थारु नेताहरु तराईमा कति प्रदेश चाहन्छन्?

tharu-3

मदन चौधरी, काठमाडौं- राज्य पुनःसंरचनामा थारु सभासद् र थारु अगुवाले फरक फरक धारणा राखेका छन्। थारु पत्रकार संघ, नेपालले आयोजना गरेको ‘नयाँ संविधानमा थारुको मुद्दा’ विषयक अन्तर्क्रियामा सहभागी थारु सभासद् र अगुवाहरुले तराईको राज्य पुनःसंरचनामा फरक फरक मत प्रस्तुत गरेका हुन्।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले तराईमा स्वायत्तः एक प्रदेश कुनै हालतमा नहुने बताए। ‘चाहे एक मधेस एक प्रदेश होस् वा थरुहट प्रदेश होस्। तराईमा यी दुबै प्रदेश सम्भव छैन,’ उनले भने, ‘तराईमा दुई प्रदेश भने बनाउन सकिन्छ।’

उनले मधेस एक प्रदेशको नारा मधेसी नेताको दिमागबाटै आफूले हटाइदिएको समेत बताए। उनले थरुहट प्रदेशबारे मधेसी नेताहरु पनि लचिलो देखिएकाले तराईमा दुई प्रदेश बनाउनुपर्ने बताए। उनले पर्सादेखि झापासम्म मधेस प्रदेश र चितवनदेखि कञ्चनपुरसम्म थरुहट प्रदेश बनाउनुपर्ने बताए।

‘पर्सादेखि पूर्व ३५ प्रतिशत थारुको बसोबास छ। जबकि चितवनदेखि पश्चिम ६५ प्रतिशत थारु बसोबास गर्छन्। यस हिसाबले दुई प्रदेश बनाउँदा सबैको हित हुन्छ,’ गच्छदारले भने।

उनले थारु नाराहरु मन परेपनि आफूले लाउन नसक्ने बताए। ‘थारुका नाराहरु मलाई मन पर्छ। म आफैं पनि थारु भएकोले मन पर्नु स्वभाविक पनि हो। तर म चाहेर पनि थारुको नारा लगाउन सक्दिन,’ उनले भने।

उनले समय नभएको भन्दै अल्झेका मुद्दामा १४ गतेसम्म सहमति गरिसक्नुपर्ने बताए। विरोधका बावजुद दुई तिहाइले संविधान पारित भयो भने त्यो संविधान कसरी मान्ने? उनले भने, ‘कि संविधान मान्दैनौं भनेर जानुपर्‍यो कि दुई तिहाइको निर्णय मानेर जानुपर्ने जटिक स्थिति सिर्जना हुनसक्छ।’ त्यसैले ठूला पार्टीहरुले मेरो भूमिका खोजिरहेको उनले बताए। ‘थारु र मधेसी, मधेसी र पहाडी मिलाउन यो देशमा कोही छ भने त्यो विजय गच्छदारले मात्रै सक्छ,’ उनले भने।

त्यस्तै थरुहट तराई पार्टी नेपालका सभासद् गोपल दहितले तराईमा तीन प्रदेश हुनुपर्ने बताए। उनले चितवन पश्चिम थरुहट प्रदेश, पर्सादेखि धनुषासम्म सिमरौनगढ प्रदेश र त्योभन्दा पूर्व थरुहट कोचिला प्रदेश बन्नुपर्ने बताए। राज्यपुनःसंरचना गर्दा तराई र पहाडका जिल्ला भने मिसाउन नहुने उनको तर्क थियो।

उनले राजनीतिक सम्बाद तथा सहमति समितिमा राज्यपुनःसंरचनाको मूल विषयले अझै स्थान नपाइसकेको बताए। ‘साना विषयमा अल्झिएर मूल विषयमा छलफल नगरी समय कटाउने मेलो भएको छ। कांग्रेस–एमालेका केही नेताहरुले संविान नबनाउने कार्ड फाल्दैछन्,’ उनले भने।

‘ठूला भनाउँदा दलका नेताहरुले राज्यपुनःसंरचनाका मुख्य विषयलाई समितिमा दबाइदिएका छन्,’ उनले भने, ‘बहुमतको दुरुपयोग गरेर ठूला नेताहरुले संविधान नै अपाङ्ग बनाउने तयारी गरिरहेका छन्।’ उनले नेताहरुको यही रवैया रहे दसैंपछि चर्को आन्दोलन हुने बताए।

नेपाली कांग्रेसका सभासद् तेजुलाल चौधरीले पनि तराईमा तीन प्रदेश बन्नुपर्ने बताए। उनले नवलपरासीदेखि कञ्चनपुरसम्म, चितवनदेखि धनुषसम्म र सिरहादेखि झापासम्म गरी तीन प्रदेश बनाइनुपर्ने बताए। यद्यपि चुरेसमेत छोड्न नहुने भएकाले मकवानपुर, सिन्धुली र उदयपुरका केही स्थानहरु ती प्रदेशमा समेट्नुपर्ने उनले बताए।

त्यस्तै राष्ट्रिय नागरिक पार्टी नेपालका अध्यक्ष राजकुमार लेखीले तराईमा बहुप्रदेश बन्नुपर्ने बताए। उनले अधाजनसंख्या भएको पहाडमा १२ प्रदेश बन्नसक्छ भने आधा जनसंख्या रहेको तराईमा १२ प्रदेश किन बन्न सक्दैन भनेर प्रश्न गरे।

उनले तराईमा बहुप्रदेश नबनाइए छठपछि ‘थारु आन्दोलन’ हुने चेतावनीसमेत दिए। ‘तराई जनताले सबै कुरा बुझिसकेका छन्,’ उनले भने, ‘आफूलाई मठाधिस भनाउँदा नेताहरुले तराईमा बहुप्रदेश नबनाए तराईमा अब अगो बल्नेछ।’

महेन्द्र राजाले पहाडमा ५३ र तराईमा २२ जिल्ला बनाएर ठगेको बताउँदै उनले थोरै प्रदेश बनाएर तराईबासीलाई ठग्ने काम नगरियोस् भनेर सबैको ध्यानाकर्षण गराए।

कार्यक्रममा रुक्मिनी चौधरी, जनक चौधरी, बलदेव चौधरी, बुद्धिसागर चौधरी, प्यारेलाला राना थारु, चन्द्रकुमार चौधरी, भानुराम चौधरी, लक्ष्मण चौधरी, सत्यनारायण चौधरी, रमेश चौधरीलगायतकाले राज्यपुनःसंरचनाबारे बोलेका थिए।


Leave a Reply

Your email address will not be published.