कमैया मुक्ति दिवस : मुक्त कमैयाले स्वतन्त्रता किन पाएनन् ?

सीएन थारु।

पृष्ठभूमी
साउन २ गतेको दिन कमैया मुक्ति दिवसको रुपमा मनाउने गरेको पाइन्छ । यही दिन तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा २०५७ सालमा जमिन्दार थारु÷गैर थारुले आफ्ना कृषि कार्यका लागि राखेका बधुँवा मजदुर अर्थात् कमैयाहरु मुक्त भएको घोषणा गरे । त्यो समय अहिले १७ वर्ष पार गरेको छ । कमैया मुक्ति पश्चात थारुको सामाजिक–साँस्कृतिक, आर्थिक तथा राजनीतिक स्थितिमा परेको असरको अध्ययन हुनु जरुरी थियो र छिटफुट रुपमा यसबारे एन.जी.ओ. मार्फत अध्ययन हुन गयो । त्रि.वि.मा अध्ययनरत शोधार्थीहरुको ध्यान पनि त्यहाँ नपुगेको अवस्थामा जब संविधानसभाबाट संविधान बन्ने समय अगाडि बढ्दै थिए, टीकापुर (कैलाली)मा एकाएक उर्लिएको जनमासले २०७२ भाद्र ७ गते आन्दोलनमा जन प्रदर्शन गरिरहँदा सो दिन भएको मुठभेड पश्चात मुक्त कमैयाको सन्दर्भ फिक्का पर्न गयो र थारुलाई शंकाको नजरले सही एक खतरनाक जनावर हुन भनि राज्यले नजर दिन थाले । त्यो मुठभेडमा सात प्रहरीको ज्यान गएको थियो तर त्यो भन्दा अगाडि थारु भनेको सोझा, भनेको मान्ने र ईमानदार जस्ता अलंकारिक शब्दले विभूषित गरेर तुच्छ प्राणाीको रुपमा हेरिएको थियो ।

थारु कमैया इतिहासको कुनै कालखण्डमा रहेको क्षेत्रमा गणतान्त्रिक नेपालको संविधान कार्यान्वयन गर्ने नाममा पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यो भन्दा अगाडि दुई पटक नै संविधान सभामा समानुपातिक सभासदको रुपमा एमाले, माओवादी लगायतका दलले मुक्त कमैया प्रतिनिधि छनौट गरेको तथ्याङ्क देखाए । अहिले स्थानीय तह मार्फत सिंहदरबार गाउँ ठाउँ सम्म पुरयाएको जिकिर गर्दैछन् । शासकवर्ग भनौं अथावा उत्पीडक समुदाय, उनीहरुले संसारभर बोल्ने चिज यीनै हुन र यसको आधारमा नै उनीहरुले आफ्नो आधिपत्य समाजको तल्लो निकाय सम्म कायम गर्न पुग्छ । भएको चिज के हो भने उहिले उत्पीडकले बन्दुकको सहाराले उक्त निकायसम्म आधिपत्य कायम गर्थे अहिले भोटङ्गको एजेण्डा ल्याएर । यो कुनै चमत्कार होइन । वलिदानीले ल्याएको उपलब्धी पनि होइन र उत्पीडितवर्ग तथा समुदायको स्वतन्त्रता कायम गरेको पनि ठहर्दैन । शासकवर्गको षडयन्त्रबाट उत्पादित सामाजिक सम्बन्धको नयाँ रुप यसलाई भन्दा फरक पर्दैन ।

स्वतन्त्रताको सामाजिक–राजनीतिक पक्ष
“थारुवान डट कम”मा केही महिना अगाडि सोम डेमनडौराको लेख प्रकाशित भयो । लेखको शिर्षक थियो– किन गरीब वाहुन कमैया भएनन् ? यो सवालको दार्शनिक पक्ष गहिरो छ । अरुले कसरी बुझे मैंले जान्ने कुरो भएन तर मैंले यति बुझ्न पाएँ कि उत्पीडक समुदाय गरीब भए पनि उनीहरु आफुलाई शासन गर्न लायक ठान्दछन् । नेपाली माटोमा प्रयोग गरीएको दश वर्षे जनयुद्ध एक हिसावले गरीब वाहुनका लागि वर्गसंघर्ष ठहर भए तर उत्पीडित समुदायका लागि त्यो राष्ट्रिय मुक्ति आन्दोलन । राष्ट्रिय मुक्ति आन्दोलनमा होमिएका ती उत्पीडित समुदाय जनयुद्धको नाममा उपयोग हुन पुग्यो र गरीब वाहुन गणतन्त्रवादी भएर अहिले देशको समस्याको समाधानकर्ता भई टोपलेको छ । उनीहरु आधिपत्य कायम गर्न सफल भएका छन् र काँध थाप्न पुगेका उत्पीडित समुदाय गुनासो पोख्ने काम गर्दैछ ।

