थारु विद्यार्थी समाजको कडा विज्ञप्ती, भरौटेहरुले विद्यार्थी फुटाएको आरोप

थारु विद्यार्थी समाजले हालै थारु कल्याणकारिणी सभाले गठन गरेको थारु विद्यार्थी सभाको कडा विरोध जनाएको छ। समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले विज्ञप्ती जारी गर्दै विद्यार्थीलाई कमजोर बनाउन र आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न रचिएको खेलको कडा भर्त्सना गरेका छन्। ‘थारु कल्याणकारिणी सभाका केही व्यक्तिहरुले निहित राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यका साथ थारु विद्यार्थी सभा गठन गरेको कार्यप्रति हामी खेद व्यक्त गर्दै घोर भर्तसना गर्न चाहन्छौं,’ विज्ञप्तीमा भनिएको छ।

सभाले गर्ने नै भइ विद्यार्थी सभा पहिल्यै गठन गर्नुपर्ने बताउँदै विज्ञप्तीमा माघी महोत्सवका लागि रचिएको खेल भएको आरोप पनि लगाएको छ। समाजले आफ्ना सबै शाखाका पदाधिकारीहरुलाई यस्ता स्वार्थ पूरा गर्नेहरुबाट सचेत रहन आग्रह गरेको छ। यतिमात्र हैन समाजले थाकसको आडमा आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न विद्यार्थी सभा गठन गरेको आरोप लगाएको छ।

‘देशभरिकै थारु विद्यार्थी सभा गठन गर्ने नाममा काठमाडौंको ट्रली बसस्थित कुनै राजनीतिक पार्टीको बन्द कोठामा बसेर आफ्ना आसेपासे भरौटेहरुलाई उचाल्दै संगठन निर्माण गर्ने कार्य थारु विद्यार्थी र समग्र थारु समाजकै लागि दुःखद एवं विड्म्बना हो। थारु विद्यार्थीहरुलाई माघीमा प्रयोग गर्ने कूनियतका साथ सभामा रहेका केही ब्यक्तिहरु थारु कल्याणकारिणी सभाको बुई चढेर राजनीतिक खेल्ने दाउमा लागेका छन् भन्ने घामजस्तै छर्लङ्ग छ। थाकसमा रहेका र आफूलाई थारुको मसिया सम्झनेहरु केही व्यक्तिहरुले थारु विद्यार्थीहरुलाई जोड्नुभन्दा पनि टुटाउँदै फुटाउँदै आफ्नो स्वार्थका लागि विद्यार्थीहरुलाई प्रयोग गर्न तल्लीन रहेका छन्,’ विज्ञप्तीमा भनिएको छ।

पूरा विज्ञप्ती पढ्नुस्:

थारु समुदायको महान राष्ट्रिय पर्व माघी नजिकिँदै गर्दा थारु कल्याणकारिणी सभाले हालै गठन गरेको थारु विद्यार्थी सभाको गठन कार्यप्रति थारु विद्यार्थी समाजको गम्भिर ध्यानाकर्षण भएको छ । सम्पूर्ण थारु विद्यार्थीहरुको एकमात्र गौरवशाली राष्ट्रिय छाता संगठन थारु विद्यार्थी समाजको ओजपूर्ण गरिमालाई धमिल्याउँदै कमजोर पार्ने सुनियोजित योजनाका साथ समाजकै केही केन्द्रीय पदाधिकाहरुलाई प्रयोग गर्दै थारु कल्याणकारिणी सभाका केही व्यक्तिहरुले निहित राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यका साथ थारु विद्यार्थी सभा गठन गरेको कार्यप्रति हामी खेद व्यक्त गर्दै घोर भर्तसना गर्न चाहन्छौं।

थारु विद्यार्थीहरुको शैक्षिक हकहित, उत्थान तथा समग्र थारु समुदायको बृहत्तर हितका निमित्त ऐतिहासिक थरुहट आन्दोलनको नेतृत्वसमेत गर्दै  दशकभन्दा लामो संघर्षको यात्रा पार गरिसकेको समाजको समानान्तर झलक दिने गरी बनाइएको थारु विद्यार्थी सभा गठन गर्नुको था. क. स. को एउटै उद्देश्य हो विद्यार्थीहरुलाई फुटाउँदै कमजोर बनाई प्रयोग गर्ने षड्यन्त्र मात्रै हो भन्ने समाजको धारणा रहेको छ। यदि थारु विद्यार्थीहरुको हकहितका निमित्त था. क. स. साँच्चिकै संवेदनशील भइदिएको भए आफ्नो राष्ट्रिय महाधिवेशन समापनसँगै विद्यार्थीको सबालमा संगठन निर्माण तथा कार्य योजना बनाई अघि बढ्न सक्थ्यो तर राष्ट्रिय पर्व माघीको नेतृत्व थारु विद्यार्थी समाजले गर्न थालेपछि आरिसले मुरमुिरँदै प्रतिशोधका आधारमा नाम मात्रको सभा गठन गर्नुको कुनै औचित्य तथा तुक छैन।

देशभरिकै थारु विद्यार्थी सभा गठन गर्ने नाममा काठमाडौंको ट्रली बसस्थित कुनै राजनीतिक पार्टीको बन्द कोठामा बसेर आफ्ना आसेपासे भरौटेहरुलाई उचाल्दै संगठन निर्माण गर्ने कार्य थारु विद्यार्थी र समग्र थारु समाजकै लागि दुःखद एवं विड्म्बना हो। थारु विद्यार्थीहरुलाई माघीमा प्रयोग गर्ने कूनियतका साथ सभामा रहेका केही ब्यक्तिहरु थारु कल्याणकारिणी सभाको बुई चढेर राजनीतिक खेल्ने दाउमा लागेका छन् भन्ने घामजस्तै छर्लङ्ग छ । था. क. स. मा रहेका र आफूलाई थारुको मसिया सम्झनेहरु केही व्यक्तिहरुले थारु विद्यार्थीहरुलाई जोड्नुभन्दा पनि टुटाउँदै फुटाउँदै आफ्नो स्वार्थका लागि विद्यार्थीहरुलाई प्रयोग गर्न तल्लीन रहेका छन् । यसप्रति सम्पूर्ण थारु विद्यार्थी समाजका उपत्यका लगायत २२ जिल्लाका विद्यार्थी साथीहरुलाई सजग एवम् सचेत रहन अनुरोध गर्दछौं।

अन्त्यमा उनीहरुको भँडुवा नीति र सुनियोजित योजनाप्रति सदैव सचेत रहँदै गलत हर्कतको विरोध एवं प्रतिरोध गर्दै थारु विद्यार्थी समाजले महाधिवेशनबाट लिएको कार्यदिशातर्फ बिचलित नभई थरुहट आन्दोलनको माग मुद्दालाई पूरा गराउनको लागि एकदमै सक्रिय एवं सशक्त भई निरन्तर लागि पर्न यसै प्रेस विज्ञप्ति मार्फत हार्दिक आह्वान गर्दछौं ।

चन्द्र प्रसाद चौधरी

अध्यक्ष, थारु विद्यार्थी समाज

केन्द्रीय कार्य समिति, काठमाडौं

 

Leave a Reply

Your email address will not be published.