दिल बहादुर चौधरी।
नेपालको तराईका मूल बासिन्दा आदिबासी थारुहरु बिशेषतः कृष्णाष्टमी ब्रत र अट्वारी ब्रत बस्छन् । जितिया, सामाचकेवा मान्छन् । कतैकतै अनन्त ब्रत पनि बस्ने गर्दछन् । तर यसको त्यत्ति ब्यापकता छैन । कृष्णाष्टमी ब्रत थारुहरु किन र कहिलेदेखि बस्न थालेका हुन् एकिन भन्न गार्हो छ । तर कृष्ण जन्म अष्टमीमा बिशेषतः कृष्णको पुजा आराधना र अट्वारीमा ५ भाई पाण्डवमध्ये भीमको पुजा आराधना गर्दछन्, ब्रत बस्दछन् भन्ने कुरामा दुईमत छैन ।
अट्वारी ब्रतको शुरुवात
अट्वारी ब्रतको बारेमा तमाम कहकुट भनाई छ । एउटा कहकुट छ “द्वापर युगमा एकचोटी घुम्दैफिर्दै भेंवा (भीम) हिमालयको तराई थारु बसोबास गरेको ठाउँमा आइपुगे, त्यहाँ एउटा राक्षसले थारु चेलीलाई बलात्कारको प्रयास गर्दा भेंवा (भीम) ले बचाए, त्यस दिन आइतबार परेकोले सम्झना स्वरुप आइतबार ब्रतको शुरुवात भएको हो।”
एउटा कहकुट छ कि “महाभारत कालमा एउटा थारु गाउँमा एउटा राक्षस हाहाकार मच्चाएको थियो रे ! गाउँका हरेक घरबाट हरेक दिन एक मान्छे राक्षसको आहारा (भोजन) बन्नु पर्दथ्यो, त्यो क्रममा त्यस दिन एक थारु चेलीको पालो थियो, भीम त्यस ठाउँमा पुगे, घरमा रुवाबासी मच्चिएको देखेर भीमले सोधे र घरवालाले बेली बिस्तार लगाए, भीमले त्यस थारु चेलीलाई बहिनी स्वीकार गर्दै बचाउने बाचा गरे, राक्षस पुगेपछि त्यसको संघार गरे र बहिनीलाई बचाए, त्यस दिन आइतबार थियो, त्यसबेलादेखि आइतबार ब्रतको शुरुवात भएको हो भन्ने भनाई छ । (यो कथा महाभारतको आदि पर्वको बकबध÷बकासुर बध पर्बसँग ठ्याक्कै मेल खान्छ ।)
त्यसैगरी एउटा भनाई छ ‘एकचोटी द्रोपतीसहित ५ पाण्डव सुर्खेतको काक्रेबिहार घुम्न आएका थिए । थारु राजा दङगीशरण ५ पाण्डवका समकालीन थिए र उनीहरुको बिचमा घनिष्ट सम्बन्ध थियो । त्यहीबेला दङगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । त्यतिवेला भीम भर्खर तावामा रोटी हालेका थिए । उनी दौड्दै दङगीशरणलाई सहयोग गर्न गए । रोटी पल्टाउन खोज्दा मान्छेले सकेनन्, रोटी एकातिर मात्रै पाक्यो र जल्यो । त्यसैले कतिपय ब्रतालुहरु एक रोटी एकातिर मात्रै पकाई भगवान भीमलाई चढाउने गर्दछन् । भीमले ती शत्रुलाई परास्त गरी दङगीशरणलाई सहयोग गरे । त्यस दिन आइतबार थियो । त्यही बेलादेखि थारु समुदायमा यो ब्रतको शुरुवात भएको हो’ भन्ने भनाई पनि छ ।
अट्वारीको समय (कहिले ?)
