संविधान संसोधन नगरी चुनाव गराउन खोजेको भन्दै बन्द आव्हान गरिरहेको राष्ट्रिय जनता पार्टीको आन्दोलनमा विजय गच्छदारको नेपाल फोरम लोकतान्त्रिक पार्टीले पनि समर्थन गर्ने भएको छ ।
गच्छदारको पार्टीले ५ नम्बरको प्रदेशका ३ जिल्ला रुपन्देही, नवलपरासी र कपिलवस्तुमा समर्थन गर्ने जनाएको छ । बुधबार नेपाल फोरम लोकतान्त्रिक पार्टीको रुपन्देही जिल्ला कार्यालय भैरहवामा बसेको ५ नम्बर प्रदेशको तीन जिल्लाको बैठकले राजपाको आन्दोलनमा समर्थन गर्ने निर्णय गरेको हो ।
५ नम्बरको प्रदेशको तीन जिल्ला रुपन्देही, नवलपरासी र कपिलवस्तुका जिल्ला अध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्य लगायत पार्टीका अन्य नेताको बैठकले मधेसमा जारी आन्दोलनमा समर्थन गर्ने निर्णय गरेको हो । बैठक पश्चात लोकतान्त्रिक पार्टीका रुपन्देही, नवलपरासी र कपिलवस्तुका जिल्ला अध्यक्षद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा मधेसी जनताको माग पूरा नगरी चुनावको घोषणा गरी मधेसमा द्वन्द्व निम्त्याउन खोजिएको भन्दै गम्भीर ध्यानआर्कषण भएको उल्लेख गरिएको छ ।
मधेसको जायज माग पूरा नभएसम्म स्थानीय चुनावमा सहभागी हुने वातावरण नभएको हुदाँ यथासिघ्र मधेसको मागलाई सम्बोधन गरी आन्दोलनरत दललाईसमेत चुनावमा सहभागी गराउन नेपाल सरकारसगँ माग गरिएको छ । त्यस्तै नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको चुनाव दोस्रो चरणमा हुन नसक्ने जिल्लामा तेस्रो चरणमा हुने बताएका छन् ।
विराटनगरमा पत्रकारसंग कुरा गर्दै उनले संविधान कार्यान्वयनको प्रमुख खुड्किलो तीनवटै तहको चुनाव भएकोले सरकारले जसरी पनि दोस्रो चरणमा स्थानीय तहको चुनाव असार १४ गते नै सम्पन्न गराउन खोजेको तर हुन नसक्ने जिल्लामा तेस्रो चरणमा कार्तिक महिनामा निर्वाचन गराउने अवस्था रहेको बताएका हुन् ।
‘म जबरजस्ति पेलेर चुनाव गराउने पक्षमा छैन,’ उनले भने, ‘जबरजस्ति पेलेर चुनाव गराए मुलुकमा समस्या बल्झिन्छ र द्वन्द्व बढ्छ ।’ मधेसवादी दल संवैधानिक प्रक्रियामा आएकोले राज्यले उदारता देखाउनुपर्ने उनको तर्क थियो ।
‘राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुने ग्यारेण्टी गर्छ भने सार्थक चुनावका लागि ११ वटा जिल्लामा तेस्रो चरणमा चुनाव गराउन सकिन्छ,’ उनले भने, ‘३२ वटा जिल्लामा दोस्रो चरणमा असार १४ गते चुनाव हुन्छ ।’
‘संविधान संशोधन चुनाव अगाडि हुन नसक्ने अवस्था रहेकोले यसमा कसैले अड्डी कस्नु हुँदैन,’ उनले भने, ‘संविधान संशोधनको पक्षमा आफू पनि रहेको तर त्यो पारित हुने गरि मात्रै प्रक्रिया लैजानु पर्छ ।’ त्यसैले जिद्दी छोडेर राष्ट्रिय जनता पार्टीलाई संबिधान संशोधन बाहेकको कुरा मिलाएर चुनाव सहभागी हुन उनले आग्रह गरे ।