रेशम चौधरीको रिहाई माग गर्दै थारू युवाद्वारा कालो अविरको होली

सवि थारु/तुल्सीपुर।

टीकापुर घटनामा संलग्न रहेको भन्दै विना छानविन कैलाली जिल्ला अदालतद्वारा कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई पुर्पक्षको लागि जेलमा राख्ने निर्णयको विरोधमा दाङका थारू युवाहरूले कालो अबिरको होली खेलेर विरोध गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका थारू युवाहरूले रेशम चौधरीको रिहाइको माग गर्दै जिल्ला अदालत कैलालीको फैसला सच्याउनुपर्ने दबाबसहित कालो अबिरको होली खेलेका हुन् ।

टीकापुर घटनाको अढाई वर्ष भइसक्दा पनि सरकारले थारू समुदायको माग मुद्दाको बेवास्तासँगै टिकापुर घटनाको न्यायीक छानबिन विना नै रेशम चौधरीलाई जेल राख्ने गरेको निर्णयको विरोधमा कालो अबिरले होली खेलेको थारू अगुवाहरूले बताए।
चौधरीले देशमा ऐतिहासिक जित हासिल गरेको अवस्थामा उनलाई प्रमाणपत्र दिनुको साथै सपथ ग्रहणको वातावरण नमिलाएको भन्दै सरकारले थारू समुदायमाथि अन्याय गरेको आरोप उनीहरुको छ । थारूहरूको माग पूरा नभए थारू बाहुल क्षेत्रमा आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।

कार्यक्रममा महटावा रेशम चौधरीले गणतन्त्रमा शाषक बदलिए पनि शाषण ब्यवस्था नबदलिएको आरोप लगाउँदै टिकापुर घटनामा थारूहरूको भौतिक तथा मानवीय क्षतिको छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने र कैलाली क्षेत्र नं.१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई ससम्मान रिहा गर्नुपर्ने माग गरेका थिए । कार्यक्रममा रुपलाल चौधरी, तिलक चौधरी, चित्रमान चौधरी, रामप्यारी चौधरी, कुमार चौधरीले मन्तब्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published.