‘हरेराम महतो बचाऊ अभियान’मा सहयोग संकलन हुँदै

कारी महतो/चितवन।
साउदी अरेबियामा अचानक दुवै मिर्गौला फेल भई हाल काठमाडौंमा उपचार गराईरहेका खैरहनी नगरपालिका वडा नं. १ का ३५ वर्षीय अति विपन्न युवा हरेराम महतोलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले सञ्चालन भएको हरेराम महतो बचाऊ अभियान २०७४ मार्फत् देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ । साउदीको कम्पनीले कुनै सहयोग नगरेपछि आफैले टिकट काटी हरेराम महतो नेपाल फर्किएका हुन् । उनको पारिवारिक सम्पत्तीको नाममा पाँच धुर घडेरीमा बनेको सानो घर मात्र छ ।

हरेराम महतोलाई मिर्गौला दिन तयार रहेकी विन्दु महतोको मिर्गौलामा पनि सानो पत्थर देखिएकोले सामान्य अपरेसन गरी उक्त पत्थर निकालिएको छ । केहि दिनभित्रै हरेराम महतोको अपरेसन कार्यमा लाग्ने औषधी खर्चका लागि अस्पतालमा पाँच लाख रुपैयाँ धरौटी राख्नुपर्ने भएकोले सिर्जनशील थारु समाज चितवनले रकम संकलनका लागि अभियान चलाएको छ ।

अमेरिकाको न्युयोर्क स्थित लछिन फाउन्डेशनले प्रदान गरेको रु २० हजार सहयोग रकम हरेराम महतोका छोरीहरुलाई उनीहरुको घरमै गई एक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको छ । उक्त रकम खैरहनी नगरपालिका वडा नं. १ का वडाअध्यक्ष भूँमि प्रसाद कँडेलले हस्तान्त्रण गरेका हुन् । भूँमि प्रसाद कँडेलका छोरा लेलिन कँडेल मार्फत् उक्त रकम प्राप्त भएको हो । हाल लेलिन कँडेल अमेरिकामै छन् । सहयोग हस्तान्त्रण गर्दै वडाअध्यक्ष कँडेलले खैरहनी नगरपालिका कार्यालयबाट पनि आर्थिक सहयोग जुटाउन पहल गर्ने जनाएका छन् ।

समाजसेवी मुरली प्रसाद गजुरेलले संकलन गरेको ३ हजार २१० पनि सोहि कार्यक्रम मार्फत् हस्तान्त्रण गरियो । यसअघि गजुरेलले संकलन गरेको रु १४ हजार २६० वीर अस्पतालमा पुगेर हरेराम महतोको श्रीमती विन्दु महतोलाई हस्तान्त्रण गरेका थिए । संकलित रकम हस्तान्त्रण गर्दै समाजसेवी गजुरेलले भर्खरै एसईई पास गरेकी हरेरामकी जेठी छोरीलाई खैरहनी उच्च माविमा ११ र १२ कक्षा अध्ययन गर्न अनुरोध गर्दै त्यहाँ तिर्नुपर्ने सबै महिनाको महिनावारी शुल्क खैरहनी उच्च माविमा स्थापना गरिएको जन्मोत्सव तथा स्मृति छात्रवृत्ति कोषको व्याज रकमबाट सहयोग स्वरुप छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।

अभियानलाई सहयोग गर्दै रुपन्देहि जिल्ला सैनामैना ३, बालापुर (बुटवल) घर भई हाल मलेसियामा कार्यरत राजुकुमार चौधरीले साथीहरुबाट आर्थिक सहयोग संकलन गरी रु १० हजार ४५० पठाएका छन् । त्यस्तै खैरहनी नपा वडा नं. १ घर भई हाल कतारमा कार्यरत यसराम महतोले साथीहरुबाट संकलन गरी रु १४ हजार १०८ पठाएका छन् । त्यस्तै खैरहनी नगरपालिकाको जानकी महिला समूहले रु २ हजार ५०० प्रदान गरेको छ । त्यस्तै फसेरा फसेर्नी बप्तीस चर्चले विरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै संकलन गरी रु ३ हजार १०० प्रदान गरेको छ । खैरहनी नपा १ घर भई हाल दुबईमा कार्यरत सुनिता बुर्लाकोटीले रु ५ हजार पठाएकी छन् । त्यस्तै जापानमा अध्ययनरत विद्यार्थी गणेश थापाले रु २ हजार १ पठाएको छ । त्यस्तै इन्दिरा चौधरीको तर्फबाट आकाश चौधरीले रु १ हजार प्रदान गरेका छन् ।

खैरहनी नगरपालिका वडा नं. १ का महादेव टोल सुधार समिति र बहेरी टोल सुधार समितिले घरदैलो गरी संकलन गरेको रु. ६६ हजार ४२० र कंकाली माविका शिक्षक कर्मचारी तथा विद्यार्थीहरुले संकलन गरेका १३ हजार ६२५ रुपैयाँ हरेराम महतोको श्रीमती विन्दु महतोको नाममा चितवन टाँडी स्थित प्रभु बैंकको खाता नं. ०२४०१००४१३४९९०००००१ मा डिपोजिट गरी सकिएको छ । पैसाकै कारणले मिर्गौलाको विरामी हरेराम महतोको स्वास्थ्य उपाचारमा समस्या आउन नदिन सबैले सक्दो आर्थिक सहयोग गर्नका लागि हरेराम महतो बचाऊ अभियानका संयोजक हरिकुमार चौधरीले सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published.