राजकुमार लेखी सप्तरी १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव राजकुमार लेखी सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनावमा लड्ने भएका छन्। पार्टीले थारु नेता लेखीलाई प्रतिनिधि सभाको टिकट सुनिश्चित गरेको लेखीले थारुवानलाई बताए। राजनीतिक करियर सुरु गरेको ३४ वर्षपछि लेखीले पहिलोपटक संसदीय चुनावमा भिड्न लागेका हुन्।

नेकपा एमालेबाट राजनीतिक करियर सुरु गरेका उनी थारु कल्याणकारिणी सभाको महामन्त्री, आदिवासी जनजाति महासंघका अध्यक्ष र आफ्नै नेतृत्वको दुई वटा पार्टीको नेतृत्व गरिसकेका छन्। भलै उनी नेतृत्वको पार्टी खासै जम्न सकेन।

थ्रेस होल्ड लागू भएपछि लेखीले पछिल्लो नागरिक समाजवादी पार्टीलाई राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टीसँग एकीकरण गरेका थिए। लगत्तै उक्त पार्टी मधेसी दल नेतृत्वको राजपासँग एकता गरेको थियो।

लेखीले छिट्टै आफ्नो क्षेत्रको चुनावी अवधारणापत्र ल्याउने बताए। उक्त क्षेत्रमा एमाले-माओवादी गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेल पनि प्रतिनिधि सभाको चुनावमा भिड्दैछन्। सो क्षेत्रमा लेखी र प्याकुरेलको कडा टक्कर हुने बताइएको छ।

राजपा उपेन्द्र यादवको संघीय फोरमसँग चुनावी तालमेल गरेको छ।

Leave a Reply

Your email address will not be published.