सिताराम थारु।
गाउँमा पहिले पहिले दशैँमा खुब नाटक गरियो। एकचोटि नयन राज पान्डेजीको लेखनमा रावण नाटकमा रिहर्सल गर्दै थियाैं। बाहुनको छोरो छाला गोरो चिटिक्क परेकोले त्यो राजेश देबकोटा सधैं रामको रोल पाउँथ्यो तर लहानु थारुको छोरो कालो अलि फरक अनुहार अभिनयमा अब्बल हुँदाहुँदै पनि रावणको रोल दिइन्थ्यो । बाँँकी अरु थारुको छोराछोरीहरुलाई हनुमान, सुगरिक, बादरको रोल पाउँथे । यसरी हामी गाउँमा रमाइलो गरेर भब्य रुपमा दशै मनाउँथ्यो । २०५९ सालमा दशैमा यही नाटक गर्ने तयारी गर्दै थियो तर यसपाली लहानुले हिम्मत गरेर भन्यो “अख्सिस मै रावण नै बनम, राम बनम” सायद उसले भित्रदेखिको इच्छा प्रस्फुटन गर्यो । रामले चिटिक्क परेर लगाएको लुगा र सबै दर्शक रामलाई माया गर्ने, पुजा गर्ने भएकोले लहानुलाइ पनि राम बन्न मन लागेको थियो । तर हाम्रो रिहर्सल गराउने काकाले लहानुलाई हप्काउँदै “तैं कलठोत्रा अनुहार ना दनुहार थारुक लर्का राम बन सुहैब्या रै, मलिक्व छावा ओत्रा सुग्घर रति रति तै राम निबन पैब्या? “यो कुराले लहानुको धेरै चित्त दुख्यो रावणको ड्रेस फुकाल्दै त्यहाँबाट लहानु निस्किन्छ त्यो दिन देखि लहानु कहिले गाउमा देखिएन । गाउँ जाँदा कहिलेकाही सुनिन्छ उसलाई पुलिसहरु समय समय खोज्न आउछन् रे । माओवादी द्वन्द्वकालमा धेरै थारुलाई बेपत्ता बनाइयो । थारु जाति भएकै कारण राज्यले माओवादी बिल्ला भिराउँथ्यो र यातना दिन्थ्यो । दुई हजार भन्दा बढी थारुहरु ज्यान गुमाए ।
सदियौ बर्षदेखि शोषण, दमन, उत्पीडन र बिभेदका शिकार भएका नेपालका बहुसंख्यक आदिबासी जनजाति, मुस्लिम, दलित, मधेसी र पिछडा बर्ग राज्यको मुल प्रबाहबाट बन्चित गराइएको छ ।
नेपाल एकीकरणका नाममा हिन्दु (बाहुन क्षेत्री) राज्यको हरेक तहमा स्थापित गर्ने र अन्य जाति तथा पिछडा बर्गलाई बिस्थापित गर्ने सासकको कानुन, नीति र ब्यवहारले २४० बर्ष देखि निरन्तर रुपमा यिनिहरुको पहिचान र अस्तित्वमाथि प्रहार भैरहेको छ ।
अहिले नेकपा, राप्रपा र काङ्ग्रेस यी तीनवटै पार्टीका अध्यक्ष ब्राह्मण समुदायका छन् । पार्टीको एजेन्डा फरक भएपनि यिनीहरुको जातीय र धार्मिक एजेन्डा मिल्छ । बाहिर जति झगडा गरेपनि आफ्नो सामूहिक स्वार्थको लागि यिनीहरु एक ढिक्का हुन्छन् यस्को ज्वलन्त उदाहरण नेपालको अन्तरिम संविधानमा भएको ४० प्रतिशत प्रत्यक्ष र ६० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीलाई उल्ट्याइ ३% जनमत र १ जना प्रत्यक्ष प्रतिनिधि सदस्य जित्नुपर्ने थ्रेस होल्डको ब्यवस्था गरी साना दल र उत्पीडित जातिको प्रतिनिधित्वलाई कानुनी रुपमा पटन गराए । अर्को महत्वपूर्ण कुरा हिमाल, पहाड र तराइको भ्रम छरेर २ नम्बर प्रदेशबाहेक सबै प्रदेश बहुमतमा कब्जा गरे । यो कसरी सम्भब बनाए त ? जो कि बाहुन क्षेत्रीको अधिराज्यमा २८ प्रतिशत मात्रै जनसंख्या हो भने बाँकी ७२% अरु जातिको जनसंख्या हो ।
१० बर्ष जनयुद्ध गरेर सत्ताको स्वाद चाखिरहेका एकीकृत माओबादी पार्टी एमालेसंगै बिलिन भएर थारु आदिवासी, जनजाति, मधेसी, मुस्लिमहरुको पहिचानका मुद्दा र अधिकारहरुलाई कानुनी रुपमा मेटाए । हिजो पहिचानको मुद्दा बोकेर जनयुद्ध गरेका कमरेडहरू आज जातिबादी मुद्दा भनेर बहस गर्न थालेका छन् । देशले मागेको सानुपातिक समाबेशी प्रतिनिधित्व लत्याएर एकल जातिको भर्ती बनाए । २२ वटा क्याबिनेट मन्त्रीमा एउटा थारु मन्त्री नपर्नु कति दुर्भाग्य हो । हिजो ठुला ठुला परिवर्तन र समाबेशिका कुरा गरेका कमरेडहरू आज स्वयम् आफैँ एकल जातिको बचाउ र भर्तीमा लागेका छन् । यो नस्लीय चरित्र टीकापुर बिद्रोहलाई लिन सकिन्छ । केपी ओलिको अगुवाईमा झापा आन्दोलन हुँदा थुप्रै जनता र पुलिस मरे, गिरिजाप्रसाद कोइरालाको अगुवाइमा जन आन्दोलन हुँदा त्यहाँ पनि जनता र पुलिसले ज्यान गुमाए, प्रचण्ड र बाबुराम भट्टराईहरुले जन बिद्रोह गर्दा १७ हजारभन्दा बढी जनताले ज्यान गुमाए तर आज त्यही ब्यक्तिहरु एउटा थारुको छोरो आफ्नो पहिचान र अधिकारको लागि टीकापुरमा आन्दोलन गर्दै गर्दा नसोचेको घटना घट्छ र सम्पुर्ण थारुलाई बदनाम गर्दै आतंककारिको बिल्ला भिराइ सर्बस्वसहित जेल कोच्न लगाए । टीकापुरको घटनाले एउटा के प्रष्ट गरदिएको छ भने नेपालमा अझ एकल नस्लीय जातिबादिको राज कायमै छ ।
आज हाम्रा देशका प्रधानमन्त्री केपी ओलि जातका आधारमा आरक्षण र प्रतिस्पर्धाका बहस गर्छन् र आफैैंले बनाएको संविधानमा ब्यवस्था गरेको आरक्षण मान्दैनन् किनकि त्यहाँ आफ्नो जात देख्दैनन् । प्रधानमन्त्रीज्यु यहाँ जातकै आधारमा धेरै कुरा भएको छ । तपाईं जातकै आधारमा प्रधानमन्त्री भएको बिर्सनु भएछ । नत्र तपाईं भन्दा दुई गुणा बुद्धिजीवी सुबास नेम्वाङ किन प्रधानमन्त्री हुन सकेनन् ? यहाँ जातकै आधारमा एउटा दलित मन्दिरभित्र छिर्न रोक लगाइन्छ । जातकै आधारमा एउटा जातिलाई फलाम कुट्न लगाइन्छ । जातकै आधारमा एउटा जातिलाई लुगा सिउन लगाइन्छ । जातकै आधारमा एउटा जातिलाई पुजारी बनाइन्छ र जातकै आधारमा आफ्नै देशको एउटा जातिलाई उच्च र अर्को जातिलाई तल्लो भनेर छुट्याउने काम गरिन्छ । यो काम कस्ले गर्यो प्रधानमन्त्री ज्यु ? पक्कै पनि थारुको पुर्खाले गरेनन् होला । तर आज कुनै थारु, मधेसी, जनजाति वा दलितले राज्यमा आफ्नो हिस्सा खोज्दै गर्दा जातिबादी भनेर आरोप लगाइन्छ । यो देशको रास्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान न्यायाधीश, प्रधानसेनापति, मुख्य सचिब एकल खस जाति छन्, राज्यको सबैभन्दा बढी सेवा सुबिधा उनीहरुले नै प्रयोग गर्छन् अनि जातिबादिको बिल्लाचाहिँ थारु जनजाति मधेसीलाई भिर्नुपर्ने यो कस्तो मानसिकता हो ?
नेपाल बहुजाति, बहुभाषिक र बहुधार्मिक देश भने पनि ब्यवहारिक रुपमा एकल जाति, एकल भाषा र एकल धर्मले नै प्रक्षपोषण पाइरहेको छ । त्यो चाहे २००७ साल पछिको आन्दोलन होस् वा माओवादीले गरेको १० बर्षको जनबिद्रोह होस् । आन्दोलन र बिद्रोहपछि केही परिबर्तन भएपनि अझ पनि राज्यले ठोस रूपमा एकल नस्लिय जातिबादिबाट उन्मुक्ति पाको छैन ।
लेखक : थरुहट थारुवान राष्ट्रिय आन्दोलन तयारी समिति
संयोजक : युवा स्वयंसेवक