रेशम चौधरीको समर्थनमा काठमाडौंमा प्रदर्शन, प्रमाणपत्र नदिइए आन्दोलन गर्ने चेतावनी

राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टीकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । प्रचार–प्रसार समिति टीकापुर क्षेत्र नम्बर १ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले यस्तो चेतावनी दिएका हुन् ।

मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निवार्चनमा सांसद चौधरीले प्रत्यासीलाई करिब २१ हजार मतान्तरले हराउँदै विजयी भएको जानकारी दिँदै भने, ‘रेशम चौधरीलाई निर्वाचन आयोगले अन्याय गर्दैछ, विभेदकारी व्यवहार गर्दैछ, हामी निर्वाचन आयोगलाई सचेत गराउन चाहन्छौँ, तत्काल रेशमको प्रमाणपत्र वारिसमार्फत प्रदान गरोस्, होइन भने निर्वाचन आयोगको निश्पक्षतामाथि प्रश्न उठ्नेछ र आन्दोलन हुनेछ।’

उनले अघि थपे, ‘रेशम चौधरीलाई फरार अभियुक्त आदि इत्यादीले सम्बोधन गर्ने गरिएको छ, यसका बारेमा छानबिन आयोगले सरकारलाई मधेसमा घटेका घट्नाको बारेमा छानबिन गरेर प्रतिवेदन सरकारलाई बुझाइसकेको छ, त्यो प्रतिवेदन सरकारलाई सार्वजनिक गर्नसमेत माग गर्छु।’

त्यस्तै नव निर्वाचित सांसद रेशमकी धर्मपत्नि रञ्जिता चौधरीले मतगणना स्थलमा प्रहरी प्रशासनले थारु समुदायमाथि अत्याधिक दमन गरेको स्मरण गदाउँदै भनिन्, ‘२०७२ भाद्र ७ गतेको घटना नहुनुपर्ने थियो, भयो, त्यसमा हाम्रो समुदायले समेत दुःख प्रकट गरेको छ, त्यो घट्ना सरकारले नै गराएको हो, सत्य तथ्य छानविनको लागि अझैपनि आग्रह गर्छु।’

उनले अघि थपिन्, ‘२ वर्ष ७ महिना वितिसक्दा पनि त्यो ७ गतेबाहेक ८ गते कर्फ्युबीचमा थारु समुदायका घरहरु छानिछानी जलाउन दिइएको छ, त्यो हाम्रो समुदायमाथिको आक्रमण हो कि होइन? म धेरै टाढा जान चाहान्न गत मंसिर २१ गते पछि हाम्रो विजयी घोषणा भएपछि मतगणना स्थल धनगढीमा हामीलाई प्रवेश गर्न दिइएन, जनमतको कदर गर्नुको साटो प्रशासन समेत हामीमाथि अन्याय गर्छ, हाम्रा घरहरु खानतलासी गर्छ, यो अन्याय होइन ?’

सुरक्षकर्मीबाट निर्वाचनको प्रचारप्रसारमा व्यापक दमन र पक्षपात भएको भन्दै रञ्जिताले थारु भएकै कारण विजयी जुलुस समेत निकाल्न नपाएकोमा दुःख व्यक्त गरिन् ।

कार्यक्रममा राम बहादुर बढायर, फागुराम चौधरी लगायतले रेशम चौधरीका वारिसमार्फत तत्काल प्रमाणपत्र प्रदान नगरिए आन्दोलन छेड्ने चेतावनी दिएका छन् ।

त्यस्तै आजै चौधरीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ। काठमाडौंको माइतिघर मण्डलामा मधेसी थारु अगुवाहरुले प्रदर्शन गरेका छन् ।

सांसद चौधरीका लागि वातावरण सहज बनाइदिन माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले थारुमाथिको विभेद अन्त्यका लागिसमेत माग गरेका छन् । चौधरीलाई सहज रुपमा प्रमाणपत्र उपलब्ध गराउनुपर्ने मागसमेत प्रदर्शनकारीहरुको छ।

Leave a Reply

Your email address will not be published.