तिमी अपराधि होइनौं [कबिता]

सोम डेमनडौरा।

गरिबलालहरुको बस्तिमा
बच्चाहरु रमाउँछन् तृप्तले
भोंक छट्पटिन्छ
रोग र शोक टड्पिन्छ
परको अस्पताल हाँस्छ
आखिर मृत्यु मरेर जान्छ
र, पुनर्जन्मको जीत हुन्छ
त्यसैले, सरकार
तिमिले हत्या गरेको होइन
तिमी अपराधि होइनौं

लक्का जवान जोशहरु
चुरोटका धुवाँमा अल्मलिन्छन्
बोटलका घाँटिमा च्यापिन्छन्
पराग र गुट्खाका खोस्टामा चिप्लिन्छन्
ड्रग्स र ब्राउनसुगरको बिछौना बनाई
बेरोजगारिको बहाना बनाई
सुसाइड् नोटको दस्ताबेजिकरणमा
हस्ताक्षर गर्छन् खुसिले
यसर्थ, सरकार
तिमिले हत्या गरेको होइन
तिमी अपराधि हुनै सक्दैनौ

कान्छीको भट्टी पसलमा
हात्ती छाप पैसा छापिन्छ
निजि मेडिकलहरुमा
अमृतरस निकै सस्तोमा पाइन्छ
बैंक र साहुका घरमा
ऋणका भाका सुसेली हाल्छन्
र जीत हुन्छ समयको
हार हुन्छ घर, जग्गा र धरौटिको
शोक वक्तव्य मुस्कुराउँछ
त्यसैले, सरकार
तिमिले हत्या गरेको होइन
तिमी अपराधि हुनै सक्दैनौ

अधिकारहरु लडाई मैदानमा
बिरगती प्राप्त गरेका छन्
बिभेदहरु अंगालोमा बेरिएका छन्
असन्तुष्टिहरु बादल् सँगै बर्सेका छन्
र सिञ्चित् छ यो धर्ती रातो आँशुले
र फल्दै छन् बदलाहरु
फल्दै छन् काटमारहरु
त्यसैले, सरकार
तिमिले हत्या गरेकै होइनौ
तिमी अपराधि हुनै सक्दैनौ।

Leave a Reply

Your email address will not be published.