका लागि पनि यही घरेलु उपचार पद्धति अपनाइन्छ। प्रशस्त मात्रामा तरल पदार्थ पिउने, तातोपानी पिउने, पोषणयुक्त खानेकुरा खाने, भिटामिन ‘सी’ युक्त फलफूल खाने, उचित आराम गर्ने गरेमा रोग निको हुने डा. पाण्डे बताउँछन्।
प्रविण ढकाल/शुक्रवार