सीताराम चौधरी।
किशोर चौधरीले थारुवान डटकममा माघीको नाममा थारु समुदाय फुटुदै शीर्षकको लेख पढ्न पाइयो । थारु समुदायमा फुट हुनुहुँदैन भन्ने उहाँको चिन्ता चासोप्रति म सहमत छु तर लेखक पत्रकार महोदयले थारु कल्याणकारिणी सभालाई पृष्ठपोषण गर्दै थारु विद्यार्थी समाजप्रति पूर्वाग्रही ढंगबाट लेखेको लेख पढ्दा मेरो मनले उनको विचारप्रति पटक्कै सहमति जनाउन सकेन। यसर्थ टिप्पणी लेख्न बाध्य भए।
१) पहिलो कुरा थारु माघीको कारणले फुट भएको कुराप्रति म कदापि सहमत छैन। यसको ‘हिडन कज’ (भित्रि कारण) खोज्न जरुरी छ। थाकस उपत्यकाप्रति युवाहरुको विश्वासनीयता किन कम भयो? उपत्यकाको नेतृत्वप्रति युवाहरुले किन विश्वास हुन सकिरहेका छैन वा आत्मसाथ गर्न किन सकिरहेका छैनन्? यसको कारकतत्व गहनरुपमा खुट्याउनुपर्छ। तपाईँको सतही लेख चिया गफजस्तै मात्र छ। थाकस उपत्यकाको नेतृत्वको एकाधिकार, कार्यशैली गलत प्रवृतिले पटकपटक आजित भएका युवा विद्यार्थीहरु उपत्यकाको नेतृत्वलाई स्वीकार्न नसकी केन्द्रको संयोजनमात्र स्वीकार गरी माघी महोत्सव मनाउन तयार रहेका छन्। समस्या सुल्झाउन थाकस केन्द्र किन चुपचाप बसेको छ? यसप्रति उजागर गर्दा राम्रो हुने थियो।
२) थारु माघी महोत्सव काठमाडौंमा मनाएको १२ वर्ष इतिहास भनि तोडमोड नगर्नुस्। तपाईँलाई जानकारी छैन भने गणना गर्नुहोस् २०५९ सालबाट काठमाडौँमा राष्ट्रव्यापी मनाउँदै आएको थारु राष्ट्रिय माघी महोत्सव आज १४ वर्ष पूरा भइसकेको छ।
३) थारु माघी महोत्सव केवल थारु कल्याणकारिणी सभाको पहिलेदेखि एक्कलै गर्दै आएको जस्तो बनावटी विचार लेख्नुभएको छ। यहाँलाई जानकारी नहुन सक्छ प्रत्येक वर्ष हुने माघी महोत्सव थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज, बर्दियाली थारु विकास मञ्च, थारु महिला समाजसहित काठमाडौंमा रहेका थारु संघ संस्थाको संयुक्त पहलमा मूल आयोजक समित गठन भई मनाउँदै आएका छौं। यसर्थ थारु कल्याणकारिणीको आयोजनामा मात्रै उल्लेख गर्दा अरु संघ संस्थाप्रति अवमूल्यन र अपमान हुन जान्छ पत्रकार महोदय इतिहास नबिर्सिनुस्।
४) थारु समुदायलाई छिन्न भिन्न पार्दै गएको, हुँदै नभएको संस्था राजनीतिक गर्न खोजेको आदि इत्यादि मनगढन्ते कारण देखाउँदै थारु विाद्यार्थी समाजललाई निराधार आरोप लगाउनुभएको छ। तपाईँको धारणाप्रति हाम्रो गम्भिर आपत्ति व्यक्त गर्दै खण्डन गर्न चाहन्छौं। थाविस र थाकस फरक फरक सवतन्त्र संस्था हुन्। यिनीहरुको आ–आफ्नै विधि विधान निवमावली छन्। तपाईँलाई हेक्का होस् सम्पूर्ण थारु विद्यार्थीहरुको राष्ट्रिय साझा संगठन थारु विद्यार्थी समाज हो। समाजको विधिवतरुपमा ६ वटा महाधिवेशन भव्यरुपमा सम्पन्न भई राष्ट्रियरुपमा रहेको एक सक्रिय एवं सशक्त संगठन हो। यसको प्राविधिक पाटोमा केही कमि कमजोरी छन् त्यो हामी स्वीकार्न चाहन्छौं तर जसरी हुँदै नभएको संस्था भनेर पत्रकारजस्तो व्यक्तिले पूर्वाग्रही भएर लेख्दा अन्याय हुन्छ। थाविसको दुई दशकभन्दा लामो संघर्षरुपी यात्रा सिंहालोकन गर्नुस्। थारु समुदायको समग्र अधिकार, आत्मसम्मान, पहिचान, न्याय र अधिकारका लागि निरन्तर संघर्ष गरिरहेको घामजस्तै छ। २०६५-०६६ सालमा भएको ऐतिहासिक थरुहट आन्दोलनमा पहिलो शहीद विद्यार्थी कमल चौधरीलाई जन्माउँदै आन्दोलनको नेतृत्व गरिरहेको संस्थाको भूमिका र योगदान देख्न नसक्नु तपाईँजस्तो पत्रकार महोदयको आँखामा पूर्वागह्री चस्मा र हातमा कलम छ भन्ने स्पष्ट हुन्छ।
५) अन्त्यमा माघी महोत्सव एकै ठाउँमा हुनुपर्छ फुट्नु हुँदैन भन्ने हाम्रो पनि मान्तया छ। यसका लागि थाकस उपत्यकाको मात्रै होइन सबै थारु संघ संस्थालाई समेटेर सबैको अपनत्व महसुस हुनेगरी, समुचित जिम्मेवारी बाँडफाँट गर्दै भव्यरुपमा मनाउनुपर्छ। यसका लागि अहिलेको समस्याको समाधान गर्न र संयोजन गर्न थारु कल्याणकारिणी सभा उपत्यकालाई अघि सरोर होइन स्वयं केन्द्रीय समिति नै नयाँ शिराबाट अगाडि बढ्नुपर्छ। यसैमा सबैको भलाई हुन्छ।
लेखक थारु विद्यार्थी समाजका कोषाध्यक्ष हुन्।