नेपालको तराईका मूल बासिन्दा आदिबासी थारुहरु बिशेषतः कृष्णाष्टमी, अट्वारी ब्रत बस्छन्, जितिया, सामाचकेवा मान्छन् । कतैकतै अनन्त ब्रत पनि बस्ने गर्दछन् तर यसको त्यति ब्यापकता छैन । कृष्णाष्टमी ब्रत, अट्वारी ब्रत थारुहरु किन र कहिलेदेखि बस्न थालेका हुन्, यकिन भन्न गार्हो छ । तर कृष्ण जन्म अष्टमीमा बिशेषतः कृष्णको पुजा, आराधना र अट्वारीमा पाँच पाण्डवमध्ये भीम र सूर्यको पूजा, आराधना गर्छन, ब्रत बस्छन् । कृष्ण जन्म अष्टमी (अष्टिम्कि) भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा पर्दछ भने अट्वारी ब्रत भाद्र शुक्ल पक्ष (ओजरीया) को पहिलो आइतबार पर्दछ । यस सम्बन्धमा ततउकस्ररजष्।धष्पष्उभमष्ब।यचनरधष्पष्र मा पनि भनिएको छ “यो ब्रत कुनै पनि महिनाको शुक्ल पक्षको पहिलो आइतबार शुरु गरेर कम्तिमा एक बर्ष र बढीमा बाह्र बर्ष बस्न सकिन्छ । यसले के भन्छ भने कुनै पनि महिनाको शुक्ल पक्षको पहिलो आइतबार यसलाई शुरु गर्न सकिन्छ । थारुहरु पहिलेदेखि भाद्र महिनाको शुक्ल पक्षको पहिलो आइतबारलाई बर्का अतवार-अट्वारी मान्ने गरेका छन्, जुन कुष्ण जन्म अष्टमीपछि पर्ने गर्दछ ।
अट्वारी ब्रत विधि
अट्वारीका ब्रतालुहरु वा घरपरिवारले शनिवारका दिन नै तालतलैयामा माछा मार्ने घोंघी वा गँगटो आदिको जोहो गर्दछन् वा मन परेको कुनै पनि चिजको जोहो गर्दछन् । राती कुखुरा बास्नु भन्दा अगावै उठेर अधरतिया। भिन्सर्या (दर) खाने गर्दछन् । यदि खाँदाखाँदै कुखुरा बास्यो भने ब्रत भंग हुन्छ, बस्न पाउँदैनन् । यसलाई कडाईका साथ लागू गरिन्छ । साना बच्चाको हकमा भने यो लागू हुँदैन ।
बिहान घरका महिलाहरु नियमित काम सकिसकेपछि ब्रतका लागि रोटी तयार गर्दछन् । यसमा यदाकदा अन्य परिकार प्रयोगमा ल्याएपनि बिशेषतः चामल वा गहुँको सादा रोटी नै यसको मुख्य पकवान मानिन्छ । प्रायः पकवान बनाउने ब्यक्ति पनि ब्रतालु नै हुन्छन् । कहीं कहीं ब्रतालुहरु एकचोटी दोपहरमा पानीसम्म सेवन गर्दछन् । उनीहरु २ देखि ४ बजेभित्रै सूर्यास्त अगावै आफूलाई पायक पर्ने खोलानाला, हेण्डपम्प आदिमा नुहाउँछन्, सफासुग्घर हुन्छन् र भीमको पूजा गर्दछन् । घरमा ब्रतालुहरु बस्ने ठाउँ गाईको गोबरले लिपपोत गरिएको हुन्छ । ब्रतालुहरु लिपपोत गरिएको ठाउँमा बस्छन् । उनीहरुको अगाडि गुइँठाको आगो राखिन्छ, धुपीसल्लाको धूलो र घिउ मिलाई तयार गरिएको धूप आगोमा राखिन्छ र पकाइएका सबै परिकारहरु एक भाग ब्रतालुका लागि र अर्को भाग भीमका लागि सबैका अगाडि छट्ट्याएर राखिन्छ । यसरी देवताका लागि राखिएको अगाडिको परिकार, देवताका लागि छुट्ट्याएको अगाडिको भोजन परिकारलाई अग्राशन