सात वर्षकै उमेरमा उनी जमिन्दारको घरमा कमलरी बस्न बाध्य भइन् । विद्यालय जान पाइनन् । भाडा माझ्ने, घर–आँगन सफा गर्ने र जमिन्दारका छोराछोरीको झोला बोकेर उनीहरूलाई विद्यालय पुर्याउने दिनचर्या बन्यो । १० वर्षसम्म यस्तै दैनिकी थियो, राजापुर ४ संघर्षनगरकी ४२ वर्षीया कृष्णी चौधरीको । एमालेबाट प्रदेशसभा सदस्यमा मनोनीत हुँदै उनी प्रदेश ५ को उपसभामुख निर्वाचित भएकी छन्।
कमलरी बसेकै अवस्थामा १५ वर्षको उमेरमा उनको विवाह भयो । पति पनि अर्काको घरमा कमैया बसेका थिए । ‘मैले बुक्रेनी (पतिसँगै घरेलु काम गर्ने) भएर काम गरें,’ उनले भनिन्, ‘साहूले नपढाउँदा विद्यालय जान पाइनँ । सामान्य लेखपढ गर्न आउँछ ।’ बिरामी हुँदासमेत काम गर्नुपर्ने बाध्यता थियो । ‘कमलरी बसे बापत साहूले वार्षिक एक सय रुपैयाँ दिन्थे, त्यो पैसा बाआमाले घर खर्चका लागि लिनुहुन्थ्यो,’ उनले भनिन्, ‘मैले कमलरी बस्दा एक रुपैयाँपनि पाउँदिनथें ।’
प्रौढ कक्षा पढेर सामान्य लेखपढ गर्न जानिन् कृष्णीले । बाजेदेखि नाति–नातिनासम्म सबै कमैया र कमलरी बस्नुपरेको थियो । ‘अझैसम्म मेरो बुवाले मुक्त कमैया परिचयपत्र पाउनुभएको छैन,’ उनले भनिन्, ‘मैले पनि मुक्त कमलरी परिचयपत्र पाएकी छैन ।’ सम्पत्तिको नाममा उनीहरूसँग २ धुर जग्गा छ । सरकारले उपलब्ध गराएको उक्त जग्गामा बासका लागि सानो झुप्रो बनाएका छन् । कृष्णीका पति मजदुरी गर्छन् । बाल्यकालदेखि जमिन्दारका घरमा कमलरी बस्न बाध्य कृष्णीका दिदी, भाइ र दुई बहिनी पनि कमलरी र कमैया बसेका थिए । गाउँमा रोजगारी नपाउँदा अहिले सबैजना राजापुर र भारतका विभिन्न ठाउँमा मजदुरी गर्छन् ।
कमलरी उत्थानका लागि ‘कमलरी महिला विकास मञ्च’ देखि धेरै संघसंस्थामा उनले काम गरिन् । गाउँको अगुवाइ गर्न थालेपछि उनमा नेतृत्व क्षमताको विकास हुँदै गयो । एमालेले गत स्थानीय तह निर्वाचनमा राजापुरबाट उपप्रमुख उम्मेदवार बनायो । तर, माओवादी केन्द्रकी मनकला चौधरीसँग तीन हजारको मतान्तरले पछि परिन् ।
उनले आर्थिक अवस्था कमजोर र सामान्य लेखपढ भएकाले पराजय भोग्नुपरेको बताइन् । कृष्णी सानै हुँदा आमा बितेकी थिइन् । उनी सांसद बनेपछि बुवाले हर्षका आँसु झारे । आफ्नो समुदायबाट प्रदेश सभासद बनेपछि छरछिमेकी खुसी छन् । गरिबी र अशिक्षा हटाई सबै वर्गलाई सक्षम बनाउने उद्देश्यसहित काम गर्ने उनको भनाइ छ ।