पूर्व कमैया कुलवीर चौधरीको संसद यात्रा

थारुवान/काठमाडौं।
गरिब परिवारमा जन्मिनु कुलवीर चौधरीको दोष थिएन । तर, नियतिले उनलाई थारु कमैया परिवारमा जन्म दियो । कञ्चनपुर क्षेत्र नम्बर १ ख मा प्रदेशसभातर्फ विजयी बनेका उनको जन्म २०१४ असोज १५ गते दाङको रारागाउँमा भएको थियो, जुन अहिले घोराही उपमहानगरपालिकामा पर्छ । जन्मिदा आमा बुबा अरुको घरमा कमैया थिए, जसका कारण उनी स्कुल जान पाएनन् । साथीहरुको देखासिकी गरेर उनी बाह्रखरी चिन्न सके ।

९ वर्षको उमेर हुँदा २०२३ सालमा उनको परिवार दाङबाट कञ्चनपुरको बेलौरी बसाइ स¥यो । त्यहाँ पनि उनका बुबा रुन्चु चौधरी र आमा धनकुमारी चौधरी अरुको घरमा कमैया बसे । स्कुल जाने उमेरका कुलवीर भने तिनै घरमुलीका गाईगोरु चराउन थाले । उनको पढ्ने इच्छा र आमाबुबाको पढाउने इच्छा भने मरेको थिएन ।

जसोतसो छोरालाई पढाउने अठोट गरे उनका बुबाले । एक वर्षपछि उनी धनगढीस्थित त्रिनगर स्कुलमा कक्षा २ मा भर्ना भए । त्यहाँ ५ कक्षासम्मको अध्ययन सकेर उनी मामाघर नेपालगञ्ज आए । मामाघरमा बसेर उनी सुक्र निम्न माविमा ७ कक्षासम्म अध्ययन गरे । मामाघरको बसाइ पनि नफाफेपछि उनी फेरि धनगढी फर्किए । महाकाली माविमा ८ कक्षामा भर्ना भएका उनी २०३३ सालमा एसएलसी दिए । भाग्यले उनलाई पढाईबाट दूर गर्न चाहन्थ्यो होला, उनी नेपाली विषयमा फेल भए । त्यसपछि उनले पढेनन् । गरिब परिवारमा जन्मिएकाले कामलाई नै प्राथमिकता दिन थाले । लगत्तै उनले वनको एउटा प्रोजेक्ट पिसिएनमा काम पाए । त्यहाँ काम गर्दा उनले राजनीतिबारे जान्ने बुझ्ने अवसर पाए । ‘उपल्लो कर्मचारीहरु सबै कांग्रेस थिए । ‘गरी खानेहरु कम्युनिस्ट हुन्छन्’ साथीहरुले सुनाए । ‘त्यही भएर कम्युनिस्ट सिद्धान्तमा बढी विश्वास बढ्यो, अनि एमालेको सदस्य लिएँ,’ उनले आफ्नो विगत सुनाए ।

राजनीतिक यात्रा
कामको सिलसिलामा उनले संगठनबारे जान्नेबुझ्ने अवसर पाए । कुनै दिन त प्रतिनिधि बनेर गाउँठाउँको विकास गर्न पाइएला भनेर उनले २०४८ सालमा एमालेको सदस्यता लिए । २०५० सालमा जागिर छाडेपछि राजनीतिक यात्रालाई भने पेसाजस्तै बनाए । गाउँ कमिटीमा काम सुरु गरेको कुलवीर क्षेत्रीय हुँदै जिल्ला सचिवालय सदस्यसम्म बने ।

२०५४ सालको स्थानीय चुनावमा उनी कञ्चनपुरको लक्ष्मीपुर गाविसको अध्यक्षमा निर्वाचित बने । उनले चाहेको एउटा सपना साकार भएको थियो । गाउँ समाजमा काम गर्ने अवसर आएको थियो, जुन मौका उनले खेर जान दिएनन् । उनले आफ्नो क्षेत्रमा शिक्षाको ज्योति छर्न जीर्ण स्कुलको पुनर्निर्माण र नयाँ स्कुलहरुमा भवन बनाउने काम गरे । उनले निर्वाचित भएको केही महिनाभित्रै आफ्नो क्षेत्रमा राम्रो काम गरेर देखाए । त्यसैले पनि कुलवीर त्यहाँका जनताको सधैं प्यारो पात्र बनिरहे ।

देशमा भएका विभिन्न आन्दोलनमासमेत राम्रो भूमिका निर्वाह गरेका उनले प्रदेशसभा निर्वाचनमा १६ हजार १५८ मत ल्याएर विजयी बने । उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका रामलाल रानाले १० हजार २२३ मत ल्याए । ‘मैले गाविस अध्यक्ष हुँदा राम्रो काम गरेको थिएँ । त्यसपछिका दिनमा पनि गाउँठाउँको पूर्वाधार विकासका लागि रातदिन खट्ने गर्थे । आज जनताले त्यसकै परिणाम सुम्पिनुभएको छ । फेरि पनि यो क्षेत्रका जनतालाई निरासा पार्ने छैनन् । उनीहरुले दिएको म्यान्डेटको अवश्यर भरपुर प्रयोग गर्नेछु,’ उनी भन्छन् ।

Leave a Reply

Your email address will not be published.