बाबुरामले संसदमा भने, ‘रेशम चौधरीलाई सपथ ग्रहण गराइयोस्’

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जेलमा रहेका कैलाली–१ बाट निर्वाचित रेशम चौधरी र नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई राजनीतिक रूपमा व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अदालतले प्रकाण्डलाई छोड्ने फेरि पटक/पटक मुद्दा लगाएर सरकारले समात्ने गर्दा पञ्चायतकालको हस्को आयो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सबैले पञ्चायत कालको व्यवहार सामना गर्दै आइसकेकोले त्यस्तो व्यवहार गर्न नहुने बताए । उनले राजनीतिक ढंगले चौधरी र प्रकाण्डलाई व्यवहार गरिनुपर्ने बताए ।

त्यस्तै, उनले कैलाली १ बाट निर्वा्चित भएका रेशम चौधरीलाई सदनमा सपथ ग्रहण गराउन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले सांसद चौधरीलाई सपथ ग्रहण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

‘रेशम चौधरी जो कैलाली १ बाट निर्वा्चित भएर आउनुभयो । उहाँलाई यस सदनमा सपथ ग्रहण गराउन नसक्नु त्यो अत्यन्त दुर्भाग्यपूर्ण भएको छ । टीकापुरको घटना दुःखद थियो व्यक्तिहरूको हत्या हुनु त्यो दुःखद परिघटना थियो’, उनले भने, ‘हामी सबैले त्यसको निन्दा गरेका छौं । हामी सबैले विद्रोह क्रान्ति भोगेर आएका मान्छेले अहिले रेशम चौधरीलाई मात्र पहिला नै कुनै मुद्दा नै नचलाइकन त्यतिकै अपराधी करार गरेर उनलाई यहाँ सपथ ग्रहण गर्न नदिनु उपयुक्त हुँदैन । त्यसैले रेशम चौधरीलाई राजनीतिक रूपमा व्यवहार गरेर उहाँलाई सपथ ग्रहण गर्ने व्यवस्था गरियोस् ।’

Leave a Reply

Your email address will not be published.