सन्जीत महतोबारे स्थानीयले देखाए चासो, आर्थिक संकलन अभियानको सुरुवात

सन्तकुमार चाैधरी/चितवन।

थरुहट आन्दोलनका घाइते सन्जीत महतोको उपचार देखि अन्य व्यवस्थापनका लागि ‘सन्जीत महतो राहत कोष’ स्थापना भएको छ। चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ सिसुवारमा शनिवार भएको स्थानीय अगुवाहरुको भेलाले कोष स्थापना गर्ने निर्णय गरेको हो।

कोषलाई व्यवस्थापन गर्न स्थानीय शरदकुमार महतोको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ। समितिले आन्दोलनको क्रममा घाइते भएका सन्जीत महतोको उपचार देखि अन्य व्यवस्थापनका लागि राहत स्वरुप आर्थिक संकलन गर्ने छ। समितिमा पत्रकार सन्तकुमार चौधरी, कारी महतो, स्थानीय सजना महतो, महिला अगुवा चन्द्रकुमारी चौधरी, स्थानीय युवा सुरेश चौधरी, सोहर महतो छन्।

यस्तै सन्जीत महतोको थप उपचारका लागि पत्रकार सन्तकुमार चौधरीको संयोजत्कवमा ७ सदस्यीय सन्जीत महतो उपचार समिति गठन गरेको छ। समितिले घाइते महतोको उपचारका लागि आवश्यक परामर्श गर्नेछ। उपचार समितिका अन्य सदस्यहरुमा डा. गौरीराम महतो, स्थानीय थारु अगुवा कृष्ण चौधरी, वीरेन्द्र महतो, दिपेश चौधरी, तुलसी चौधरी, जितेन्द्र चौधरी छन्।

बैठकले आन्दोलनका घाइते सन्जीत महतोका लागि सरकारी सेवा सुविधाको व्यवस्थापनका लागि पहल गर्न र सन्जीतका ११ वर्षका छोरा जेम्स चौधरीको पठनपाठनको व्यवस्थापनका लागि स्थानीय थारु अगुवा कृष्ण चौधरीको संयोजकत्वमा पाँच सदस्यी पहल समिति गठन गरेको छ।

समितिमा वीरेन्द्र महतो, शिव नारायण चौधरी, सजना महतो र चन्द्राकुमारी चौधरी छन्। समितिले विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थासँग आवश्यक परामर्श देखि सरकारी स्तरवाट पाइने सेवा सुविधानको बारेमा पहल गर्नेछ। सन्जीत महतोको नाममा संकलन भएको आर्थिक पारदर्शीतालाई व्यवस्थ्ति र प्रभावकारी बनाउन कृषि विकास बैंक र प्रभु बैंकमा बैंक खाता खोल्ने समेत निर्णय भएको छ।

राहत कोषका संयोजक शरदकुमार महतोका अनुसार आइतवार नै बैंकमा खाता खोलेर संकलन भएका रकमहरु बैंकमा जम्मा गरिनेछ। समग्र एक मधेस एक प्रदेशको गरेको विरोधमा भएका आन्दोलनको क्रममा उनी घाइते भएका थिए। २०६५ साल फागुन २२ गते सुरक्षाकर्मीको गोली लागेर घाइते भएका सन्जीत महतोको आर्थिक अभावका कारण उपचार समेत हुने नसकेको समाचार सार्वजनिक भएपछि स्थानीयले उनको उपचार सँगै अन्य व्यवस्थापनका लागि चासो देखाएका हुन्।

आर्थिक संकलन सुरु
आन्दोलनको क्रममा घाइते भएका सन्जीत महतोको उपचार सँगै अन्य व्यवस्थापनका लागि आर्थिक संकलन अभियान सुरु भएको छ । शनिवार बसेको बैठक लगतै आर्थिक संकलन अभियान सुरु भएको हो । अभियान सुरु भएसँगै खैरहनी नगरपालिका वडा नं. ९ बस्ने चन्द्रकुमारी चौधरी र उहाँका श्रीमान सुरेन्द्र चौधरीले ५ हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरें । यस्तै रत्ननगर नगरपालिका वडा नं. ४ डेबौलीका सुरेश चौधरीले ३ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरें । यस्तै रत्ननगर नगरपालिका वडा नं. ६ का तुलसी चौधरीले ४ हजार रुपैयाँ आर्थिक सहयोग गरे । आर्थिक संकलन हुने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published.