राजपा घोषणापत्र : एमाले मधेस विरोधी, दुई फोरम स्वार्थी

राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । राजपाले सार्वजनिक गरेको घोषणापत्रमा स्थानीय तहको निर्वाचनका बेला पनि सांकेतिक विरोध नै जारी रहने उल्लेख गरिएको छ । त्यस्तै अन्य पार्टीहरुप्रति राजपाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै कांग्रेस संघीयताविरोधी भएको टिप्पणी गरेको छ ।

‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएर पनि संघीयता र समावेशी लोकतन्त्रका लागि प्रतिवद्ध छैन र मधेसमैत्री समेत छैन,’ राजपाले घोषणापत्रमा भनेको छ, ‘नेकपा एमाले संघीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टी हो । यसको नेतृत्व तहको संरचना हेर्ने हो भने यहाँ मात्रै शासक वर्गहरुको वर्चश्व भेटिन्छ । जो प्रखर मधेस विरोधी पनि छन् । यो पार्टी संघीयता विरोधी त हो नै, उत्पीडित बहिस्कृत समुदायको हक–अधिकारका लागि रत्तिभर संवेदनशीलता नभएको पार्टीका रुपमा पनि देखिने गरेको छ । नेकपा माओवादी केन्द्र लोकतान्त्रिक प्रणाली माथि विश्वास नराख्ने पार्टी हो । शक्तिका बलमा सत्ता कब्जा गर्ने नीतिबाट यो पार्टी सञ्चालित छ । अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनाले माओवादीको मूल चरित्र संघीयताविरोधी हो । मुलुकमा व्याप्त दण्डहीनता, भ्रष्टाचार, असुरक्षा, अशान्ति एवम् अराजकता मुख्यरुपले नेकपा माओवादी केन्द्रकै कारण हावी भएको, ऐतिहासिक मधेस आन्दोलनका क्रममा सहिद रमेश महतोका हत्यारा र ५२ जना मधेसी सहितद सपुतहरुको हत्याका लागि समेत मुख्य जिम्मेवार नेकपा माओवादी केन्द्र नै हो ‘

त्यसैगरी राजपाले हरेक क्षेत्रमा यी तीनै दलका चाटुकार हावी भएको बताएको छ । “हरेक ठाउँ र निकायमा यिनै तीन दलका अयोग्य, अक्षम, अनुभवहीन, चाटुकार भरौटेहरु भएकाले राज्यका यावत संयन्त्रहरु यिनकै स्वार्थपूर्तिका साधनमा सीमित भएका छन्, ‘घोषणापत्रमा भनिएको छ, ‘न त जनतालाई केही लाभ भएको छ, न त देशको कुनै क्षेत्रमा प्रगति हुन सकेको छ ।’

त्यसैगरी राजपाले संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक लगायतका पार्टीहरुका विगतका व्यक्तिगत निहीत स्वार्थले प्रेरित क्रियाकलापहरुबाट मधेस तथा मधेसीको बेइज्जत भएको घोषणापत्रमा उल्लेख छ । यी दलका कारण मधेसीलाई लज्जाबोध भएको बताउँदै यिनका बारेमा उल्लेख गर्न पनि आवश्यक नभएको घोषणापत्रमा उल्लेख छ ।

चुनावी घोषणा पत्र सार्वजनिक गर्दै राजपा नेताहरु । तस्बिर: मिलन अधिकारी/अनलाइनखबर

Leave a Reply

Your email address will not be published.