बर्दिया र बाँकेमा माघी मेला आयोजना गरिँदै

विमला चौधरी/नेपालगञ्ज।
थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्व नजिकिदै गर्दा बाँके र बर्दिया जिल्लाका बिभिन्न स्थानमा माघी मेला तथा महोत्सव आयोजनाको तयारी गरिएको छ । माघीको अवसरमा बाँकेको राप्तीसोनारी गउँपालिकाको वडानम्बर ४ स्थित भुवर भवानी, वडा नम्बर ६ फत्तेपुर, बैजनाथ गाउँपालिकाको फत्तेनगर र बर्दियाको बासगढी र बढैया तालमा मेला तथा महोत्सव आयोजना हुन लागेको हो ।

राप्तीसोनारीको फत्तेपुरस्थित सिधनवामा र बैजनाथ गाउँपालिकाको फत्तेनगरमा एकै दिन पुस २८ र २९ गते माघी महोत्सव तथा मघौटा नाच प्रतियोगिता आयोजना गरिएको छ । फत्तेपुरमा थारु गोचाली परिवार र बैजनाथ गाउँपालिकाको फत्तेनगरमा स्थानीयको सक्रियतामा महोत्सवको आयोजना गरिँदैछ । त्यस्तै राप्ती सोनारीको भुवर भवानीमा पनि बर्षौंदेखि लाग्दै आएको माघी मेलालाई निरन्तरता दिँदै यस बर्ष गाउँपालिकाले अझै ब्यवस्थित तरिकाले महोत्सवकै रुपमा मेला सञ्चालन गर्न लागिएको गउँपालिकाका अध्यक्ष लाहु राम थारुले जानकारी दिए ।

यस्तै बर्दियाको बढ्रैयातालमा पनि माघ ४ देखि ६ गते सम्म जङ्ग्रार साहित्यक बखेरीले तेस्रो राष्ट्रिय साहित्य मेला आयोजना गरेको छ । माघीको अवसरमा हुने मेला महोत्सवमा राष्ट्रिय तथा स्थानीय थारु कलाकारको बेजोड प्रस्तुतिसँगै परम्परागत मघौटा नाच प्रतियोगिता गराइने आयोजकहरुले बताएका छन् । त्यसैगरी बर्दियाको बासगढीमा माघ ११ गतेदेखि माघी महोत्सवको आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published.