स्वतन्त्रता निरपेक्ष हुँदैन र पूर्ण स्वतन्त्रताको विषय अहिले कल्पनाको विषय मात्र मान्न सकिन्छ । त्यही आदर्शमा पुग्न मानवजाति बाँचेको हो भनिन्छ । संसार नै अन्तरनिर्भरताको सिद्धान्त अपनाएर सञ्चालन हुँदै आएको परिवेशमा मानवजाति स्वतन्त्र भन्ने तर्कको सीमा रहने देखिन्छ । त्यसमा पनि राजनीतिक दृष्टीकोण मार्फत अध्ययन गर्दा स्वतन्त्रता लोकतन्त्रको अभ्याससँग तुलना गरेर अनुभूत गराउने चीज भएको मानिन्छ । नेपालमा स्वतन्त्रता कुन्ठित हुनुको कारण नै लोकतन्त्रको आवरण भित्र आधिपत्यको राज्य चलाउनु हो । तसर्थ स्वतन्त्रता बारे विद्वानहरुको मत आ–आफ्नै रहेको पाइन्छ । परमार्थमा स्वतन्त्रता पाउनु मानवजातिको उच्चतम ध्येय रहेको बुझ्न सकिन्छ ।

उत्पीडित समुदायहरु मध्ये अलग राष्ट्रियताको दावी सहित उठेका प्राकृतिक मानव समुह कुनै न कुनै हिसाबले अनौपचारिक सत्ताका सञ्चालक हुन तर त्यो सत्तालाई वर्तमानको आधुनिक सत्ताले छोपेर राखे । थारु राष्ट्रियताको सन्दर्भमा भएको पनि त्यही हो । थारुको बरघर प्रणाली एक किसिमको अनौपचारिक सत्ता नै हुन र स्वायत्तताको प्रत्याभूति दिने यो सत्तालाई वर्तमान राज्यव्यवस्थाले लोकतान्त्रिक गणतन्त्रको जामा पहिरयाएर छोपे । ज्ञान मिमांशिय तहमा नै थारुको आदिवासीय ज्ञानलाई निषेध गर्दै लोकतान्त्रिक संरचना मार्फत असभ्य र स्वाँठ थारुहरुलाई सभ्य र शिक्षित बनाउने योजनाको वकालत गर्दैछन् । तर यस प्रकारको आवधिक निर्वाचनले स्वतन्त्रताको प्रत्याभूति गरायो कि गराएन भन्ने सवाल उठिरहे । डा.मेरी डेसेनको भनाई अनुसार अहिलेको लोकतन्त्र अमूर्त तथा प्रशासनिक मात्रै हो । श्रमिक जनताले आफ्नो जीवनमा प्रभाव पार्ने मूलभूत मुद्दाहरुबारे ( जस्तै ः काम गर्ने अवस्थाहरु, प्रकृतिक साधनको प्रयोग, पानी, शहरी योजना निर्माण आदि )साँच्चि नै नीति–निर्माण गर्ने शक्ति खै कहाँ पाएका छन् ? यो मुद्दा लोकतान्त्रिक क्रान्ति पुरा भए–नभएका कुराको मापक किन नबनेको ? यथार्थमा भन्ने हो भने आधुनिक पूँजीवादमा यी लोकतान्त्रिक संरचनाहरु नयाँ पूँजीवादी र नोकरशाही वर्गहरुले राज्यका सरसुविधाहरुमा पहुँच प्राप्त गर्ने साधनहरु तथा उक्त वर्गहरुको त्यो आरोहणलाई वैधता प्रदान गर्ने साधन सिवाय अरु केही होइन । अर्थात् यो कुनै अर्थमा पनि अलग अलग राष्ट्रियताद्वारा साँच्चि नै आफैं आफ्नो शासन चलाउने स्वतन्त्रता होइन् । यहाँ के कुरा सत्य हो भने नेपालको सन्दर्भमा उदारलोकतन्त्रको गुञ्जायस रहेन किनकी नश्लीय मनोविज्ञानले निर्देशन गरेका ती उत्पीडक समुदायको सत्ता अरुको लागि परशासन बन्न पुगे र परशासनमा उत्पीडन र शोषण वाहेक केही पाइदैन । त्यसैले नै अलग राष्ट्रियताको दावी गर्ने प्राकृतिक मानव समुहले परशासनको विरुद्ध स्वशासनको आवाज बुलन्द गर्दैछन् । स्वतन्त्रता बिनाको लोकतन्त्रले सामाजिक न्याय प्रत्याभूति दिन नसक्ने तथ्य सबैको मनमष्तिष्कमा घर गरिसके ।

