काठमाडौंमा माघी महोत्सवको तयारी पूरा, प्रधानमन्त्रीले उद्‍घाटन गर्ने

उपत्यकामा बसोवास गर्ने थारू समुदायले यस वर्ष पनि थारू माघी महोत्सव २०७४ काठमाडौँको टुँडिखेलमा भव्यतासाथ मनाउने तयारी गरेका छन् । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने आयोजकले जनाएको छ। थारू कल्याणकारिणीसभा (थाकस) केन्द्रीय कमिटीको नेतृत्वमा यस वर्ष माघी महोत्सव एकै ठाउँमा हुने आयोजकले बताएको छ।

यसअघि दुई वर्ष थारूले काठमाडौँका दुई ठाउँमा माघी महोत्सव मनाएका थिए। महोत्सवबाट सङ्कलन हुने रकममा पारदर्शिता नभएको भन्दै थारू विद्यार्थी समाजले आफ्नो नेतृत्वमा फरक ठाउँमा महोत्सव मनाएको थियो तर यसपालि आर्थिक पारदर्शिता कायम गर्ने गरी आर्थिक समिति गठन गरेर अघि बढ्ने सहमति भएपछि महोत्सव एकै ठाउँमा हुने भएको हो। थारू कल्याणकारीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले महोत्सवको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए। २०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउँदै आएका थारू समुदायले यस वर्ष दुई दिन महोत्सव मनाउने निर्णय गरेको चौधरीले बताए। उनका अनुसार महोत्सव पुस ३० र माघ १ गते टुँडिखेलमा हुनेछ।

थारू विद्यार्थी समाज (थाविस)का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार महोत्सवलाई व्यापारिक हिसाबले भन्दा पनि रचनात्मक र सांस्कृतिक जगेर्ना गर्ने हिसाबले मनाउने तयारी भएको बताए। उनका अनुसार पुस २९ गते काठमाडौँको तीनकुनेबाट भृकुटीमण्डसम्म मोटरसाइकल र्याली आयोजना गरिनेछ । त्यस्तै ३० गते दिउँसो १२ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिनेछ ।

नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम तय गरिएको अध्यक्ष चौधरीले जानकारी गराउनुभयो । त्यस्तै सोही दिन साँझ थारूको परम्पराअनुसार जिता मार्ने कार्यक्रम तय भएको उनले बताए । जिताका लागि सुँगुर बङ्गुरको खोजी भइरहेको उनले बताए।

आयोजकले प्रधानमन्त्रीसँग प्रमुख अतिथिका लागि समय लिइसकेको अध्यक्ष चौधरीले जानकारी गराए। गतवर्ष दुई ठाउँमा भएको महोत्सव यसवर्ष एकै ठाउँमा हुने भएपछि उपत्यकामा बसोवास गर्ने थारू समुदाय उत्साहित भएका छन् । महोत्सवमा करिब १२० विभिन्न थारू परिकार, हस्तकला, थारू पत्रपत्रिका तथा पुस्तकसहितको स्टल राख्ने तयारी भएको चौधरीले बताए।

थाकसका अध्यक्ष धनीराम चौधरीको संयोजकत्वमा मूल आयोजक कमिटी गठन गरिएको छ । सो कमिटीमा करिब तीन दर्जन थारू सङ्घसंस्था आयोजक बसेका छन् । महोत्सव सफल पार्न विभिन्न उपसमिति गठन गरिएको उपाध्यक्ष चौधरीले बताए। उनका अनुसार प्रेमीलाल चौधरीको संयोजकत्वमा आर्थिक समिति, कानुनलाल चौधरीको संयोजकत्वमा स्टेज व्यवस्थापन समिति, अन्टिलाल चौधरीको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, रामलाल चौधरीको संयोजकत्वमा अतिथि स्वागत उपसमिति बनाइएको छ । विभिन्न नामका करिब एक दर्जन बढी उपसमिति बनाइएको चौधरीले बताए।

माघ १ गते बिहान ९ बजे वसन्तपुरबाट सुरु हुने झाँकी कार्यक्रम रत्नपार्क, भृकुटीमण्डप, शहिदगेट हुँदै टुँडिखेलमा प्रवेश गर्ने कार्यक्रम रहेको थाविसका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए। उनका अनुसार झाँकीमा विभिन्न थारू नृत्य प्रदर्शन गराइनेछ। दुई दिनसम्म चल्ने महोत्सवमा थारू फुड फेस्टिभल, थारू विभिन्न नृत्य तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम गरिने चौधरीले बताए। महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिने आयोजकले बताएको छ।

Leave a Reply

Your email address will not be published.