कैलाली १ मा जित्‍ने रेशमको दाबी, ब्यालेटबक्स जोगाउन चिन्ता

कैलाली क्षेत्र नम्बर १ का राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रेशम चौधरीले ब्यालेट बक्स कसरी जोगाउने चिन्ता भइरहेको बताएका छन्। मौन अवधि सुरु हुनुअघि थारुवानसँग कुरा गर्दै उनले आफ्नो पक्षमा जनलहर रहेको र आफू जसरी पनि विजय हुने बताए।

‘टीकापुर घटनाको दमन र विभेद् चिर्नलाई भए पनि यहाँका जनताले मलाई जिताउँदै हुनुहुन्छ। हाम्रो माहोल हेरेर सत्ताधारी दल र बाम गठबन्धनको होस उडेको छ। २१ गतेको निर्वाचनपछि ब्यालेट बक्स कसरी जोगाउने चिन्ता भइरहेको छ। उनीहरुले प्रहरी र प्रशासनको आडमा चलखेल गर्ने प्रबल सम्भावना छ,’ रेशमले थारुवानसँग भने।

रेशम चौधरीको चुनावी माहोल देखेर कांग्रेस र प्रहरी मिलेर पर्चा, पम्प्लेट च्याट्ने, झण्डामा आगो लगाउने प्रयास भएको थियो। ‘हाम्रो पक्षको जनलहर हेरेर सत्ताधारी दलले आफ्नो बल प्रदर्शन गर्ने सम्भावना पनि उतिकै छ,’ उनले भने। त्यसैले उनले सम्भावित घटना नहुन दिन मानवअधिकार आयोगलाई गुहारेका छन्।

एक रिपोर्टका अनुसार कैलालीमा टीकापुर घटनापछि अभियुक्त भनिएका रेशम चौधरी र जेलबन्दी बनाइएका लक्ष्मण थारुको पक्षमा जनमत रहेको उल्लेख छ। लक्ष्मण थारु भने कैलाली क्षेत्र नम्बर ५ बाट राजपाबाटै प्रतिनिधि सभाका उम्मेदवार छन्।

दुई वर्षअघि टीकापुरमा भएको अप्रत्यासित घटनासँगै त्यहाँका थारुहरुलाई राज्य र प्रशासनले दमन गर्दै आएको त्यहाँका थारुहरुले बताउँदै आएका छन्। घटनामा दुई नाबालक थारुसहित २५ जना जेलबन्दी रहेका छन्।

Leave a Reply

Your email address will not be published.