मुक्त कमैयाको वर्तमान अवस्था
मुक्त कमैयाको विगत १७ वर्षको सरोकारको विषय प्रमाणिकता बनिरहे । को को मुक्त कमैया हुन र ती कुन स्तरको सुविधा पाउन लायक छन् भन्ने तथ्याङ्क सही अर्थमा अहिले पनि आउन सकेको देखिदैन । नदीको बगरमा घर वा छाप्रो बनाउने नियतीले ग्र्रस्त मुक्त कमैयाहरु आफ्ना भएको शिपको उपयोग नगरी हाल शहर तिर कामको खोजीमा सस्तो मजदुरी गर्न बाध्य छन् । सामुहिकताको भावनाबाट विमुख बन्दै खुल्ला बजारको निरिह उपभोक्ता बनेको उनीहरुलाई पतै चलेन । बयस्क छोराछोरीहरु शहरमा कुन स्तरको जीवन बाँच्दै छन् ? यो प्राज्ञिक अध्ययनको विषय त हो नै, शिविरहरुमा बृद्ध बाआमाहरुको हालत राम्रो नभएको औसत बुझाई रहिआएको छ । नेपाल सरकार सित पटक पटक सम्झौता भई कार्यान्वयन हुन नसकेका सरोकारका विषयहरु राजनीतिकरणको शिकार भईसके । शूरु देखि नै दुई अलग अलग गुटमा विभाजित मुक्त कमैया सरकारको गोटी बन्दै आएको देखिन्थे । अर्कोतिर मुक्त कमैयाको हित संरक्षण गर्न एन.जी.ओ. कति आए गए । मानवताको नाममा डलरको खेती भयो तर मुक्त कमैयाको वर्तमान अवस्था सन्तोषजनक नरहेको पुष्टी गर्न प्रमाण जुटाइरहनु परेन । उनीहरुको शिपको प्रबद्र्धन र सदुपयोग गर्ने योजना भन्दा पनि तत्कालिन आवश्यकता पुर्तिका लागि विभिन्न किसिमका आर्थिक सहयोग गर्ने योजना कार्यान्वयन गर्न पटी ध्यान दिए । त्यसले उनीहरुलाई परनिर्भर पनि बनायो जब कि खुल्ला बजार व्यवस्थामा क्षमताको अभिवृद्धि जरुरी थियो । हालपर्यन्त उनीहरुको जनजीविकाको सवाल उठीरहे । उनीहरुको व्यवस्थित बसोबास तथा मानवअधिकारको विषयसँग सम्बन्धित शिक्षा, स्वास्थ र सरसफाई सरोकारको विषय बनिरहे । सरकारले विभिन्न वहानामा अल्झाउने काम गरे ।

