राजधानीमा बस्ने थारुहरु फागु पुर्णिमाको अवसरमा होलिका दहन गरेका छन्। राजधानीको कीर्तिपुरमा ‘कला संस्कार रंगिन होली मनाई, अपन पुर्ख्यौली थारु पहिचान संस्कृती बचाई’ नारा दिएर बर्दियाली थारु विकास मञ्च, चम्पन साँस्कृतिक समूह, निसराउ बचत समूहलगायतको पहलमा होलिका दहन गरिएको हो।
हिन्दु धर्मको विभिन्न पुराणमा उल्लेख भएको कथाअनुसार असत्य तथा अत्याचारमाथि सत्य र इमान्दारिताको जीतको प्रतीकको रुपमा यस पर्वलाई लिइन्छ । विशेषगरी भगवान विष्णुको भक्त (शिष्य) प्रल्हाद आफ्नो बुवा हिरण्यकश्यपको घमण्डमाथि विजय प्राप्त गरेको प्रसंग तथा प्रल्हादकी फुपु होलिकाले भगवान ब्रम्हाबाट आगोबाट नजल्ने पाएको वरदानको गलत प्रयोग गरेको कारण होलिका आगोमा जली नष्ट भएको र प्रल्हाद चाँही सकुसल निस्किएको घटनाबाटै होली पर्वको प्रर्दुभाव भएको हो । थारू समुदाय पनि हिन्दु धर्मको अनुयायी भएको कारण यो समुदायमा पनि विजयको उत्सवको रुपमा होली पर्व मनाइन्दै आइएको छ । यद्यपी यो समुदायमा होली अर्थात ढुरहेरी मनाउँने आफ्नै तौरतरिका रहँदै आएको छ।
होलिका प्रतिमाको स्वरुप तथा चीर दहन
पश्चिमी थारु समुदायमा होली पर्व तीन दिन मनाइन्छ । पहिलो दिन अर्थात पूर्णिमाको दिन चीर दहन गरिन्छ । चीर दहनको विधि पनि यस समुदायमा आफ्नै मौलिक तौरतरिका रहिआएको छ । यस दिन थारू वस्तीका गुरुवा÷देशबन्ध्या तथा भलमन्साहरुले विशेष पूजाको तयारी गर्नु पर्ने हुन्छ । यसैबीच गाउँका सदस्यहरुले आफ्नो क्षमता अनुसार चामल र खाने तेल संकलन गरी चामलको पिठो बनाउँने गर्दछन् । जुन पिठोमा मिठाई मिसाएर तेलमा तरेको रोटी (झझरा) बनाउँनु पर्ने हुन्छ । उक्त रोटीलाई प्रसादको रुपमा प्रयोग गरिने प्रचलन पनि छ ।
त्यस्तै, चीर बनाउँनको लागि नजिकको जंगलबाट सिमलको हाँगा या रेंर (एक प्रकारको वनस्पति) काटेर ल्याउनु पर्ने हुन्छ । साँझपख जब गाईभैंसीहरुलाई घारी (गोठ) मा भित्र्याइन्छ । तब गाउँको दक्षिण दिशामा उक्त सिमल या रेंर (एक किसिमको वनस्पति) को हाँगा गाडिन्छ । जसको माथि तोरीको डाँठ, पराल, खर थुपारिन्छ । त्यसपछि गाउँका प्रमुख भलमन्सा तथा चिराकीले विधिपूर्वक पूजा गरी थुपारिएको खरमा आगो लगाउँ छन । जुनक्रममा गाउँका यूवा तथा बुढापाकाहरु लामो लठ्ठीमा गोबरको गुइठा (कन्डा) गुठेर लगेका हुन्छन् । उनीहरु बलिरहेको आगोमा उक्त गुइठा जलाउने पनि गर्छन् ।
होलिकाको प्रतिमा स्वरुप तथा चीर दहन गर्ने अवधी निकै नै हर्षोल्लासपूर्ण रहेको हुन्छ । कोहि आफ्नो लाठीमा गुठेर लगेको गुइठामा आगो लगाउँने क्रममा हुन्छन्, भने कोही ढुंगा, माटोले उक्त गुइठालाई हानेर खसाल्ने गर्नुको साथै दनदनी बलिरहेको आगोलाई निभाउँने पनि गर्छन् । यसरी ढुंगा माटोले जलिरहेको वस्तुलाई हान्नुको तत्पर्य दुष्ट होलिलाई कुटीकुटी जलाउँनु अर्थात पृथ्वी लोकबाट होलिका प्रबृति सधैंको लागि नाश होस भन्ने पनि हो । जब सबैजना घरबाट लगिएको गुइठामा आगो लगाई सक्छन, तब तेलमा पकाइएको झझरा प्रसादको रुपमा आपसमा बाँडेर खाई आगो लिएर घर फर्कन्छन् । गुइठा रहेको उक्त आगोलाई यस समुदायमा नयाँ आगोको रुपमा लिन्छ । पछि उक्त आगोलाई आ–आफ्ना कुल देवतालाई चढाउँने तथा उक्त आगोमा विभिन्न परिकार बनाई देवतालाई पुज्ने पनि गरिएको पाइन्छ । तर पहिलो दिन रंग अविर भने दल्न नपाइने प्रचलन रहि आएको छ ।
दोस्रो दिन विहानै चीर बुटैना अर्थात सेलाउने गरिन्छ । सेलाउनको लागि गएका गाउँलेहरुले लोटा या गिलासमा पानी लगेर गएका हुन्छ । उनीहरुले कुशको कुचो बनाई त्यही कुचोको मदतले जलेको वस्तु या होलिका प्रतिमामा पानी छ्याप्ने गर्दछन् । यसरी चीर बुटाउने कार्य सकिएपछि गाउँलेहरु गाउँभरीको साझा देवता अर्थात देवथनुवामा जान्छन् । थनुवामा विराजमान रहेका देवीदेवताहरुलाई विधिपूर्वक पूजाआजा गरी सकेपछि आपसमा रंग अविर दलेर होली पर्वमा रंग दल्ने कार्यको सुरुवात हुन्छ । जसलाई नै थारू समुदायमा फागुवाइना अर्थात आफ्ना देवताबाट होली खेल्नको लागि अनुमति माग्नु पनि हो । त्यसपछि, दिनभरी रंग अविर दलेर हर्षोल्लासपूर्वक होली पर्व मनाइन्छ।