एथलेटिक्सकी कीर्तिमानी केशरी चौधरी जागिर छाडेर दुबई प्रस्थान

नेपालकी प्रतिभाशाली एथलिट केशरी चौधरी अन्ततः विदेशिएकी छिन्। उनी नेपाल प्रहरीको जागिर छोडेर दुबई पुलिसमा काम गर्न बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडेकी छन्।

उनले दुबईमा रोजगारीका लागि जानुअघि नेपाल प्रहरीको जागिरबाट राजीनामा गरेकी थिइन्। २०६७ सालदेखि नेपाल प्रहरीमा कार्यरत केशरीको नाममा अहिले पनि हाइ जम्प, लङ जम्प, ट्रिपल जम्प र सय मिटर हर्डलमा राष्ट्रिय कीर्तिमान छ।

उनले आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई दसौं पल्ट तोडेकी थिइन्। नेपालले सन् २००८ मा एसिसी युथ–१९ महिला च्याम्पियनसिपको उपाधि जित्दा उनी अलराउन्डरको भूमिकामा थिइन्।

उनी विदेशिएपछि नेपाली ट्रयाक एन्ड फिल्डमा ठूलो क्षति पुगेको नेपाली प्रशिक्षक चन्द्र गुरुङले नेपाल लाइभसँग बताए।

‘उनी नेपाली एथलेटिक्सको प्रतिभाशाली खेलाडी हुन्। उनी विदेश गएपछि यसको असर नेपाली खेलकुदमा देखिनेछ,’ गुरुङले भने।

करिब १० वर्ष पुलिसको जागिरे हुँदा पनि बढुवा नभएपछि उनी निरास भएको आफन्तहरू बताउँछन्। ‘प्रहरीमा आबद्ध भएका अन्य खेलाडीको प्रमोसन हुने तर आफूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको नाम राख्दा पनि प्रमोसन नभएपछि उनी निरास थिइन्’, उनीसँग खेलेकी एक खेलाडीले नेपाल लाइभलाई बताइन्।

दुबईमा केशरीको तलब करिब १ लाख १२ हजार हुने बताइएको छ। २६ वर्षीय केशरीले बंगलादेशको ढाकामा भएको एघारौं दक्षिण एसियाली खेलकुददेखि साग गेम्समा अनवरत भाग लिँदै आइरहेकी थिइन्। उनले २००९ मा बर्लिनमा भएको विश्व च्याम्पियनसिपमा सय मिटर दौडमा पनि भाग लिएकी थिइन्।

Leave a Reply

Your email address will not be published.