रुपन्देहीका नोखईप्रसाद चौधरीलाई समाजले दिएको ‘डिप्रेसन’

कमला चौधरी/काठमाडौं।  

हेर्दा हट्टाकट्टा, मिजासिला स्वाभावका, सामान्य नै देखिने ५१ वर्षीय नोखईप्रसाद थारु मानसिक रुपले रोगी छन्। विगत पच्चिस वर्षदेखि उनलाई मानसिक रोगले सताएको हो। उनका बुबाआमा पुस्तौदेखि जमिनदारकोमा हलिया बसेका कारण सम्पत्ति जगेर्ना गर्न सकेनन्। गरिबी, त्यसैले पढ्न पाएनन्। उनका बाआमा जमिन्दारकोमा हलिया बसे त्यही काम गर्दैगर्दा जन्मेका नोखई पनि त्यही काम गर्दै हुर्के। घर थिएन हलिया काम गर्ने खाने बस्ने गर्दैगर्दा उनी विद्यालय जान पाएनन्। यसरी साहुकै काम गर्ने, साहुकै घरमा सुत्ने, लत्ताकपडा उसैले दिएको लगाउने यसरी नै दैनिकी विताए। जवान भए, विहे गरे। उनका परिवारमा श्रीमती, तीन छोरा र दुई छोरी छन्।

उनी अहिले रुपन्देही सैनामैना नगरपालिका मुर्गियामा आफ्नो परिवारसँग बस्दै आएका छन्। उनको पारिवारिक आर्थिक अवस्था निकै कमजोर छ। आफ्नो छोराछोरीलाई जेनतेन गरी पालनपोषण गरिरहेका छन्। उनी कुन कारण मानसिक रोगी बन्न पुगे त भन्ने प्रश्नमा उनी विगत सम्झिए-

वि.सं २०४८ सालमा छिमेकीको घरमा अचानक तीन तोला सुन चारी भएको र त्यो सुन छिमेकीले उनको दुई छोरालाई चोरेको भनि आरोप लगाई कुनै पनि खबर नगरी इलाका प्रहरी कार्यालय रन्यौरामा थुनिदियो। उनले छोराहरु घर किन आएनन् भनि दुई तीन दिनसम्म गाउँघरमा खोजतलासी गरिरहे। त्यतिका दिन पनि कतै भेटेनन्। केही दिन छिमेकीको मुखबाट छोराहरु थुनिएको खबर पाए। उनलाई छानाबाट खसेको आभाष भयो। उनको होस्हवास उड्यो। तुरुन्तै श्रीमतीलाई लिएर थाना गए। त्यहाँ पुलिसले छोराहरुलाई भेट्न दिएन। उनी साह्रै चिन्तित भए। उनका दुई छोरालाई थुनामा खाना नखुवाई शारीरिक यातना दिइएको खबर सुनेर नोखई मानसिक रुपले विचलित भए। उनको मनमा यी कुराले पीडा थपिदियो। कसरी हुन्छ छोराहरुलाई थुनाबाट निकाल्ने भन्ने छाप मन र मस्तिष्कमा बसेको थियो। अर्को प्रश्न पनि उठ्थ्यो उनको मनमा छोराहरुलाई विनाकसुर थुनामा राखी यातना दिइएको बारे। आपसी सल्लाह गरेको भए, हो होइन छरछिमेकमै समस्याको समाधान गर्नुपर्ने, अर्काको सन्तानलाई यसरी थाहा नदिई थुनामा नराखिनुपर्ने भन्ने कुरा उनको मनमा खेल्थ्यो र उनले थुनामा लैजाने धनाढ्य जमुना रानासँग पनि यो कुरा राखेका थिए तर त्यो कुरा तिरस्कार गरे। पैसावाल सोझासाझाला गरिबलाई हेप्ने बानी रानाको थियो। नोखईलाई मात्रै होइन त्यस वरिपरिका गरिबलाई पनि त्यसरी नै हेप्ने गरेको नोखईले बताए।

हरि थाना उनको दैनिकी बनेको थियो। दिनप्रतिदिन उनी तनावले ग्रस्त हुँदै गए। यतिसम्म कि उनलाई प्रहरीले पनि मानसिक तनाव दिन थाल्यो। उनको घरका आई खोजतलासी गर्ने, भान्सामा भएका दालचामल, डेहरीमा राखिएको चामल फ्यालिदिने, भित्र कोठामा गई ओछ्यान अस्तव्यस्त पारिदिने जस्ता अराजक काम गरेको यातना दिई जान्थ्यो। प्रहरीको अराजक ज्यादतीले गर्दा उनी अझ दिनप्रतिदिन पीडित हुँदै गए। समाजमा बाँच्न उनलाई मुश्किल हुन लाग्यो। त्यतिबेला उनी जीविकोपार्जनका लागि ट्रकमा ढुंगा बोक्ने काम गर्थे। त्यतिबेला महिनौं काममा गएनन्। सुन पत्ता नलागेपछि प्रहरीले गाउँलेहरुलाई पनि मानसिक यातना दिन थाल्यो।

