भगवती चौधरीको रिटमा सर्वोच्चको यस्तो आदेश

सुनसरी–३ को प्रतिनिधिसभा सदस्य चुनावको मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ भगवती चौधरीले दायर गरेको रिट निवेदनमाथि शुक्रबार संवैधानिक इजलासले सुनुवाई गर्दै मतपत्र, मतपेटिका र अरू कागजता पेश गर्न आदेश दिएको हो।

शुक्रबार प्रधानन्यायाधीश गोपाल पराजुलीसहित दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले मतपत्रसहित अरु कागजात ल्याउन भनेको हो ।

सुनसरी–३ मा चौधरीलाई ३ सय २१ मतले हराउँदै नेपाली कांग्रेस उम्मेदवार विजयकुमार गच्छादार विजयी भएका थिए। गच्छादारले निर्वाचन आयोग र प्रशासनलाईसमेत हातमा लिएर मिलोमतोमा आफूलाई हराएको भन्दै चौधरीले सर्वोच्च अदालतमा पुनः गणनाको माग गर्दै रिट निवेदन दिएकी थिइन्।

चुनावसम्बन्धी मुद्दा संवैधानिक इजलाशले सुनुवाई गर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्चले निर्वाचित विजय गच्छादारको शपथग्रहण रोक्ने कि नरोक्ने भन्नेबारे छलफल गर्न यही पुस २१ गते दुवै पक्षलाईसमेत बोलाएको छ।

गएको मंसिर २१ गते भएको दोस्रो चरणको चुनावमा गच्छादारले ३८ हजार ९ सय ७२ र चौधरीले ३८ हजार ६ सय ५१ मत पाएका थिए। मतगणनाका क्रममा त्यतीबेलै सुनसरी–३ मा विवाद भएको थियो ।

Leave a Reply

Your email address will not be published.