भनिन्छ । सबैथोक ब्रतालु र देवताका लागि राखिसकेपछि ब्रतालुहरु आगोमा सल्लाको धूप चढाउँछन् । त्यसपछि तयार भएका सेवन गरिने सबै परिकारहरु आगोमा अलिअलि गरी चढाउँछन् । सफा जल चढाउँछन् र देवताका लागि छुट्याइएको अग्राशन अलिकति पर सार्छन् । सार्नुको मतलव भीमलाई सुम्पनु, खानका लागि बोलाउनु हो । यसरी अग्राशन सारीसकेपछि ब्रतालुहरु सेवन गर्छन् ।
बिहान घरमा ३ देखि ७ किसिमका तरकारी पोइँसाग र ठुसा (नपिसिएको मास, मसुरो), तोरियाँ, लौका, खँरिया आदिको तरकारी तयार गर्दछन् । नुहाई धुहाई गरिसकेपछि ब्रतालुहरु गोबरले लिपेको स्थानमा बस्छन् । तयार पारिएका सबै तरकारी भात हरेकको अगाडि राखिन्छ । हरेक ब्रतालुले भीमका लागि हरेक परिकार टपरी, दुनामा राखी छुट्याई आफ्नो अघिल्तिर राख्छन् । ब्रतालुले पूजापाठ नगरेसम्म, भोग नलगाएसम्म घरका अन्य सदस्यले खान बर्जित हुन्छ । ब्रतालुले अघिल्लो दिनजस्तै बिहान पनि गुइँठाको आगो अर्थात अग्नी देवमा सल्लाको धूप चढाउँदछन्, सबै परिकार धूप चढाएको आगोमा अलिअलि चढाउँछन् र भीमका लागि छुट्याएको अग्राशन अलि पर सार्छन् र भीमलाई सेवनको लागि, भोगको लागि अनुरोध गर्दछन् र आफूले सेवन गर्दछन् । देवतालाई भोग लगाएको त्यही प्रसाद, त्यही अग्राशन चेलीबेटीलाई दिन जान्छन् ।
कृष्ण जन्माष्टमीमा ब्रतको दिन बिशेषतः साँझ फलाहार हुन्छ, अन्नाहार हुँदैन । अन्न बार्ने गर्दछन् भने अट्वारीमा सूर्यास्त हुनु अगावै अन्नाहार हुन्छ, नून खुर्सानी बर्जित हुन्छ । कृष्ण जन्माष्टमीमा ब्रतालुहरु ब्रतको दिनमा साँझ पूजाआजा गरिसकेपश्चात रातभरी पानी सेवन गर्न सकिने मान्यता छ भने अट्वारी ब्रतमा सूर्यास्त अगावै भोग लगाउँदा अन्नाहार नून, खुर्सानीबाहेक हुन्छ र राती सेवन गर्न मिल्दैन । तर कृष्ण जन्माष्टमी होस् वा अट्वारी होस्, बिहान चाहिं अग्राशन निकालिन्छ र अन्नाहार नै गरिन्छ । तर चलनचल्तीको भाषामा धेरैले बिहान सेवन गरिने अन्नाहारलाई पनि फलाहार नै भन्ने गर्दछन् ।
अग्राशनको महत्व
थारु समुदायमा ब्रत उपवास बस्दाखेरी छुट्याइने अग्राशन चेलीबेटीलाई दिने गरिन्छ । यसको ठूलो महत्व छ । अग्राशन भनेको धर्म, पुण्यसँग सम्बन्धित बस्तु हो । देवतालाई छुट्याइएको भाग, देवतालाई चढाएको त्यो प्रसाद खाएपछि शुभ हुन्छ, कल्याण हुन्छ, मनले सोंचेको कुरा पुरा हुन्छ भन्ने मान्यता अहिले पनि तीर्थालु, ब्रतालुमा छ । त्यसैले तीर्थ गएकाहरु प्रसाद लिएर आएका हुन्छन् र प्रसाद वरिपरी बितरण गर्दछन्, जसको अवमूल्यन कसैले गर्दैन। गर्नु हुँदैन भन्ने मान्यता छ । त्यसैगरी अग्राशन पनि कृष्ण जन्म अष्टमीमा भगवान श्रीकृष्णलाई चढाइएको प्रसाद, अट्वारीमा भीमलाई चढाइएको प्रसाद, अनत्तरमा भगवान अनन्तलाई चढाइएको प्रसाद हो, जसको अवमूल्यन गर्नु हुँदैन ।
