टुकी बालेर मनोज चौधरीद्वारा लिखित ‘टुकी’ उपन्यासको लोकार्पण

कारी महतो थारु/चितवन।

रेडियो पत्रकार तथा शिक्षक मनोज चौधरी (अज्ञात)द्वारा लिखित टुकी उपन्यासको आज एक कार्यक्रम बीच लोकार्पण गरिएको छ । चितवन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेश सांसद रामलाल महतो प्रमुख अतिथि रहेका लोकार्पण समारोहमा टुकी बालेरै उपन्यासको विमोचन गरियो ।

सांसद महतोले समिक्षकहरुले गरेको समिक्षाको आधारमा आफूले बचपनको यादहरु सम्झेका बताएका छन् । टुकी उपन्यासमा लेखकले थारु समाजको चित्रण गर्दै चितवनका आदिवासी थारु समुदायका पुराना चालचलन, चाडपर्व, रहनसहन, परम्परा उल्लेख गरेको र ती सबै आफूले प्रत्यक्ष भोग्दै आएको बताए ।

सांसद महतो आफूले “स्कुले जीवनमा पढ्दै गर्दा पञ्चायतकालमा थारु भाषामा एउटा पत्रिका निकालेको र त्यो पत्रिकाको नाम फुन्गी राखिएको, जसको नेपाली अर्थ झिल्को हुन्छ । फुन्गी नै चितवनको थारु भाषामा प्रकाशित चेतनामूलक पहिलो पत्रिका थियो । झिल्कोको केहि ठूलो रुप आज मनोजले टुकी ल्याए ।” फुन्गीबाट शुरु भई टुकी हुँदै भोलिका दिनमा यो टुकी विद्युतकै पावर हाउसमा पुग्न सफल होस भन्ने शुभकामना व्यक्त गरेका छन् ।

मुख्य वक्ताका रुपमा रहेका साहित्यकार धनराज गिरीले थारु समुदायबाट कोहि लेखक आओस् भनेर भोकाएको बेलामा मनोज अज्ञातले आफूलाई एक घान मकै भुटेर पस्केको बताए । उपन्यासको समिक्षा गर्दै उनले थारु समुदायमा विक्रम र विक्रमिया नाम कसरी राखिन्छ भन्ने कुरा टुकीले प्रष्ट पारेको बताए । टुकीमा मनोज अज्ञातले थारु समुदायका पर्वहरु जितिया, अमोसा, दशहरा, सोहराई, खिचरा, फगुवा पर्वहरुलाई कथावस्तुमा सिलसिलाबद्ध मिलाएका साहित्यकार गिरीले बताए ।

टुकीका लेखक मनाेजलाई निकै नजिकबाट नियाल्नु भएका जनज्याति माविका पूर्व प्रअ सूर्यप्रकास जमरकटेल भन्नुहुन्छ, ‘मनाेज चाैधरी अन्तरमुखी स्वभावका व्यक्ति हुन् । तर जब उनी कक्षाकाेठा भित्र प्रवेश गर्छन् असल शिक्षक बन्छन् । जब उनी बुरूस र रङ लिएर चित्र काेर्न शुरू गर्छन् उनी कलाकार बन्छन् । जब उनी एफएमकाे स्टुडियाेमा प्रवेश गर्छन् उनी पत्रकार बन्छन् । जब उनी क्यामरा लिएर फाेटाे स्टुडियाेमा बस्छन् उनी फाेटाेग्राफर बन्छन । जब उनी स्टेशनरी पसलमा बसेर कपिकलम बेच्छन् उनी पुस्तक व्यवसायी बन्छन् । मनाेजले सबैतिर हात हालेका छन् तर सबैतिर सफल भएका छन् । अाज उनी लेखककाे रूपमा पहिचान बनाउँदैछन् ।’

उपन्यासका समिक्षा गर्दै अर्का समिक्षक विजय विश्वकर्माले टुकीको समिक्षा गर्दै आफू टुकीको कभरपेजबाट समेत प्रभावित भएको बताए । टुकीको कभरपेजले केही हदसम्मको कथावस्तुलाई उजागर गर्न खोजेको उने बताए । उनले थप मन्तव्य व्यक्त गर्दै पहिचानवादको बहस भैरहेको अवस्थामा मनोज चौधरीले निकै मेहनत गरेर पहिचानमूलक कृति लिएर आएको छ जसमा थारु समुदायको विभिन्न संस्कृति, रितिरिवाज, पर्वहरु, खाद्यान्नहरु, पुजास्थल, नाचहरु, गीत, वैवाहिक कार्यक्रम सबै उपन्यास मार्फत व्यक्त गरेका छन् । प्रत्येक दश पेजको अन्तरमा माछा र घुँगीको प्रसँगले उपन्यासलाई स्वादिलो बनाएको र थारु समुदायको साँस्कृतिक विचलन टुकीमा राम्रोसँग देखाएका विजयले बताए ।

टुकी उपन्यास काठमाडौं स्थित नेपाली बुक्सले प्रकाशन गरेको हो । लोकार्पण समारोहमा थारु पत्रकार संघका केन्द्रिय सदस्य सन्त कुमार चौधरी, थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरी, आदिवासी जनजाति पत्रकार महासंघ चितवनका सचिव तुलमान गुरुङ, प्रकाशक जयराम तिमिल्सीना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम थारु पत्रकार संघ चितवन शाखका अध्यक्ष कारी महतोको सभाध्यक्षतामा सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published.