पुनः मतगणनाको माग गर्दै भगवती चौधरीद्वारा सर्वोच्चमा उजुरी दर्ता

सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले मतपरिणाम बदर गरी पुनः मत गणनाको माग गर्दै सर्वोच्चमा उजुरी दिएकी छन् ।

सुनसरी ३ बाट नेपाली कांग्रेसका विजयी उम्मेदवार विजय गच्छदार र निर्वाचन आयोगलाई समेत विपक्षमा राखी चौधरीले उजुरी दिएकी हुन् । गच्छदारले सत्ता र शक्तिको आडमा प्रशासनलाई आफ्नो हातमा लिएर धाँधली गर्दै निर्वाचन जितेको भन्दै उनले उजुरी दिएको बताएकी छन् ।

उजुरीकर्ता चौधरीले विपक्षी गच्छदारलाई प्रतिनिधिसभा सदस्यको शपथ नगराउनु, निर्वाचनसंग सम्बन्धित मतपत्र लगायतका सम्पूर्ण कागजात सुरक्षित राख्नु भन्दै सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली २०७२ को नियम १९ को उपनियम ४ बमोजिम आदेश जारी गर्न माग गरेकी छन् ।

निर्वाचनमा गच्छदार ३२१ को झिनो मतान्तरले विजयी भएका थिए । उनले ३८९७२ मत प्राप्त गरेका थिए भने उनकी प्रतिद्वन्द्वी चौधरीले ३८६५१ मत ल्याएकी थिइन् ।

Leave a Reply

Your email address will not be published.