गाउँलेहरुले सत्य कुरा नबोली दिँदा उल्टै लौराले पिट्ने, शारीरिक यातना दिने, मार्ने धम्की दिन्थ्यो। नोखई जीवन चिन्तामा वितिइरहेको थियो। छोराहरु थानामा भए पनि दैनिक गुजारा गर्नुपर्ने हुन्थ्यो। त्यसकारण उनी बिहान सबेर गाडीमा ढुंगा बोक्न जान्थे।

महिनौंसम्म प्रहरीको यातना, मानसिक तनाव, सामाजिक दुर्व्यवहारले उनी डिप्रेसनमन परे। छोराहरुलाई जसोतसो त निकाले तर आफैँ मानसिक रोगी भए। ४८ सालमै उनी डिप्रेसनमा परेका थिए। समयमा सुत्न नसक्ने, निद नलाग्ने, बरबराउने, नानाथरीको गालीगलौज गर्ने, हप्तौ महिनौँसम्म घरबाट बेपत्ता भइदिने। घरका जहानले खोजीरहने, हप्तौ बेपत्ता भएपनि घर फर्किने। त्यतिबेला दशैँको महोल थियो। दशैँमा दूर्गा लाग्ने हुनाले यस्तो भएको भन्ने गाँउमा चर्चा हुन थालयो। दैवी रोग हो, देवीदेउता लागेको भनि गाँउलेले धाँमी झाक्री लगाउनुपर्छ। गुरुवा बोलाउनुपर्छ। तपाईँहरुको कुलदेवता रिसाएर यस्तो भएको भनि गाँउका ठूलाबडाले भन्न थाले। सोही अनुसार नोखईकी श्रीमती लक्ष्मी कुमारीले आफ्नो मानिरहने झारफुकबाट निको हुन्छ कि भनि घरका कुलले मानिरहने गुरुवा बोलाइन्। गुरुवाले कुल देउता रिसाएको कारण यस्तो भएको हो नि निष्कर्ष निकाल्थ्यो। गुरुवालाई दारु, लोकल भाले, नुन, चामल,दाल, बेसार दिनुपर्ने हुन्थ्यो। हप्तापिच्छे गुरुवालाई बोलाईराख्दा पनि उनको स्वास्थ्य अवस्थामा कुनै सुधार आएन। उनको अवस्था झन् दिनप्रतिदिन नाजुक हुँदै गयो। उनको निद महिनौंसम्म हरायो। तैपनि उनको स्वास्थ्य अवस्थामा सुधार आउँला कि भनि उनकी श्रीमती दिनरात लागी पर्थिन्। झारफुकबाट निको होला कि भनि गुरुवा फेरिरहन्थे।  तर निको हुने छाँटकाट आएन।

गुरुवा बोलाउँदा पनि निद नलाग्ने, रातभर बरबराउने, अनावश्यक गाली गर्ने, श्रीमतीलाई देखिनसहने, परिवारलाई मानसिक पीडा दिने, हप्तौसम्म घरविहीन हुनेलगायतका समस्याहरु देखा पर्न थाले। यो समस्या महिनौंसम्म खेपिरहनु पर्यो उनलाई। उपचारका लागि गोरखपुर लगियो। अन्ततः उनलाई रुपन्देहीमा रहेको भैरहवा मेडिकल कलेजमा लागि उपचार गराउन थालियो। त्यहाँ उनलाई डिप्रेसनका कारण मानसिक रोग लागेको भनि डाक्टरले पत्ता लगायो। निद नलाग्ने कारण समस्या भनेपछि निदको औषधि साथसाथै अन्य औषधि पनि खान दिइयो।

अहिले पूरै निको नभए पनि त्यहाँको उपचारपछि उनी दैनिक खानापछि सुत्ने गर्छन्। सुरुका दिनमा पन्ध्र दिनमा चेकअपका लागि गइराख्ने उनी अहिले तीन महिनामा एकपटक औषधी थाप्न जान्छन्। सुरुका दिनमा औषधी उपचारका लागि निकै खर्च भयो। अवस्थाभन्दा बढी खर्च भएपनि उनको स्वास्थ्यमा सुधार आएको छ। अहिले उनले तीन महिनामा पाँच हजारका दरले औषधी खान्छन्।

मान्छेलाई आफू स्वास्थ्य भई बाँचिरहन त्यहाँको समाजका मान्छे पनि सकारात्मक सोँच हुनु आवश्यक पर्दो रहेछ। गरिब, सोझो छ भन्दैमा हेपाहा प्रवृत्ति देखाउनु हुँदैन। त्यसै पनि नेपाली समुदाय अहिले पनि पुरातन सोचमै छ। रुढीवादी परम्पराका कारणले पनि मानिसको स्वास्थ्यलाई अझ बिगारेको भन्न सकिन्छ।

अन्ततः नोखईको स्वास्थ्य अवस्था झारफुक गराएर नभई, मेडिकल उपचार पद्धतिबाट पुष्टि भएको उल्लेख गर्न सकिन्छ  अहिले उनी आफ्नो घरमा परिवारसँग सामान्य जीवन बिताईराखेका छन्।

Leave a Reply

Your email address will not be published.