थारु साहित्यिक मेलाको तयारी तीब्र, आयोजक पटेलावासी उत्साहित

लखन चौधरी/धनगढी।

आफ्नै गाउँमा राष्ट्रिय स्तरको कार्यक्रम हुने भएपछि धनगढी उपमहानगरपालिका–७ पटेलावासी उत्साहित भएका छन्। उपमहानगर क्षेत्रभित्रै विकासको दृष्टिकोणले निकै पछाडि परेका पटेलाबासी आफ्नै ठाउँमा राष्ट्रिय थारु साहित्यिक मेला हुने भएपछि उत्साहित भएका हुन्।
चैत १८ देखि २० गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको लागि स्थानीयहरुले तयारी तीब्र पारेका छन्। पटेला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन चौधरीले उत्साहका साथ मेलाको तयारीमा जुटेको जानकारी दिए। पहुनाहरुको लागि गास र बासको व्यवस्थापन आफूहरुको जिम्मेवारी रहेको बताउँदै उनले तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरे।

उनका अनुसार स्थानीयहरुले थारु परम्परागत शैलीअनुसार खानपानको व्यवस्था गर्ने भएका छन्। जसको लागि उनीहरु दुना टपरी बनाउने कामदेखि घर लिपपोतको काम जारी राखेका छन्। ८२ घरधुरी रहेका पटेलावासीले प्रति घरधुरी २०-२० थान टपरी र दुना बनाउने जिम्मेवारी बाँडफाँड गरेका छन् ।

त्यस्तै कार्यक्रमको अवधिमा प्रति घरधुरी एक जनाको दरले स्वयंसेवकको भूमिका निर्वाह गर्नुपर्ने गाउँको भेलाबाट निर्णयसमेत गरेको पटेला सामुदायिक वनकी सचिव चन्द्रा चौधरीले बताइन्। कार्यक्रमको स्थानीय आयोजकसमेत रहेका पटेलाबासीहरुले मुख्य आयोजक थारु लेखक संघलाई मेलाको तयारीलाई तीब्रता दिनुपर्ने अनुरोध अनुरोध गरेका छन्।

पटेलाका स्थानीय बुद्धिजीबी अन्तराम चौधरीले कार्यक्रमलाई लक्ष्यमुखी बनाउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्नेमा जोड दिए। तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा थारु साहित्यिक अवस्थाबारे विचार गोष्ठी सञ्चालन गरिनुको साथै हालसम्म प्रकाशन भएको थारु साहित्यिक पुस्तकको प्रदर्शनी हुने भएको छ।

त्यस्तै थारु भाषालाई मानक भाषा बनाउँने उदेश्यले थारु अगुवा, साहित्यकार, पत्रकार, भाषा विदबीच छलफल हुने जनाइएको छ।
मेलामा देशभरिका करिब दुई सय बढी साहित्यकार, लेखक, भाषाविदलगायतको सहभागिता रहनेछन्। धनगढी बजारको क्याम्पस चौकदेखि पटेला गाउँ ७ किलो मिटरकोे दूरीमा पर्छ। सर्वसुलभ सार्वजनिक यातायातको व्यवस्था नभए पनि आयोजकले धनगढीदेखि पटेलासम्म सवारी साधनको व्यवस्था गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published.