पश्चिमा थारू बस्तीमा हरडहुवा-हरधोबाको रौनक

लखन चौधरी/धनगढी।
धान रोपाई सकिए संगै पश्चिम नेपालको थारू वस्तीमा हरडहुवा एंव हरधोवाको रौनक बढेको छ। धान रोपाई सकिएको खुसयालीमा मनाइने पर्व हरडहुवा तथा हरधोवाको रौनक सुरु भएको हो।

कैलाली र कञ्चनपुर जिल्लास्थित डगौंरा थारूले हरडहुवाको नामले र कठरिया थारूहरुले हरधोवाको नामले सामूहिक रुपमा खानपान, नाचगान गरी पर्व मनाउने प्रचलन रहेको बताउँछन् थारु नागरिक समाज कैलालीका संयोजक दिनबहादुर चौधरी। उनले पर्वको अवसरमा चेलीबेटी तथा इष्ट मित्रहरुलाई घरमा आमन्त्रण गरी आपसमा खुसयाली साटासाट गर्ने पनि जानकारी गराए।

हरडहुवा तथा हरधोवाको शाब्दिक अर्थ हर अर्थात हलो धुनु हो । यो पर्वमा सामूहिक रुपमा बंगुर, खसी, बोका, बोइलरको मासु काट्ने प्रचलन रहँदै आएको जनाइएको छ।

कैलारी गाउँपालिका-९ सामचरचौराका स्थानीयहरु मंगलबार र गौरीगंगा नगरपालिका–११ नुक्लीपुरका स्थानीयहरु बुधबार धुमधामले हरडहुवा पर्व मनाएको गौरीगंगा नगरपालिका स्थानीय सञ्चारकर्मी दिनेश दहिटले जानकारी दिए। त्यस्तै, असार ३० गते कैलारी गाउँपालिकाको पवेरा, बरका मुडामा हरडहुवा कार्यक्रम रहेको जनाइएको छ।

हरडहुवा मनाउनुको अर्को अर्थ रोपाई सकिएको पनि बुझाउँछ। सामान्यतया टोल या गाउँमा सबैले रोपाई सकाएपछि मात्रै हरडहुवा मनाइने गरिन्छ । यो धान रोपाईको क्रममा खेपेको दुःख, पीडा भुलाउने माध्यम पनि बनेको छ।

Leave a Reply

Your email address will not be published.