नेपाली शब्दकोषमा हेर्ने हो भने अग्राशनको अर्थ “खानु भन्दा पहिले देवता र पितृलाई चढाइने खानेकुरा, देवताका लागि छुट्याइएको अगाडिको राशन भनिएको छ ।” त्यसैगरी हिन्दी शब्दकोषमा अग्राशनको अर्थ “देवता, ब्राम्हणको जीविका निर्वाह निकाला हुआ अन्न या भोजनका भाग” भनी अथ्र्याइएको छ । त्यसैले अग्राशन भनेको अग्र+राशन हो, आफू खानु अगावै देवताको लागि अगाडि राखिएको राशन हो । जसको सेवनले चेलीबेटीको कल्याण हुन्छ, मनोकामना पुरा हुन्छ, दीर्घायु हुन्छन् । त्यति मात्रै होइन, अग्राशनको सम्बन्ध, चेलीबेटीको आफ्नै घर र लैहर (माइती) बिचको घनिष्टता तथा दाजु–भाई, दिदी–बहिनी, फूपू–भतिजको घनिष्ट मायाप्रेम र सम्बन्धसँग गाँसिएको हुन्छ । चेलीबेटी करोडपति किन नहोस्, माइती आएको बेला, उसका आमाबाबुले उसलाई दिने सय पचास रुपैयाँ उसको लागि महत्वपूर्ण हुन्छ । मायामा लटपटिएको त्यो सय पचास रुपैयाँ, उनको आफ्नो करोडौं रुपैया भन्दा कम महत्वको हुँदैन । त्यसैले होला जब कृष्ण जन्माष्टमी, अट्वारी, अनत्तर आउँछ, चेलीबेटीहरु माइतीको बाटो हेर्दै, कुर्दै बसेका हुन्छन् । तसर्थ भन्न सकिन्छ, यसको महत्व धेरै ठूलो छ ।
निष्कर्ष
थारुहरुको कृष्ण जन्म अष्टमी द्वापर युगका कृष्ण, महाभारतका पात्रहरुसँग बढी सम्बन्धित छ । त्यसैले थारु समुदाय भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा भगवान श्रीकृष्णको जन्म उत्सवको रुपमा अष्टिम्कि ब्रत मनाउँछन्, जो भगवान बिष्णुका साक्षात अवतार मानिन्छन् । त्यसैगरी भाद्र महिनाको शुक्ल पक्षको पहिलो आइतवार भीमको ब्रत बस्दछन् । भीम कुनै साधारण मान्छे थिएनन्, उनी पनि पवन पुत्र थिए, भगवान हनुमानका भ्राता थिए, जसले आफूमाथि अन्याय गर्ने, अंश नदिने, अधिकार नदिने सय भाई कौरबलाई एक्लै संहार गरेका थिए । बकासुरलाई बध गरी एकचक्रा शहरलाई मुक्ति दिलाएका थिए । जरासन्ध जस्ता बलशाली र मायावी दानवलाई संहार गरी बन्दी राजाहरुलाई मुक्ति दिलाएका थिए । ती महाबलशाली भीम जसले धेरै दुखी दरिद्रका लागि भगवान भएर खडा भए, थारु राजा, थारु चेलीबेटीलाई सहयोग गरे, उनको ब्रत, उपबासले अहिले पनि मानिसहरुको दुःख दरिद्र दूर हुन्छ, चिताएको फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । उनलाई छुट्याइएको अग्राशन चेलीबेटीलाई प्रसादको रुपमा दिइँदा, चेलीबेटीहरुले त्यसलाई सेवन गर्दा उनीहरुको पनि दुःख, पीडा नष्ट हुन्छ र मनोकामना पुरा हुन्छ भन्ने आम मान्यता छ ।
तस्बिर : विवेक चौधरी/दाङ