टीकापुरमा सुरु भयो देशावर

टीकापुर- दुर्गौली, जगतपुरका लालवीर चौधरी देशावर जान थालेको ४२ वर्ष भयो। उनी २० वर्षको उमेरदेखि नियमित देशावर गइरहेका छन्। यस वर्ष पनि उनी जमरा कुलो सिँचाइ प्रणाली अध्यक्षको हैसियतले देशावरमा सहभागी छन्। उनी देशावर जानुलाई कैलालीको पूर्वी भेगका बासिन्दाको परम्परा मान्छन्।
‘यस क्षेत्रका किसानको परम्परा नै हो,’ उनले भने, ‘हामीले परम्परालाई निरन्तरता दिँदै आएका छौं।’ यस वर्ष पनि १० हजारभन्दा बढी किसान कर्णाली नदी किनारमा देशावरमा जुटेका छन्। उनीहरुले करिब एक महिना कर्णाली नदी किनारमा बिताउने छन्।
देशावर जानेमा टीकापुर र लम्की, चुहा नगरपालिकाका साथै पथरैया, दुर्गौली, मुनुवा, धनसिंहपुर, नारायणपुर, जानकीनगर र प्रतापपुर गाविसका बासिन्दा छन्।
कर्णाली नदीबाट कुलो खनेर पानी ल्याउने काममा सहभागी हुनुलाई स्थानीय भाषामा देशावर भनिन्छ। २०५६ सालअघि सम्बन्धित गाउँका बडघरको नेतृत्वमा देशावर जाने चलन थियो। त्यसयता रानी, जमरा र कुलरिया गरी तीनवटा कुला प्रणालीका छुट्टाछुट्टै समिति गठन गरेर देशावर जाने गरिन्छ।
‘पहिले चौधरी प्रथाले देशावर चलाउँथ्यो,’ चौधरीले भने, ‘सबैलाई समेट्नका लागि पछि कुला प्रणाली गठन गर्र्यौं ।’
तीनवटा कुला प्रणालीको एउटा छाता समिति छ। जसलाई मूल कुला समिति भनिन्छ। मूल कुला समितिको काम देशावरलाई व्यवस्थित गर्नु हो। यसका अलावा मूल कुला समितिले तीनवटै कुला समितिका समस्यालाई समेत सम्बोधन गर्छ।
किसानहरु गत वर्ष पुसमा देशावर गएका थिए। कुलो खन्ने कार्य हरेक वर्ष महिना दिनभन्दा बढी समयसम्म जारी रहन्छ। त्यहाँका रानी, जमरा र कुलरिया नदीमा सहज रुपमा पानी नआउँदासम्म किसानहरु कुलो खन्ने कार्यमा व्यस्त रहन्छन्। कुलो खनेर नसक्दासम्म किसान घर फर्किंदैनन्। उनीहरु जंगलमा रुखमुनि रात बिताउँछन्। घरबाट बोकेर लगेको खानेकुराका भरमा किसानको महिना दिन बित्छ।
कुलो खन्न नगए प्रत्येक दिन ३ सय रुपैयाँका दरले जरिवाना तिर्नुपर्ने नियम छ। जरिवाना तिर्नुपर्ने भएपछि प्रत्येक घरबाट एकजना अनिवार्य देशावर जाने गर्छन्। देशावरमा पुरुषमात्रै हैन महिलाको सहभागिता पनि उत्तिकै छ। देशावरमा सहभागी महिलालाई खाना पकाउने र पानी बोक्ने जस्ता सहज रुपमा गर्न सकिने काममा लगाउने गरेको पाइन्छ।
अन्य पुरुष किसानले भने आफ्नो गाउँको भागमा परेको क्षेत्रसम्मको कुलो सबै मिलेर खन्नुपर्ने हुन्छ। हरेक गाउँका बडघरले आफ्नो गाउँका लागि क्षेत्र निर्धारण गर्ने गर्छन्। जसलाई स्थानीय भाषामा नान दिने भनिन्छ। सामूहिक रुपमा कुलो खने पनि एउटा गाउँको भागमा परेको नान अर्को गाउँका बासिन्दाले खनेर सहयोग भने गर्दैनन्।
‘बडघरले तोकेको नान हामीले जसरी पनि खनेर सक्नैपर्छ,’ जानकीनगरका सीताराम चौधरीले भने, ‘एकले अर्कोलाई सहयोग गर्दैनन्।’
देशावरको सबै व्यवस्थापन किसान आफैंले गर्नुपर्ने हुन्छ। तर देशावर जाने कुराको निर्क्यौल भने मूल कुला समितिले गर्ने गर्छ। मूल कुला समितिको निर्देशनमा बडघरले किसानलाई देशावर जाने मिति तोक्छन्।
बर्खामा कर्णालीमा आएको बाढीले कुला पुर्छ। जस कारण हिउँदयाममा किसानका खेतमा पानी पुग्दैन। पानी खेतमा नपुगेपछि किसान सिँचाइबाट वञ्चित हुने गरेका छन्। उनीहरु सिँचाइका लागि पानी ल्याउन भन्दै देशावर जान्छन्। ‘अहिले खनेको कुलोमा आउने पानीले किसानलाई फागुनमा खेत सिँचाइ गर्न मिल्छ,’ मूल कुला समितिका उपाध्यक्ष दामोदर खड्काले भने, ‘देशावर नजाने हो भने सिँचाइको विकल्प हुँदैन।’
देशावर जाने चलन धेरै पुरानो भए पनि यतिधेरै संख्यामा किसानले मेहनत गर्नुपरेको २०४० सालपछि हो। चौधरीका अनुसार ०४० सालमा कुलो खन्न चार महिना लागेको थियो। अहिले पनि किसानले झन्डै २० किलोमिटर कुलो खन्दै आएका छन्। देशावर जाने कुरालाई यस भेगका मानिसले सामूहिक कार्यका रुपमा लिने गर्छन्। देशावरमा थारु र पहाडिया दुवै समुदायका मानिसको उत्तिकै सहभागीता रहने गर्छ।
तत्कालीन सरकारले २०४४ सालमा चितवनमा आयोजना गरेको बृहत गोष्ठीमा देशावर जाने कार्यलाई एसियाकै सबैभन्दा ठूलो जनश्रमदान भनेर परिभाषित गरेको छ।
यी तीनवटा कुलाको इतिहास सय वर्ष पुरानो छ। विक्रम सम्बत १९५३ मा रानी पदमकुमारी शाहले रानी कुलो खन्न लगाएकी थिइन। रानीले खन्न लगाएकै कारण कुलाको नाम रानी कुलो राखिएको बूढापाका बताउँछन्। त्यस्तै उनीहरुकै भनाइ अनुसार जमरा कुलो विक्रम सम्बत १९६० मा ढुण्डीराज शाही र कुलरिया कुलो विक्रम सम्बत १९७२ मा मधु र कन्हैया महतोले खन्न लगाएका थिए। यी तीनवटा कुलाको पानीले करिब १४ हजार हेक्टर भूभाग सिँचत हुन्छ।
परम्परागत रुपमा रहेका यी तीन कुलालाई मध्यनजर गरेर सरकारले सिँचाइ आयोजना निर्माण गरिरहेको छ। २०६६ सालदेखि निर्माणको प्रक्रिया सुरु भएको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले जिल्लाको ४४ हजार हेक्टर भूभाग सिँचत गर्ने लक्ष्य छ।

योगेश रावल/नागरिक दैनिक

Leave a Reply

Your email address will not be published.