थारुहरुले सुदूरपश्चिम प्रदेश नमान्ने, भदौ ७-९ सम्म टीकापुरमा बृहत् भेला हुने

लखन चौधरी/धनगढी।

थरुहट/थारूवान संयुक्त संघर्ष समितिले टीकापुर घटना घटेको दिनलाई कालो दिनका रूपमा मनाउने भएको छ । संघर्ष समितिले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थरुहट नेता लक्ष्मण थारूले यस्तो घोषणा गरेका हुन् ।

भदौ ७, ८ र ९ गते टीकापुरमा थरुहट/थारूवान संयुक्त संघर्ष समितिको राष्ट्रिय सम्मेलनको तयारीमा रहेको जानकारी गराउँदै नेता थारूले २०औं हजार थारू यूवाहरूको दस्ता प्रदर्शन गर्ने र कालो दिन मनाउने बताए । अधिकारका लागि आन्दोलन चर्काउने नेता थारूको उद्घोष थियो । तर आन्दोलन शान्तिपूर्ण रहने उनले बताए ।

पत्रकार सम्मेलनमा नेता थारूले संविधानको धारा २७४ र अनुसुची ४ विभेदकारी रहेको बताए ।

संविधानको धारा २७४ (१) मा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन भनी उल्लेख छ । भने अनुसुची ४ मा ७ वटा प्रदेशभित्र पर्ने जिल्लाहरूको वर्गीकरण गरिएको छ ।

नेता थारूले भने– ‘हामीलाई न्याय गरिएन । हामीलाई संविधानमै विभेद गरियो । प्रदेश नं. ५ र ७ थारू जातिलाई फुटाउनलाई नै ल्याएको हो । थारूले पहाडको कुनै पनि निर्वाचन क्षेत्रमा निर्वाचन लड्न जाने होइन । तराईमै आफ्नो राजनीतिक अधिकार स्थापित गर्न चाहान्छ । हामी सुदूरपश्चिम प्रदेश मान्दैनौं । हामीले संवादबाट निकास चाहेका छौं । हामीलाई अझै पनि अल्झाउने काम भयो भने विद्रोह हुन्छ ।’

झुठा मुद्दा लगाउँदैमा आफूहरू विचलित नहुने उनको भनाइ छ । ‘हामी आफ्नो अधिकारका लागि विना हातहतियार शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं । हामीमाथि झुठा मुद्दा लगाएर, जेल नेलमा कोचेर अब हाम्रो आन्दोलन रोकिनेवाला छैन’, उनले भने– ‘हामीले संविधान पुनर्लेखन गर्ने भनेका छैनौं । यसै संविधानभित्र पहिचानसहितको अधिकार खोजेका छौं ।’

अर्का थरुहट नेता एंव पूर्व सभासद कृष्णकुमार चौधरीले हालको मौजुदा सुदूरपश्चिम प्रदेश अवस्तुवादी भएको टिप्पणी गरे ।

‘हालको सुदूरपश्चिम प्रदेशसहितको संरचना अवस्तुवादी छ । यसले भौगोलिक र राजनीतिक उत्पीडनलाई परेकाको अधिकार सुनिश्चित गर्दैन’, उनले भने– ‘थरुहट आन्दोलन थारूको मात्रै हौइन । सबैको आन्दोलन हो । थारूको अधिकारको लागि पहाडीले, दलितको अधिकारको लागि बाहुनले बोल्नुपर्छ ।’

उनले टीकापुर घटना मुद्दामा अदालतको फैसालामा राजनीतिक तथा सत्ताको गन्ध रहेता पनि फैसालाको सम्मान गरेको उल्लेख गरे ।

संघर्ष समितिले भदौ ७, ८ र ९ गते टीकापुरमा राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ । जसको तयारीलाई तीव्रपारेको संघर्ष समितिका जिल्ला संयोजक माधव चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published.