धनगढी उपमहानगरको मेयरमा थरुहट संयोजकको दाबी

लखा चौधरी/धनगढी।
थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली–कञ्चनपुर संयोजक प्रभातकुमार चौधरीले धनगढी उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेदवारी दाबी गरेका छन्। थरुहट भूगोलको विकासको लागि थारु समुदायको नेतृत्व अपरिहार्य रहेको र पार्टीभित्र पनि लामो समयदेखि क्रियाशिल रहि योगदान दिएको बताउँदै उनले नेपाली कांग्रेसबाट मेयर पदको लागि उम्मेदवारी दाबी गरेका हुन्।

२०३५ सालमा नेपाल विद्यार्थी संघको संस्थापक कोषाध्यक्ष पदमा रही आफ्नो विद्यार्थी जीवन यात्रा सुरु गरेका उनी २०३६ सालको जनमत संग्रहमा उर्मा गाउँ पञ्चायतबाट नेपालभरिमै एक नम्बरमा बहुदलमा मतदान गराउन अहम भूमिका निर्वाह गरेको बताए।

२०४०/०४१ सालको सत्याग्रह आन्दोलनमा महेन्द्र बहुमुखी क्याम्पस नेपालजञ्जमा नेतृत्व गरेका उनी २०४३ सालको स्थानीय निर्वाचनमा काँग्रेस पार्टीले भाग लिँदा दिनरात अहोरात्र काम गरेको अनुभव आफूसँग रहेको बताए।

२०४५ सालदेखि कृषि विकास बैंकमा कार्यरत हुँदा २०४६ सालमा अछामको मंगलसेनमा राजतन्त्रविरुद्धको आन्दोलनमा कर्मचारी आन्दोलनको पनि अगुवाई गरेका उनी कैलाली जिल्लामा ट्रेड युनियनको संस्थापक सदस्य पनि हुन्।

त्यस्तै, २०६२/०६३ सालको जनआन्दोलनमा सुदूर पश्चिम क्षेत्रमा कर्मचारीहरुको कमाण्ड समालेको संयोजक चौधरीले आफुले लामो समयदेखि विभिन्न मोर्चाको कमाण्ड समालेकोले पार्टीले उचित मूल्यांकन गरी आफूलाई वैधाता दिने बताए।
थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापतिसमेत रहेका संयोजक चौधरी पछिल्लो समय थरुहट आन्दोलनको नेतृत्व गर्दै आएका छन्।

यस क्षेत्रको सिमान्तकृत वर्गको अवस्था, आर्थिक, सामाजिक, शैक्षिकलगायत विकासको अवस्थालाई एकदमै नजिकबाट बुझेकोले आफु मेयरमा जिते सभ्य, भव्य धनगढी नगर बनाउँने प्रतिवद्धता जनाए। साथै यो क्षेत्रमा थारु समुदायको बहुल्य रहेकोले आफु सबभन्दा उपयुक्त उम्मेदवार हुने उनको भनाई छ।

नेपाली कांग्रेसको तर्फबाट उनीसहित धनगढी उपमहानगरको मेयर पदको लागि सात जनाले दाबी गरेका छन्। धनगढी नगर सभापति नृप ओड, नगर सचिव केशव मिश्र, कांग्रेस महाधिवेसन प्रतिनिधी तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष क्षितिज भण्डारी, महासमिति सदस्य कृष्ण महरा, सुशिला मिश्र ओ नेता मानबहादुर बिष्ट पनि मेयर पदमा दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published.