ठाकुरसिंह थारु/कान्तिपुर
दसैं सुरु भएसँगै गाउँसहरमा उल्लास सुरु भएको छ । नवरात्र पूजाका लागि दुर्गा माताको मूर्ति स्थापना गर्न घटस्थापनाको दिन बिहीबार बिहान विभिन्न स्थानमा कलस यात्रा भए । सयौं संख्याका महिला परम्परागत पोसाकमा सजिएर कलशमा पानी भर्ना नदी र खोला पुगे । बाजागाजासहितको कलश यात्रामा सर्वसाधारण रमाएका छन् । चाडपर्वमा परम्परागत पहिरन लेहङ्गा र चोलियामा सजिएपछि उनीहरूको संस्कृति झल्किएको थियो ।
टोलटोलमा दुर्गाको मूर्ति स्थापना भए । घटस्थापनाकै दिन घरघरमा जमरा राखिएको छ । थारू समुदायले भने बिहीबार साँझ जमरा राखेर रातभरि नाचमा रमाए । घटस्थापनाका दिन रातभरि परम्परागत नाच गर्नुपर्ने थारू परम्परा हो । राति कुल देउताको पूजा गरिन्छ । पूजामा कुलदेउतालाई रक्सीको छाकी (प्रसाद) चढाइन्छ । सहर बजारमा राखिएका दुर्गाको पूजाका लागि माइकहरू राखिएका छन् । रामायणलगायत धार्मिक कथाहरू हेर्न भिडियो हेर्ने व्यवस्था मिलाइको छ । दुर्गाको पूजा र नाचगानले चौतर्फी रमाइलो छ ।
‘जमरा राखेको दिनदेखि टीकाको दिनसम्म गाउँमा रमझम हुन्छ । सबैले दसैंको तयारी गरिसकेका छन् । वर्ष दिनको चाड भएका कारण सबैमा उमङ्गका साथ मनाउँछन्,’ जानकी गाउँपालिका खजुराखुर्दका रामगोपाल यादव भन्छन्, ‘कोही नौ दिनसम्म नवरात्र व्रत बसेर दसैं मनाउँछन् । कोही नाचगान गरी रमाइलो गर्छन् ।’ दसैंका अवसरमा अतिबिपन्नले पनि परिवारका लागि नयाँ लत्ताकपडा किन्छन् । बालबालिकादेखि प्रौढलाई दसैंको रमाइलोले छोइसकेको छ । मीठोमसिनो खानपिनका लागि जोहो गरिसकेका छन् । विपन्न परिवारकाले चाडपर्वमा खर्च गर्न मजदुरी गरेर पनि पैसा जम्मा गरिसकेका छन् । ‘दसैंका लागि आवश्यक सबै बन्दोबस्तीका सामान जम्मा गरिसकेका छौँ । दसैं अवधिभर दुर्गा पूजा र नाचगान गरेर रमाइन्छ,’ टिटिहिरियाका श्याम चौधरी भन्छन्, ‘दसैंभरि गाउँमा निकै उल्लास हुन्छ ।
साथीभाइ मिलेर रमाउने चलन छ ।’ थारू समुदायले दसैंमा अनिवार्य ढिक्री बनाउँछन् । मासुका लागि पहिले नै नाम लेखाइसकेका छन् । कुलदेउताको पूजाका लागि रक्सी तयार छन् । साधुसन्तले भने मिठाईको प्रसाद चढाउँछन् । दुर्गाको मूर्ति राखेर नवरात्र मनाउने चलन पहिले मधेसी समुदायमा खासै थिएन । तर, हाल विभिन्न समुदायले पनि नवरात्र पूजाका लागि गाउँटोलमा दुर्गा राख्न थालेका छन् ।
दसैं सुरु भएसँगै युवाले गाउँ भरिन थाले । बेरोजगारीका कारण यस क्षेत्रका हजारौं युवा भारतीय बजार पुगेपछि गाउँ युवाविहीनजस्तै थिए । युवाहरू घर फर्किन थालेपछि गाउँको महोल फेरिएको छ । एउटै गाउँबाट एक सयभन्दा बढी युवा मजदुरीका लागि बाहिर जाने गर्छन् ।
दसैं सुरु भएसँगै नेपालगन्ज नाकाबाट दैनिक सयौं नेपाली फर्किरहेका छन् । यो क्रम तिहारसम्म चल्छ । ‘वर्षाको खेती सकेर चाडपर्वको खर्च जुटाउन धेरै युवा भारत पसेका थिए । दसंै आएपछि घर फर्किन्छौं,’ घर फर्किँदै गरेका लीला बुढा भन्छन्, ‘चाडपर्व भनेको साथीभाइसँग भेट हुने मौका पनि हो । वर्षभरि काम गरेर एक/दुई दिन रमाइलो हुन्छ ।’ घर फर्किने अधिकांशले गाउँमा रोजगारी नभएको भन्दै भारत जानु परेको गुनासो गरे । मध्यपश्चिम क्षेत्रका रुकुम, रोल्पा, सल्यान, जाजरकोटलगायत जिल्लाका युवा मजदुरीका लागि पारि जाने र चाडपर्वमा फर्किने गर्छन् ।
भारतबाट मजदुरी गरेर नेपाली घर फर्किन थालेसँगै लाखौं भारतीय रुपैयाँ देश भित्रिन्छ । एक जनाले कम्तीमा १५ हजार रुपैयाँ भारु लिएर फर्किरहेका छन् । सयौं नेपाली फर्किने क्रमसँगै भारतीय रुपैयाँ नेपाल आउने गरेको हो । भारतबाट फर्किने नेपाली र भित्रिने रकमको अभिलेख भने नराखिएका कारण यकिन संख्या छैन । तर, हजारौं नेपाली घर फर्किने गरेको सीमास्थित इलाका प्रहरी जमुनाहाले जनाएको छ ।