पार्टी अफिसको फर्निचर गच्छदारले रातारात घर लगेपछि…

चुनावको मुखमा नेपाली कांग्रेससँग पार्टी एकता गरेपछि तीनकुनेस्थित तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको कार्यालय एकाएक बन्द भयो । कार्यालयमा रहेको सोफा, फर्निचर, कुर्सीहरु रातारात गायब भए ।नेताहरुले खोजी गर्ने क्रममा थाहा भयोे, यो त तत्कालीन अध्यक्ष विजयकुमार गच्छदारले मध्यरातमा व्यक्तिगत सम्पत्ति जसरी आफ्नो घरमा लगेका रहेछन्।

कार्यालयमा रहेको २५ लाख भन्दा बढीको फर्निचरलाई गच्छदारले निजी सम्पत्ति बनाएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टी एकता भएका बेला फोरमको चलअचल सम्पत्ति काँग्रेसकै हुने सहमति भएको थियो । फोरमबाट आएका नेताहरूले आफ्नो भूमिका खोजिरहेका बेला कांग्रेस नेताहरूले एकता गर्नुअघिको सम्पत्ति खोजविन गरेका हुन् ।

तर, लोकतान्त्रिक फोरमको नाममा सञ्चालित बैंकमा रहेको नगदको हिसाब पनि गच्छदारले कांग्रेसलाई दिएका छैनन् । १६ सांसद रहेको फोरमका प्रत्येक सांसदले पार्टीलाई रु. २० हजार मासिक लेबी बुझाउँथे ।

पार्टीको ल्यापटप, कम्प्युटर, दराज, सोफा, टेबल लगायतका सामग्री थियो । तर, गच्छदारले आफ्नो छोराको नाममा सञ्चालन गर्न लागेको वित्तीय संस्थामा लगेर राखेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारको निर्देशनमा उनी निकट फोरम नेता भारतेन्द्र मल्लिकले पार्टी कार्यालयका फर्निचर ओसारेका हुन् ।

कांग्रेस र फोरमबीच २०७४ असोजमा एकता भएको थियो । कांग्रेसमा नगई नेपाल लोकतान्त्रिक फोरम ब्यूँताउने प्रयासमा रहेका भानुराम चौधरी आफूहरू पार्टीबाट अलग भएपनि कार्यालयको सम्पत्ति भागबण्डा लगाउने विषयमा कसैले आवाज नउठाएपछि गच्छदारले एकलौटी गर्न मौका मिलेेको बताउँछन् ।

थरुहट तराई पार्टी नेपाल र फोरमबीच एकता भएका बेला भने आफूहरूले कार्यालयको सबै सम्पत्ति एकिकृत पार्टीलाई बुझाएको चौधरी बताउँछन् ।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published.