मुक्त कमैयाहरु २०५७ साल अगाडि जमीनदारहरुको नियन्त्रणमा हुन्थे । अहिले राजनीतिक दलका पछाडि पछाडि सपना बुन्ने हैसियत बनाएको देखिन्छ । २०६४ साल पछि मुक्त कमैयामा कसको पकड हुने होडबाजी चल्यो र सबैले अनेकन आश्वासन बाँडे । “उडायो सपना सबै हुरीले” भन्ने आसयको जिन्दगी विताउन पुगेका मुक्त कमैयाहरु विकल्प खोज्ने सामथ्र्य राख्दैनन् । उनीहरु नेपाली समाजको अन्तरविरोध बारे अस्पष्ट हुनु स्वभाविक मान्नुपर्दछ किनकी कमैया भनेको थारु हुनु होइन, ती गरीब हुनुसँग सम्बन्धित छ भन्ने सुगारटाई रहे । शायद कमैयालाई प्रष्ट पार्ने यो वाहेक अन्य एजेण्डा पनि थिएन । थारुका पूर्खाले निर्माण गरेका गौरवशाली इतिहास मेटाउनु, संस्कृति र परम्परा उपर छेडछाड गर्नु लगायत थारु आदिवासी ज्ञानको श्रोतलाई निषेध गर्ने गतिविधिहरु मानिसलाई कमैया अथवा बधुँवा बनाउने अर्थ सँग सरोकार थिएन कि भन्ने तथ्य लुकाइयो । यस्तो परिवेशले परिवर्तन प्रतिको भय त ल्याउने नै भयो । तर जालसाज विस्तारै पटाक्षेप हुन थाले । जगदीश शम्शेर राणाले भने अनुसार ज्ञान र संकथनको विष्फोट भएको छ र यसले गर्दा राजनीतिक वहुल केन्द्र निर्माण हुँदै आर्थिक केन्द्रहरु वहुआयामिक तवरले स्वरुप ग्रहण गर्दैछन् । आदिवासी ज्ञान श्रोतबाट मात्र संसारलाई सुरक्षित बनाउन सकिने तर्क पनि जवरजस्त रुपमा उठे । मुक्त कमैयाहरुको स्मरणमा पनि यी ज्ञानका श्रोतहरु होलान । उनीहरुसँग पनि आदिवासी ज्ञानलाई परिचालन गर्ने शिप होलान तर उपभोक्तावादी संस्कारले यसलाई प्रतिस्पर्धा सँग जोड्ने काम गरे । प्रतिस्पर्धामा उनीहरु हार्दै आएका छन तर मान्छेको जात न हो, सितिमिति हार स्वीकार गर्ने पक्षमा छैन । उनीहरुले जित्नका लागि पनि ठोस तयारी पुरा गर्ने योजना निर्माण गर्न सक्दैन र एन.जी.ओ. चेतनाले त्यो बाटो शुरुदेखि नै रोके । राजनीतिक दलका दलालहरु परिवर्तनको नाममा कमैयाहरुलाई राजनीतिक कमैया सम्म बनाउने प्रयत्न गरे । केही मात्रामा सफल पनि भए । अन्ततः यसखाले नियती अधिकांश थारुले भोग्दै आएको छ ।

निष्कर्ष
जुन माटोसँग कमैया मितेरी गाँसे आज त्यही माटो देखि अलग पारिएका छन् । जल, जंगल र जमीनसँग थारुहरुको सम्बन्ध बारे डोरवहादुर विष्टको भनाई मननीय छ– सहज र तर्कसंगत कुरा गर्ने हो भने थारु जातिलाई आदिमकाल देखि नै तराईका जंगलमा बसिआएका मानिस भनि स्वीकार नगरी धरै पाईदैन । त्यसैले त उनीहरु आफ्नो माटोसँग छुटिन नसक्ने गरी गाँसिएका छन्। आजसम्म कुनै पनि थारुले न सिमापारिको भारतलाई नजिक ठान्दछ न पहाड उक्लेर आफ्नो भाग्य अजमाउन नै खोजेको छ । यति ठूलो बथान भइकन पनि आफ्नो माटो, पानी र वरिपरिका जंगलसँग नङ र मासु जस्तै गाँसिएको जीवन अरु कुनै पनि जातिको छैन होला (विष्ट, सन् २००५ः४१)। त्यसैगरी कैलाश नाथ प्याकुरेलको सटिक विश्लेषण यस्तो छ–थारुहरु प्रायः सरकारबाट अलग्गिएका र विस्थापित भएका आदिवासी हुन् साथै औलो उन्मुलन पश्चात पहाडबाट तराई भेगमा अन्य जातिका मानिसहरु बसाई सराई गर्नाले थारुको जीवन शैलीमा परिवर्तन देखा पर्नुको साथै दिनानुदिन गरीबि बढ्दै गएको हो (प्याकुरेल ः१९८२)। मुक्त कमैयाको पहुँच प्राकृतिक साधन श्रोतहरुमा देखिंदैन र उनीहरुको श्रम सम्बन्धबाट राज्यशक्ति पनि निश्रित हुने छैन । तसर्थ, मुक्त कमैयाको परिभाषा बदल्ने कोशिश हुनु परेको छ । थारु आदिवासी भित्र बाटै उनीहरुको दीर्घकालिन समाधान गर्नु उत्तम उपाय ठहर्छ । मुक्त कमैया राष्ट्रिय चेतनाले लैस अग्रदास्ता बन्न सक्ने क्षमता राख्छ र उनीहरुको विगतको पिडामा मलम लगाउने गरी राज्यले आत्मनिर्णयको अधिकार सहितको स्वायत्त शासन सुनिश्चित गर्न सक्नुपर्दछ । यो भनेको सत्तामै साझेदारीको विषय हो ।

