थाकस केन्द्रीय कार्यालयमा तालाबन्दी, माघी एकै ठाउँमा मनाउनुपर्ने माग

माघी महोत्सव एकै ठाउँमा हुनुपर्छ भन्दै बनाइएको युथ प्रेसर ग्रुपले थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। विमल चौधरी नेतृत्वमा रहेको टोलीले केन्द्रीय कार्यसमितिलाई महोत्सव एकै ठाउँमा मनाउन अल्टिमेटम दिएपनि नटेरेको भन्दै शनिबार साँझ तालाबन्दी गरेको हो।

विगत दुई वर्षदेखि थारु विद्यार्थी समाज र थारु कल्याणकारिणी सभाको उपत्यका समितिले माघी छुट्टाछुट्टै माघी महोत्सव मनाउँदै आएका छन्। उपत्यका समितिले महोत्सवको रकम पारदर्शी नगरेको भन्दै दुई वर्ष अगाडि विद्यार्थी समाजले खुलामञ्चमा माघी आयोजना गरेको थियो। गत वर्ष भने दुबै समूह टुडिखेलमा आधा आधा भाग बाँडेर महोत्सव आयोजना गरेका थिए।

देशमै गठबन्धनको महोल बनिरहेको बेला थारुहरु पनि एकताको सन्देश दिनुपर्ने भन्दै समूहले एकै ठाउँमा माघी महोत्सव हुनुपर्ने आवाज उठाएको विमल चौधरीले जानकारी दिए। उनले आफू आबद्ध रहेको थारु विद्यार्थी समाजलगायत आयोजक संघसंस्थाहरु लचिलोसमेत रहेको बताए।

चार दिनअघि थाकस अध्यक्ष धनिराम चौधरीको पहलमा दुबै टोलीबीच अबेर रातिसम्म वार्ता भएको थियो। वार्तामा एकै ठाउँमा माघी मनाउने लिखित सहमति गरिएको थियो। तर उपत्यका समितिका सुमन चौधरी र केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीले सहमति पत्रमा हस्ताक्षर नगरेको गुनासो चौधरीको छ।

विद्यार्थी नेतृत्वको टोलीले आज बैठक थाकससँग मिल्ने अधिकतम लचकता अपनाएको बताएको छ। उनीहरु थाकसको केन्द्रीय समितिको निर्णय पर्खिरहेको बताएका छन्। विद्यार्थीहरुले महोत्सव केन्द्रीय कमिटीको आयोजनामा हुनुपर्ने बताउँदै आएको छ। जुन कुरामा थाकसका अधिकांश पदाधिकारी सहमत छन्। थाकस अध्यक्ष स्वयंले केही व्यक्तिको हठका कारण निर्णय गर्न गाह्रो भएको बताएका छन्। ‘केही ब्यक्तिको हठका कारण केन्द्रीय कमिटीले महोत्सवको नेतृत्व गर्ने निर्णय गराउन गाह्रो भइरहेको छ। तैपनि राजधानीबासी थारुहरुलाई एकताको सुत्रमा बाँध्न मैले यो निर्णय गराइछाड्नेछु,’ अध्यक्ष चौधरीलाई उद्धृत गर्दै स्रोतले भन्यो।

थाकसले १५ र १६ गते केन्द्रीय समिति बैठक डाकेको थियो। तर थाकसमा कुनै बैठक नरहेको प्रेसर ग्रुपका विमल चौधरी बताए। बैठक अन्यत्रै कतै बसेको हुनसक्ने अनुमान चौधरीको छ। पदाधिकारीसँग सम्पर्क गर्ने निरन्तर प्रयास पनि भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published.