वीरगञ्जका लालबाबु राउत बन्ने भए प्रदेश २ को मुख्यमन्त्री

संघीय समाजवादी फोरमका वरिष्ठ उपाध्यक्ष मोहम्मद लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । जनकपुरमा आइतबार करिब पाँच घन्टा चलेको फोरमको बैठकले राउतलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

दलको नेता नै मुख्यमन्त्रीका उम्मेदवार हुन् । सर्वसम्मतबाट पार्टीले वरिष्ठ नेता राउतलाई संसदीय दलको नेता चयन गरेको हो । शनिबार फोरमको विधायक दलको बैठकले पार्टीको प्रदेश अध्यक्ष रेणु यादव संयोजक रहने गरी निर्वाचन समिति गठन गरेको थियो । समितिमा राउतसहित विजय यादव, शैलेन्द्र साह, कौशलकुमार यादव, योगेन्द्र यादव, प्रल्हाद गिरी र सरोजकुमार सिंहले संसदीय दलको नेतामा दाबी प्रस्तुत गरेका थिए ।

सहमति हुन नसकेपछि बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार चयन गर्ने जिम्मेवारी दिएको थियो । त्यसपछि यादवले सबैसँग छलफल गरेर राउतलाई नेता बनाउने निर्णय गरेका हुन् । उनको निर्णयपछि बाँकी ६ जनाले दाबी फिर्ता लिए ।

१०७ सदस्यीय प्रदेश सभामा फोरमले २९ सिट जितेको छ । प्रदेश सभामा सबैभन्दा पहिले संसदीय दलको नेता छान्ने फोरम पहिलो दल भएको छ ।

राउत प्रदेश सभा निर्वाचनमा पर्सा १ ‘ख’ बाट विजयी भएका हुन् । उनी ०७० सालमा समानुपातिकतर्फबाट सभासद् भएका थिए । उनको पूरा नाम मोहम्मद लालबाबु राउत गद्दी हो । पर्सा जगरनाथपुर गाउँपालिका–४ निवासी हुन् ।

हाल वीरगञ्ज महानगरपलिका–१३ तेजारथ टोल बस्ने उनले त्रिभुवन विश्वविद्यालयमा अंगे्रजीमा स्नातकोत्तर र एलएलबीसम्मको अध्ययन गरेका छन् । उनले २०५२ सालदेखि ठाकुरराम बहुमुखी क्याम्पसमा १० वर्ष प्राध्यापन गरेका थिए ।

तत्कालीन वीरगञ्ज नगरपालिकामा उनले १५ वर्षसम्म अधिकृत भएर काम गरे । विमल श्रीवास्तव मेयर हुँदा उनी स्वकीय सचिव थिए । २०७० सालको संविधानसभा निर्वाचनअघि नगरपालिकाको जागिर छाडेका थिए । २०५७ सालमा मधेसी जनअधिकार फोरम गैरसरकारी संस्थाको रूपमा स्थापना भएदेखि नै अध्यक्ष उपेन्द्र यादवलाई उनले सक्रिय रूपमा सघाएका थिए ।

 

Leave a Reply

Your email address will not be published.