अन्त्यमा, मुक्त कमैया आफ्नो समग्र आन्दोलनको कठोर समीक्षा गर्न अग्रसर हुनैपर्दछ । सामन्त, पूँजीपतिवर्ग, दलाल नोकरशाह, विस्तारवाद, वैदेशिक एकाधिकार पूँजीवाद, साम्राज्यवाद आदिसँग जातीय मुक्ति आन्दोलनको अन्तरविरोध देखाउँदै आन्तरिक र वाह्य अन्तरविरोध, त्यस्तै प्रधान र गौण अन्तरविरोध अथवा प्रधान शत्रु किटान गर्नु कुनै एकजमानाका कम्युनिष्टले राज्यसत्ता कब्जा गर्ने रणनीतिको नक्कल शिवाय केही होइन । यो हाम्रो आफ्नै धरातलीय यथार्थ मुल्याङ्कन पनि होइन । तसर्थ नेपाली समाजको अन्तरविरोध बुझ्न श्यामुल पी. हन्टिङ्टनको भनाई सम्झनुपर्ने छ– “हामी थाहा पाउँछौं हामी को हौं जब हामी थाहा पाउँछौं हामी को होइनौं, र मात्र प्रायः जब हामी थाहा पाउँछौं हामी कसको विरुद्धमा छौं ।” हामी थारु हौं भनि थाहा पाउन हामी खसिया, पर्वते, मधेसी होइनौं भनि थाहा पाउनुपर्यो । त्यसको लागि हामी हिन्दु पनि होइनौं मनन गर्नुपर्यो । सनातन वर्णाश्रम भित्र पर्ने ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र पनि होइनौं भनि थाहा पाउनुपर्यो । र मात्र हामी थाहा पाउँछौ थारु प्राकृतिक धर्म मान्दछ भनी निषेध गर्ने बाहुनवादी प्रवृतिका विरुद्धमा हामी छौं । एकल जातीय वर्चश्व कायम गर्ने ब्राह्मणवदी राज्यव्यवस्थाको विरुद्धमा हामी छौं जसले हाम्रो स्वतन्त्रता खोसेको छ । लोकतन्त्रको नाममा नश्लीय दवदवा लाद्न प्रयासरत देखिन्छ र वहुलराष्ट्रियताको अवधारणालाई इन्कार गर्न हरदम तयार देखिएका छन् । त्यसैले थारुको आन्दोलन स्वतन्त्रताको आन्दोलन हो र यसले लोकतन्त्रलाई सुदृढ बनाई साझेदारी शासनको ढोका खोल्ने काम गर्छ । मुक्त कमैयाको स्वतन्त्रता समेत यही आन्दोलन मार्फत सुनिश्चित हुने देखिन्छ किनकी यो आन्दोलनको मर्म स्वायत्तशासन हो जहाँ आफ्नो शासन तथा आफ्नै प्रशासनको आत्मनिर्णयको अधिकार रहन्छ । कमैया मुक्तिको सार्थकता त्यस अवस्थामा पुष्टी हुने छ ।

Leave a Reply

Your email address will not be published.