लोपोन्मुख राउटे जातिको कला, संस्कृति र सीप प्रदर्शन हुने

कारी महतो/खैरहनी।
चितवनको खैरहनीमा नेपालकै लोपोन्मुख जनजातिको रुपमा रहेको राउटे जातिको कला, संस्कृति र सीप प्रदर्शन हुने भएको छ । खैरहनी उद्योग वाणिज्य संघ र खैरहनी नगरपालिकाको संयुक्त आयोजनामा यहि मंसिर १६ देखि २४ सम्म हुन लागेको प्रथम खैरहनी महोत्सवमा लोपोन्मुख जनजातिको रुपमा रहेका राउटे जातिको कला, संस्कृति र सीप प्रदर्शन गर्ने भएको हो । आज एक पत्रकार सम्मेलन गरी महोत्सव आयोजकले उक्त कुरा बताए । महोत्सवमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता लगायत विभिन्न प्रतियोगितात्मक प्रदर्शनी समेत रहनुका साथै राष्ट्रिय तथा स्थानीय गायक कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ । 

स्थानीय कृषि, पर्यटन र उद्योग व्यवसाय प्रवद्र्धन गर्नका लागि आयोजना गर्न लागिएको महोत्सव खैरहनी नगरपालिकाको वडा नं. २, चैनपुर चोकको एकसय मिटर उतरतर्फ लदरी चौरमा हुने जनाइएको छ । महोत्सवको अन्तिम चरणको तयारी भैरहेको छ । महोत्सव सम्पन्न गर्नका लागि खैरहनी उद्योग वाणिज्य संघको अध्यक्ष चन्द्र प्रसाद सापकोटाको संयोजकत्वमा महोत्सव प्रवद्र्धन समिति, कुमार खनालको संयोजकत्वमा सचिवालय व्यवस्थापन समिति, रामेश्वर पोखरेलको संयोजकत्वमा महोत्सव व्यवस्थापन समिति, रामेश्वर बर्तौलाको संयोजकत्वमा आर्थिक समिति, अर्जुन लम्सालको संयोजकत्वमा कला तथा साँस्कृतिक कार्यक्रम व्यवस्थापन समिति, गुणराज श्रेष्ठको संयोजकत्वमा महोत्सव परिसर निर्माण समिति लगायत २४ वटा कार्यगत समिति गठन गरिएको छ ।

सुदूरपश्चिमको आदिवासी जनजातिहरुसँग सहकार्य गर्न सक्ने आयोजकले खैरहनी नगरपालिकाकै बहुसंख्यक थारु समुदायसँग समन्वय किन गर्न नसकेको एक प्रश्नको जवाफमा संयोजक चन्द्र प्रसाद सापकोटाले आफूहरुबीच सानोतिनो असमझदारी रहेकोमा हिजो थारु कल्याणकारिणी सभासँग भएको संयुक्त बैठकमा हामीबीचको असमझदारी हटाएर खैरहनी महोत्सव र खिचरा महोत्सव दुवैलाई सफल बनाउनका लागि एकअर्कालाई सहयोग गर्ने सहमति भैसकेको बताए । उनले छैठौ खिचरा महोत्सवलाई असर नपरोस् भनेर आफूहरुले त्यस महोत्सव स्थलभन्दा फरक स्थानमा करीब डेढ महिना अगाडि खैरहनी महोत्सव आयोजना गर्न लागेको बताए ।

कुनै पनि मेला महोत्सवमा थारु सँस्कृति सम्बन्धि कार्यक्रम समावेश गर्नका लागि थारु कल्याणकारिणी सभा (थाकस) सँग अनुमति लिनुपर्ने थाकस जिल्ला समितिको प्रावधान विपरित खैरहनी महोत्सव आयोजकले सहमति बिना नै महोत्सव परिसरमा थारु साँस्कृतिक घर निर्माण गर्न लागेकोले आफ्ना थारु साथीहरुलाई उक्त घर बनाउन रोक लगाइएको कुरा थाकस क्षेत्र नं. ७ का सभापति चुडामणि चौधरीले बताए । हिजो संयुक्त बैठकपछि दुवै महोत्सव बीच सहकार्यताको लागि हातेमालो गर्ने सहमति भएको समेत उनले बताए ।

सोही नगरपालिकाको वडा नं. ५ गौचरनमा थारु कल्याणकारिणी सभा चितवनको क्षेत्र नं. ७ ले विगत ५ वर्षदेखि गर्दै आएको खिचरा महोत्सव यसवर्ष पुस २८ देखि माघ ७ गतेसम्म छैठौ खिचरा महोत्सव आयोजना गर्नका लागि तयारी शुरु गरेको छ । त्यसका लागि क्षेत्रीय सभापति चुडामणि चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति समेत गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published.