विजयकान्त कर्ण।
केपी ओलीजीले चारबुँदे भारत सरकारलाई बुझाउनुभयो । हामी संविधान यसरी संशोधन गर्छौं भन्ने त्यही बुँदाहरु पछि क्याबिनेटबाट निर्णय गरेर मधेसी पार्टीहरुलाई पनि दिनुभो । हामी यो यो तरिकाले संविधान संशोधन गर्छौं र आन्दोलनरत दलहरुको मागलाई सम्वोधन गर्छौं । अहिले यसै गरी उल्टो बाटो हिँडेर जनताको आवाजलाई नसुन्ने हो भने हामीले आन्तरिक एकतालाई कसरी सुदृढ गर्छौं भन्ने प्रश्न गम्भीर छ ।
हामीले जुन संघीयता, समावेशिताका जुन कुराहरु गरेका छौं, तर यहाँ मधेसी जनता आन्तरिक उपनिवेशमा छन् । पहाडका शासकहरुबाट, २५० वर्षदेखि राजा र राणाहरुबाट र अहिले पार्टीहरुबाट त्यस्तो काम भइरहेको छ । त्यस्तो उपनिवेशबाट मक्ति खोजेको हो । यसलाई यसरी बुझियो भने शायद राम्रो होला । यदि उपनिवेशबाट मुक्ति दिइएन भने लिबरल फोर्सेजहरुलाई डेमोक्रेटिक तरिकाले अघि बढ्न दिइएन भने पृथकतावाद जन्मन्छ ।
डा. बाबुारम भट्टराईले ४० बुँदे माग लिएर सिंहदरबार जाँदाखेरिको घटना र त्यसपछि १० वर्षपछि फर्केर आउँदाखेरिको विषय सम्झाउन चाहन्छु । यो संविधान ‘जिरो सम गेम’ (शून्य परिणामको खेल) हुन सक्दैन । त्यसैले संविधानलाई मधेसी, आदिवासी जनजाति, दलित र महिलाहरुले पनि स्वीकार गरौं भन्नका लागि समानतालाई आधारभूत आधार बनाइएन भने यो संविधानलाई स्वीकार गर्ने अवस्था हुन सक्दैन ।
मधेसी जनतालाई केही व्यीक्तहरुले ४/५ जना मान्छे भन्छन् । ४/५ लाख पो मान्छेहरु ६/६ महिनासम्म सडकमा आएका हुन् । नेपाल इतिहासमा मधेसले गरेको आन्दोलनजस्तो आजसम्म भएकै छैन । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदाखेरि रत्नपार्कमा २/४ सय मान्छे, कार्यकर्ता जम्मा गरेर नेकपा एमाले र कांग्रेसको जुलुस मैले ममफुली आन्दोलन देखेकै हो । नेकपा माओवादी त्यो बेलामा आन्दोलनमा नआएको भए राजा ज्ञानेन्द्रले नै शासन गरिरहन्थे कि भन्ने मलाई लाग्छ । अर्काको आन्दोल न चाहिँ ४/५ जनाको, आफ्नो आन्दोलनचाहिँ धेरै ठूलो ? मैले ममफुली आन्दोलन महिनादिनसम्म चलेको देखेको छु । त्यसपछि राजाको शासनमा गएका पार्टीहरु पनि देखेको छु ।
टीकापुर घटनाको कुरो यहाँ चल्यो । टीकापुरमा म एउटा वक्ता थिएँ । म यहाँहरुलाई जानकारी गराउँछु, त्यहाँ कसैले पनि पहाडेहरुको घरमा आतंक गर, आक्रमण गरेर भनेका थिएनन् । त्यहाँ थारुहरु आफ्नो अधिकारका लागि जम्मा हुँदाखेरि शासकहरु साह्रै चिन्तित भएका थिए । र, त्यहाँ एउटा नाटक गरेर प्रहरीहरुको आफैंले हत्या गराए । आजको दिनमा २ हजार थारुहरु भारतमा गएर बस्नुुपरेको अवस्था छ । त्यहाँ प्रहरीमाथि हिंसा भयो भन्ने राजनीतिक दलहरुले आफैं ०४६ सालमा कालीमाटी र टेकुमा प्रहरीको हत्या गर्नेमाथि आजसम्म मुद्दा चलेकै छैन । ५७ जना थारुमाथि मुद्दा चलाउने, तर एमाले र कांग्रेसका नेताले कालीमाटी र टेकुमा प्रहरीको हत्या गर्दा मुद्दा किन नचलेको ?
लोकतन्त्रमा यदि लोकतान्त्रिक तरिकाले जनतालाई अधिकार दिनुभएन भने जनताले अर्कोबाटो लिन्छ । हत्या गर्ने खाली प्रहरीसँग मात्रै बन्दुक छ भन्ने होइन, बन्दुक बजारमा पनि पाइन्छ । मैले झिँगा मारें होला, मैले त्यस्तो काम गरेको छैन । म त्यसको समर्थक पनि होइन । तर, ती गर्नेहरुलाई रोक्न सक्ने म क्षमता पनि राख्दिनँ ।
नेताहरुले जनताको आन्दोलनलाई माखे आन्दोलन भन्ने, बिहार र युपी जाउ भन्ने, आफ्नै मान्छेलाई ४/५ जनाको आन्दोलन भन्ने र भर्खर नागरिकता लिएकाहरु भन्ने ?
बैरगनियाँ भन्दा २० किलोमिटर पश्चिममा जन्मेका माधव नेपाल कसरी नेपालका नागरिक भए ? भारतको बिहारमा जन्मेकाहरु, बिहारमा घर भएकाहरु, हिजोका दिनमा युपी बिहारमा रहेका मान्छेहरु यहाँ आएर आफूलाई यहाँको पुस्तौनी भन्ने ? यहाँका शासक भयौं भन्ने ? र, मधेसमा वर्षौंदेखि बसिरहेका मधेसीलाई चाहिँ विदेशी देख्ने ? यो चश्मा उतारिएन भने म एउटा कुरो यहाँहरुलाई बताइदिन्छु- मधेसी जनता अहिले जुन किसिमको अवस्थामा पुगिरहेका छन्, मधेसी जनताले माखे साङ्लो देख्नेहरुलाई जवाफ दिने हेक्का राख्छन् । त्यसैले समावेशी आधारमा संविधानको संशोधन गरेर मधेसीहरुलाई, जनजातिहरुलाई समान अधिकार नदिइकन चुनाव गरियो भने, बझियोस् ज्ञानेन्द्रले चुनाव गरेका थिए, वीरेन्द्रले चुनाव गरेका थिए । यस्ता चुनावहरु हामीले धेरै देखेका छौं । चुनाव गर्दै जानोस्, त्यसको परिणामका लागि तयार रहनुहोला ।
इन्द्रेणी फुडल्याण्डमा नयाँशक्ति पार्टीले आयोजना गरेको कार्यक्रममा बाेलेकाे विचार।