केभिन डि ब्रुयेनको उत्कृष्ट प्रदर्शनको मदतमा पाँच पटकको विजेता ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको उसले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । शुक्रबार राति भएको खेलमा क्वार्टरपफाइनलमा बेल्जियमले बलियो टोली ब्राजिललाई २-१ गोल अन्तरले हराएको हो ।
ब्राजिललाई प्रतियोगिताको प्रमुख दावेदारका रुपमा हेरिएको थियो र उसले अहिलेसम्म एक गोल मात्र खाएको थियो । तर, कजानमा सुरूमै गोल खान पुग्यो ।
नेसर चार्डीको कर्नरमा फर्नान्डिन्होेले आत्मघाती गोल गरे । भिन्सेन्ट कम्पोनीको हेड बल उनको काँधमा लागेर गोल हुन पुगेको थियो । यो रुस विश्वकपको १० औं आत्मघाती गोल हो ।
फर्नान्डिन्होका म्यानचेष्टर सिटीका टिममेट डि ब्रुडेनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा रोमेलु लुकाकुले दिएको पासमा उनले डि बक्स बाहिरबाटै गोल गरे ।
रोमाञ्चक खेलको सुरुमा नै ब्राजिलको प्रहार पोष्टमा लागेको थियो भने थिएगो सिल्भाले गोल गर्ने मौका गुमाएका थिए । खेलको ७६ औं मिनेटमा काउटिन्होको पासमा रेनाटो अगुस्टाले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउन आश देखाएका थिए ।
तर, जर्मनीबाट सुरु भएको ठूलो टिमहरु घर फर्कने क्रममा रोकिएन । आइतबार नै उरुग्वेसँगै ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएका छन् ।