चितवन गोलाघाटमा हराएका प्रकाश महतो अझै भेटिएनन्

कारी महतो/चितवन।

असोज १ गतेका दिन गोलाघाटमा पौडी खेल्न गएका एक युवक नदीमा डुबेर हराएका छन् । भरतपुर महानगरपालिका वडा नं. २७, मेघौलीका २८ वर्षीय प्रकाश महतो हराएका हुन् । स्थानीयहरुले निकै दिन खोजी गरे तर हालसम्म पनि भेटाउन सकेका छैनन् । नदीको पानी धमिलो भएको कारणले खोजी कार्यमा समस्या आएको जनाइएको छ । प्रकाश महतो दुई महिना अगाडि मलेसियाबाट वैदेशिक रोजगारीबाट फर्केका हुन् । उनी मलेसियामा तीन वर्ष काम गरेर फर्केका थिए ।

असोज १ गते विश्वकर्मा बाबाको पूजाको दिन फुर्सद भएकोले प्रकाश महतो लगायत १९ जना साथीहरु गोलाघाट घुम्न गएको बेलामा पौडी खेल्न नदीमा गएका थिए । पौडी खेलेर घर फर्किने बेलामा मात्र प्रकाश हराएको थाहा भएको कुरा प्रत्यक्षदर्शीहरुले बताए ।

हाल स्थानीयले तीब्र रुपमा प्रकाशको खोजी कार्य गर्दैछन् । प्रकाश बेपत्ता भएको अर्को दिनदेखि हरेक दिन चारवटा डुंगा प्रयोग गरी खोज्दै आएको तर भेटाउन नसकेको कुरा मेघौलीका समाजसेवी तथा प्रकाशका आफन्त मायाराम चौधरीले बताए । स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएपछि असोज २ गते एकछिन प्रहरीहरु घटनास्थलमा पुगेका थिए । त्यसबाहेक उनलाई खोजी गर्नका लागि सरकारी निकायले कुनै सहयोग नगरेको चौधरीले बताए ।

मेघौलीदेखि गोलाघाट करीब आठ किलोमिटरको दूरिमा छ । गोलाघाट नारायणी नदी र राप्ती नदीकोे संगमस्थल हो ।

Leave a Reply

Your email address will not be published.