काठमाडौंमा थारु भिलेज

Tharu Village-7

सुरज कुँवर– नेता भाषण मात्रै गर्छन्। काम गर्न सक्दैनन्। लुटेर खान्छन्,’ भन्ने मान्यता छ भने, यसलाई भ्रम ठान्नुहोस्। पत्याउनै मुस्किल परे राजधानीको बिजुलीबजारमा तीन महिनाअघि खुलेको ‘थारू भिलेज’ जानुहोस्, तपाईंको मान्यता वा भ्रमलाई तोड्ने छन्, लक्ष्मण चौधरी -थारू) ले। लक्ष्मण चौधरी आफूलाई ‘लक्ष्मण थारू’ ले चिनाउँछन्। पश्चिम नेपालको मूल आदिवासी चौधरी समुदायका चर्चित नेता हुन्।

उनको अर्को परिचय माओवादी सशस्त्र आन्दोलनसँग जोडिएको छ। द्वन्द्वकालमा यी मंगलसेन आक्रमणका साथसाथ रुकुमको खारा, जुम्ला र म्याग्दी आक्रमणमा पनि अग्रमोर्चामै पुगेर लडेका माओवादी ‘लडाकु’ पनि हुन्। यतिबेला यी ४० वर्षीय चौधरी राजधानीमा थारू समुदायको खान्की, पोसाक, संस्कृतिलाई ‘कमर्सियलाइजेसन’ गर्ने अभियानमा जुटेका छन्।

‘नेताहरू भाषण मात्रै गर्छन्। काम गर्न सक्दैनन्। लुटेर खान्छन्,’ भन्ने मान्यता तोड्न यो काम थालेको हुँ,’ चौधरीले भने। गत मंसिर १९ गते उपराष्ट्रपति परमानन्द झालाई डाकेर थालनी गरेको चौधरीको ‘थारू भिलेज’ पुग्दा कुनै दक्षिणी थारू गाउँ पुगेको झल्को देख्न सकिन्छ। ‘हरेक क्रान्तिको नेतृत्व गर्ने नेता तराईको थारूका घरमा बसे। त्यहाँको खाना खाए। तर, यो खान्कीको व्यवसायीकरण हुन सकेन,’ उनले भने।

पश्चिम नेपालको कैलालीस्थित फूलबारीमा मूल घर भएका चौधरीले थारू भिलेज सञ्चालन गर्नुको उद्देश्यबारे थपे, ‘त्यसैले त्यहाँको खान्कीको व्यवसायीकरण गर्दै अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन अब म आफैं डट्ने छु।’ खानाका साथै थारू समुदायको रहनसहन, संस्कृति, पर्व र जीवनशैलीबारे जानकारी दिलाउने उद्देश्य राखेका चौधरीले यो भिलेज स्थापना गर्न १ करोड रुपैयाँ लगानी गरेको बताए।

‘फूलबारीको मेरो २ बिघा जग्गा बिक्री गरेर यो भिलेज सुरु गरेँ,’ सिंहदरबार जाने मूल बाटो नजिकैको भिलेजबारे भने, ‘महिनाको अढाइ लाख रुपैयाँ भाडा मात्रै तिर्छु।’ चार रोपनी क्षेत्रफलको भिलेजमा समुद्री खान्कीको सूचीमा पर्ने घोंगी, चामलको पिठोबाट तयार पारिएको बघिया, माघीमा थारू समुदायमा खाइने ढिक्री, अन्धीभात, माछाको भुटन, कुखुरा, हाँस, परेवा र बटैको मासु हरेक दिन अतिथिको मागअनुसार तयार हुन्छ।

‘राजधानीमा बसोबास गर्दै आएकाले अब तराईका थारूले खाने शैलीको पिरो, चिल्लो खानाको स्वाद यतै परख गर्न सक्छन्,’ चौधरीले भने। उसो त कन्टिनेन्टल खाना पनि उनको मेनुमा नभएका होइनन्। थारू परिकारकै लागि चौधरीले सप्तरीबाट ‘थारू सेफ’ सुनिता चौधरीलाई झकिाई भान्साको जिम्मा दिएको बताए। खानामात्रै होइन, थारूको संस्कृति कस्तो छ थाहा पाउन उनले सजाएको भिलेजबाट पनि जानकारी मिल्छ।

उनकै जन्मथलो फूलबारीबाट झकिाइएका सिकर्मीले ‘छाना’ बनाएका छन्। बाँसले बनाइएका छानामा थारू समुदायको ‘घर बनाउने शैलीको झल्को देखिन्छ। यस्तै ४० जना सुत्न मिल्ने लजमा पनि उनले डोरीले बाँधेर बनाइएका खटिया राखेका छन्। ती कोठामा आधुनिक सोफा होइन, मचिया राखेका छन्। खटिया र मचिया अहिले पनि थारू बस्तीमा लोकपि्रय छन्।

यो भिलेजमा पुग्नेलाई खाना र बस्न मात्रै होइन, मनोरञ्जन दिन पनि चौधरीले कुनै कसर बाँकी राखेका छैनन्। ‘हाम्रो समुदायको खाना मात्रै होइन, संस्कृति पनि देखाउँछु,’ नेपालका ६० जिल्ला पैदलै पुगेको बताउने चौधरीले भने, ‘संकटमा परेका तर पर्यटक आकर्षण गर्ने थारू नाचहरू झुम्का, सखिया, मुग्रहवा, पैया र लाठी नाच हरेक शुक्रबार देखाउँछौं।’

तराईबाट राजधानीमा उच्च शिक्षा लिन आएका ८ थारू समुदायका तन्नेरी यी नाच देखाउँछन्। पेय पदार्थमा केराबाट तयार पारिएको टीकापुरको बनाना वाइन, माघीमा प्रयोग हुने जाँड पनि यो भिलेजमा राख्न चौधरीले छुटाएका छैनन्। चौधरीले यसै भिलेजमा ढकिया, डेलुवा, ढकनी, भौका, काठका खरपाउ लगायतका हाते सामान पनि बिक्रीमा राखेका छन्।

‘आधुनिक बजारको विस्तार नहुँदा आदिवासी थारूको जीवनशैली कस्तो थियो, यी सामग्रीले जान्न/बुझ्न सजिलो हुनेछ,’ नजिकैको प्रदर्शनी कक्ष देखाउँदै चौधरीले भने। नेता बोल्छन् काम गर्दैनन् भन्ने आममानिसको भ्रम चिर्न पर्यटन व्यवसाय अपनाएको बताउने उनी हरेक दिन बिहान २ र बेलुकी २ घन्टा यसै भिलेजमा काम गर्छन्। बाँकी समय राजनीति।

कान्तिपुर शुक्रवारबाट

2 thoughts on “काठमाडौंमा थारु भिलेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *