थारुलाई भारतीय देख्‍ने नेकपा सांसदलाई सार्वजनिकरुपमा माफी माग्न थारु संघसंस्थाको चेतावनी

नेकपाका सांसद राधा ज्ञवालीले दिएको अभिव्यक्तिप्रति थारु संघसंस्थाले आपत्ति जनाएका छन्। बिहीबार बिहान बसेको बैठकले सांसद ज्ञवालीले सार्वजनिकरुपमा माफी माग्नुपर्ने निर्णय गरेको छ। ‘सांसद ज्ञवालीको अभिव्यक्तिले समग्र थारुहरुको अस्तित्व, पहिचान र आत्मसम्मानमा गम्भीर चोट पुर्याएको र आदिवासी थारुहरुको प्रतिष्ठामा धावा बोल्ने राधा ज्ञवालीलाई यो धारणा फिर्ता गर्न चेतावनीका साथ सार्वजनिक रुपमा माफी माग्न आग्रह गर्दछौं,’ निर्णयमा उल्लेख छ।

बैठकमा थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज, थारु महिला सभा, बर्दियाली थारु विकास मञ्च काठमाडौं, चम्पन साँस्कृतिक समूहलगायतका संस्थाका पदाधिकारीहरु सहभागी थिए।

संसदको कृषि तथा सहकारी तथा प्रकृतिक श्रोत समितिमा सांसद ज्ञवालीले तराईका अधिकांश जग्गा चौधरीको नाममा रहेको र उनीहरु भारतीय रहेको अभिव्यक्ति दिएकी थिइन्। यो धारणा सार्वजनिक भएसँगै समाजिक सञ्जालमा थारुहरुले सांसद ज्ञवालीको राजीनामा माग गर्दै चर्को आलोचना गरेका थिए। अधिकांशले थारुहरु राष्ट्रको आदिवासी भूमीपुत्र भएको र उनीहरुको अपमान गरेको भन्दै सांसद ज्ञवालीले राजीनामा दिनुपर्ने माग गरेका थिए।

Leave a Reply

Your email address will not be published.