सबैभन्दा धेरै थारु भएको कैलालीमा ६७ प्रतिशत मतदान

आज सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ । आयोग मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्न सक्ने सम्भावना रहेको बताए । उनका अनुसार छिटफुट घटनाबाहेक सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

उनले भने, ‘नेपालको संविधान कार्यान्वयन गर्र्ने क्रममा दोस्रो चरणमा आज ४५ जिल्लामा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाताको उत्साहजनक, व्यापक सहभागिता र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी सहर्ष रूपमा गराउन चाहन्छु ।’

निर्वाचनबाट संविधान कार्यान्वयन र सङ्क्रमणकालको अन्त्यका लागि महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्दै आयोगले बढ्दो चिसोको समेत वास्ता नगरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गतायुक्तलगायत मतदाताले उत्साहजनक रुपमा मतदान गरेकामा सबै मतदातालाई धन्यवाद दिएको छ ।

नेपाली मतदाताले मतपत्रका माध्यमबाट व्यक्त गरेको मतादेशलाई सहज रूपमा स्वीकार्न आयोगले सबै राजनीतिक दल तथा उम्मेदवारसँग आयोगले गर्दै भनेको छ, ‘निर्वाचन प्रचारप्रसारमा दलहरूबीच देखिएको सौहार्दता मतगणनापछि हुने हार र जीतको परिणामपछि पनि प्रकट गर्न सबै राजनीतिक दल तथा उम्मेदवार प्रतिबद्ध रहेको विश्वास आयोगले लिएको छ।’

मतदान सम्पन्न भएलगत्तै आज सबैै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने कामसमेत शुरू भइसकेको छ । संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने डा यादवले जानकारी दिए ।

मतपेटिका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रकासात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान भएको हो । दुवै मतदानमा कुल एक करोड २२ लाख ३५ हजार ९९३ मतदाता थिए ।

दुई केन्द्रमा मतदान स्थगित

अर्घाखाँची, सन्धिखर्क नगरपालिका – ५ मथुरा निमावि नेटा मतदानस्थलका (क) र (ख) गरी दुई मतदान केन्द्रको मतदान आज स्थगन भएको छ । मतदान केन्द्र (ख) का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी राजनीतिक दलका कार्यकर्ताबाट एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त मतदान केन्द्रको मतदान स्थगन भएको जनाउँदै आयोगले सो मतदान केन्द्रमा केही दिनभित्रै पुनःमतदान गर्ने व्यवस्था मिलाइने छ ।

दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै यही मंसिर १० गते पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आजैदेखि सुरु भएको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान भएको थियो । दोस्रो चरणको मतदानपछि सम्बन्धित जिल्लाको सदरमुकाममा मतपेटिका प्राप्त भइसकेपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले आवश्यक तयारी पूरा गरी आजै(बिहीबार) राति वा शुक्रबार बिहानसम्ममा मतगणना शुरु हुने जनाइएको छ ।

कैलालीमा ६७ प्रतिशत मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कैलालीमा करिब ६७ दशमलव ५५ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । निर्वाचन सम्पन्न भएसँगै जिल्लाका अधिकांश मतदानस्थलबाट मतपेटिका संकलन गरेर सदरमुकाम धनगढी ल्याउने कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले जानकारी दिए ।

जिल्लाका क्षेत्र नं ४ र नं २ का दुर्गम र भौगोलिक रुपले विकट क्षेत्रका मतदानस्थलका मतपेटिका भने भोलि मात्रै आइपुग्ने जनाइएको छ । दुर्गम क्षेत्रका कतिपय मतपेटिका ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्ने तयारी गरिएको छ । दलीय सहमतिपछि मतगणना गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए।

Leave a Reply

Your email address will not be published.