बर्दिया २ मा कांग्रेसका केन्द्रीय नेताहरुबाटैअन्तर्घात

हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा कांग्रेसका केही नेताहरुले अन्तर्घात गरेको खुलासा भएको छ। केन्द्रीय पार्टी कार्यालयमा परेको उजुरीअनुसार प्रतिनिधिसभाका उम्मेदवार गोपाल दहितलाई हराउनका लागि अन्तर्घात गरिएको बताइएको छ।

नेपाल लोकतान्त्रिक फोरमसँग एकीकरण भएपछि सो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभातर्फ डा. गोपाल दहितलाई उम्मेदवार बनाएको थियो। जसका कारण त्यहाँका केन्द्रीय स्तरकै नेताहरुले अन्तर्घात गरेको उजुरीमा भनिएको छ।

उजुरीमा पार्टीका केन्द्रीय सदस्य किशोर सिंह राठौरले सुनियोजितरुपमै आफ्ना उम्मेदवार हराउने योजनाका साथ प्रस्तुत भएको उल्लेख छ। उक्त गतिविधिमा बर्दिया जिल्लाको साविक निर्वाचन क्षेत्र नं. ४ का क्षेत्रीय सभापति दिपकजंग शाह, क्षेत्रीय सचिव छप्पुराम चौधरी र हालको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिह केसीको भूमिका पनि उतिकै रहेको कांग्रेस स्रोतले जानकारी दियो।

उजुरीमा भनिएको छ, ‘पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचनमा मनोनयन गरेका उम्मेदवारहरुलाई क्रियासिल रुपमा प्रचार प्रसारमा लाग्न दिइएन। समानुपातिक उम्मेदवार कृष्ण कुमारी चौधरी दुई चार दिन मात्र चुनाव प्रचारमा आउन पाउनुभयो, तर अर्की समानुपातिक उम्मेदवार पद्मा शाह एक दिन पनि चुनावी प्रचारमा लाग्न पाउनु भएन, लाग्न दिइएन। उहाँहरुबाट चुनाव प्रचार सामग्री र श्रोत साधन परिचालनमा पनि पूर्ण असहयोग गर्ने बाध्यता बनाइयो। समानुपातिक दुबै उम्मेदवार बर्दिया साविक निर्वाचन क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष र सचिवका धर्मपत्नी हुनुहुन्छ।’

बर्दिया साविक निर्वाचन क्षेत्र नं. ४ मा हालैमात्र सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र यस पार्टीसित एकीकृत भएको नेपाल लोकतान्त्रिक फोरमले प्रत्येक वडामा प्राप्त गरेको मतभन्दा निकै कममात्र मत यस पटकको निर्वाचनमा प्राप्त भएबाट अन्तरघात भएको पुष्टि भएको उजुरीमा उल्लेख छ।

प्रत्यक्ष उम्मेदवारहरुलाई दिनुपर्ने मत अन्तरघातको कारण प्रमुख प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्ने गैरजिम्मेवारपूर्ण कार्य भएको उजुरीमा भनिएको छ। ‘म चुनावमा हारेकोमा मलाई त्यति धेरै चिन्ता र दुःख छैन, तर विगत २०४८ सालदेखि निरन्तररुपमा अन्तरघात गर्ने प्रवृत्तिले सदा प्रोत्साहन पाइरहेको घट्नाले यसपटक पनि पुनराबृत्ति पाएको हुनाले चुनावमा जोसुकै उम्मेदवार भए पनि हारको सामना गर्नुपर्ने तीतो यथार्थताले निरन्तरता पाउन सक्ने घट्नाप्रति दुःखित अवस्य छु। के यस निर्वाचन क्षेत्रका लोकतान्त्रिक पक्षधर नेपाली कांग्रेसका मतदाताहरुले बिजयश्रीको फूलमाला र अबीर एक आपसमा पहि¥याउन कहिल्यै नपाउने? यस गम्भीर प्रश्नको हल नखोजेसम्म नेपाली कांग्रेसको राजनीतिक यात्रा कठीनपूर्ण देखिन्छ,’ उजुरीमा भनिएको छ।

संगठन सुदृढिकरणको अभियानमा पार्टी लाग्नुपर्ने भन्दै चुनावमा अन्तरघात गर्नेहरुलाई पार्टीले तत्काल कडा कारबाही गर्नुपर्ने माग गरिएको छ।

Leave a Reply

Your email address will not be published.