कैलालीका महिलाले आज धनगढीमा चिरै भजहर मनाउँदै

सखी सञ्जाल कैलालीको आयोजनामा आज धनगढीमा चिरै भजहर कार्यक्रम आयोजना हुँदैछ। थारु समुदायको कला संस्कृतिको संरक्षण गर्दै महिला स्वतन्त्रता लागि यो पर्व मनाउन लागेको सञ्जालका अध्यक्ष इन्दु थारुले बताइन्।

धनगढीको थारु छात्राबासमा आज बिहान १० बजेदेखि कार्यक्रम सञ्चालन हुने उनले बताइन्। कार्यक्रममा प्रमुख अतिथि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द्र रिजाल र महिला विकास कार्यालयका प्रमुख पूजा काफ्लेलाई विशिष्ट अतिथि बनाइएको सखी सञ्जालले जनाएको छ।

यो पर्वको दिन अविवाहित महिला (छोरी) घरबाट केही टाढा रहेको बगियामा गएर दिनभर पौराणिक खेल (छुर, कोइली दिदी, कौरी नुकावर) खेल्ने र नाँचगान गर्दै रमाइलो गरि मनाउने गर्छन्।

त्यसदिन परिवारका सदस्य भने मिठा–मिठा परिकार बनाई छोरीहरुलाई पुर्‍याई खुवाउने चलन रहेको सञ्जालका अध्यक्ष थारुले बताइन्। ‘यो दिन महिलालाई स्वतन्त्रता दिएको हुन्छ। त्यसैगरी यस पर्वमा दिदीबहिनी बाटो छेक्ने र बटुवाले आफ्नो स्वइच्छा दान गर्ने चलन छ,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published.