थरुहट राज्य स्थापनासहित महतो र लेखीबीच दस बुँदे सहमति

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखीको नागरिक समाजवादी पार्टीबीच पार्टी एकता घोषणा भएको छ। मंगलबार पार्टी एकता कार्यक्रममा महतो र लेखीले १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमति पत्रमा थरुहट राज्य स्थापनाका लागि संघर्ष गर्ने, सीमांकनसहितको संविधान संशोधनका लागि सरकार र दलहरुलाई बाध्य पार्ने उल्लेख छ।

एकीकृत पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा विस्तार गर्ने दुई पार्टीको सहमति छ। लेखीसहितका नेताहरुलाई पार्टीमा भित्र्याएपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुलाई अब क्षेत्रीय पार्टी नभन्ने आग्रह गरे। सद्भावना अब राष्ट्रिय पार्टी भएको उनले दाबी गरे । बरु कांग्रेस, एमाले र माओवादीको नेतृत्वमा एकल जाति रहेको भन्दै उनले तीनै दल जातीय भएको आरोप लगाए ।

लेखीले सद्भावनाले तराई माधेसमा थरुहटसहित दुई प्रदेश स्वीकार गरेकाले पार्टी एकता भएको बताए । यसमा अरु पार्टीलाई पनि आबद्ध गराएर मधेसी थारुको मुद्दालाई सशक्त पार्ने लेखीको भनाई थियो।

कार्यक्रममा अध्यक्ष राजेन्द्र महतोले थारुहरुलाई राज्यले विभेद गरेको आरोप लगाए। उनले थरुहट आन्दोलनलाई टीकापुर घटना घटाएर तुहाएको आरोपसमेत लगाए।

Leave a Reply

Your email address will not be published.