उन्नती चौधरी।
देश संघीयतामा गएको एक वर्ष पुरा भैसक्यो। नेपालको नयाँ संविधान सबै जाती, वर्ग, समुदायलाई सम्बोधन हुने गरी जारी गरिएको भन्दै बाहिर उत्कृष्ट भएको प्रचार गरिंदैछ। नेपालकै दाजु भाई भने आफ्नो पहिचानको खोजी गर्दै संविधान घोषणा गरेको दिनलाई उत्सव मनाउनुको सत्ता कालो दिनको रुपमा मनाउन बाध्य छन्। पहिचानको खोजी गर्दा गर्दै टीकापुरमा दुःखद घटना घट्यो। घटना घटेको १४ महिनासम्म आईपुग्दानि टीकापुरबासीहरुको मनमा शान्ती छाएको देखिँदैन।
यदि साँच्चिकै नेपालको संविधान अन्तराष्ट्रिय जगतमा प्रचार प्रसार भएको जस्तो छ भने किन नेपाली नेपाली बिच टुटफुट हुदैछ? आफ्नै देशमा जन्मेर पनि कुनै समुदाय किन पराए भएको महसुश गर्र्न बाध्य हुदैछन्? किन तल्लो र उपल्लो जात भन्दै विभाजन हुदैछ? किन अरु समुदायको संस्कृति माथि धावा बोलिदैछ? यी यावत प्रश्नको जवाफदेही को हुने? यस्ता प्रश्नहरुको जवाफको खोजीमा सडकमा भौतारीनेहरुको संख्यामा पनि सायद कमी नहोला।
सयौं वर्ष अगाडीदेखि एउटा समुदायले अर्को समुदाय माथि दमन गर्दा गर्दै उनीहरुको पहिचान नै सखाप पार्ने गरी बेला बखत इमोश्नल बल्याकमेल गरेर नेपाली राजनेताहरु ललिपप चुसाईरहेका छन्। ललिपप चुस्नेलाई के थाहा कि ललिपपमा कति केमिकलहरु मिसाइएको छ भनेर।
हो म त्यही थारुहरुको कुरा गर्दै छु। जो रात दिन आफ्नो पसिना चुहाएर जंगलको जीबजन्तुसंग भलाकुसारी गर्दै मानब बस्ती बसाए। जो घाम, पानी, तातो, चिसोको बेवास्ता गर्दै रातदिन लामखुट्टेको शिकार बनेर मलेरियाबाट लड्ने हिम्मत कस्दै आफ्नो खेतबारी हरीयाली बनाए। म त्यही थारुहरुको कुरा गर्दै छु जो आफ्नै सीप, कलाको प्रयोगले जीवन जीउने प्रयत्न गरे। तर विडम्ना भन्नु पर्दछ। आज त्यही थारु आफ्नै हरीयाली बनाएको जमिन र खेतबारीको सिमाना खाज्नु पर्ने अवस्था आएको छ।
विगतमा थारु समुदाय जंगली जनावरसंग भलाकुसारी गरी आफ्नो ईतिहासको पानालाई रंगिन बनाए। आफ्नो धर्म, सांस्कृति, भाषा, सीपकला आदिको पहिचान बनाए पनि राज्यले कुनै खालको बढावा दिन सकेन। बरु दिन प्रति दिन कुनै न कुनै नाममा हस्तक्षेप गरिरह्यो। पछिल्लो अवस्थामा थारु समुदाय सपांग भएर पनि अपांगता भएको महसुश गर्दैछ। उ आफू थारु हुनुमा गर्व त गर्छ। तर किन गर्व गर्दैछ भन्ने प्रश्नको जवाफ पाउने उसलाई गार्हो भैरहेकोछ। आज थारुबाट उसकै हातबाट बनेको उब्जाउ जमिन खोसिएको छ। आफ्नै समुदायमा जन्मेर बुद्ध बनेका गौतम बुद्ध खोसिएका छन्। थारु समुदायको धर्ममा हस्तक्षेप भएको छ। संस्कृतिमा हस्तक्षेप हँुदैछ, खानपीन, भाषा, कला रितिरिवाज सबैमा हस्तक्षेप भईरहेको उनीहरु महसुश गर्दैछन् र पनि थारु हुनुमा गर्व गर्न छोडेका छैनन्।
बुद्ध धर्म र थारुहरुको ऐतिहासिक सम्बन्धमा विद्यावारिधि गरेका डा. गोपाल दहितले थेसिस लेख्ने क्रममा थारु समुदायले मनाउदै आएको धर्ममा कसरी हस्तक्षेप भयो भनि ईतिहासको खोजी गर्दा बडा रमाईलो तथ्य फेलापारेको बताउँछन्।
थारु समुदायमा पछिल्लो पुस्ताका पुर्खाहरुमा पनि कन्फ्युजन भएको कुरालाई आफ्नो अध्ययनमा डा. दहितले प्रस्ट्याएका छन्। उनको अध्ययनमा गौतम बुद्ध थारु समुदायको सन्तान भनि देखिएको छ। किनकी १००औं वर्ष अगाडी गौतम बुद्ध थारु समुदायमा जन्मेका थिए। गौतम बुद्ध विवाह पछि एक छोरा पनि जन्माए र उनी तपस्या गर्दा गर्दै शान्तीको बाटोमा हिड्न थाले। त्यतिबेला गौतम बुद्धले हजारौंको संख्यामा आफ्नो समर्थकहरु बनाए। गौतम बुद्ध जन्मेको ठाँउ कपिल बस्तुमा पटक पटक आन्दोलन भयो र चौथो पटकको आन्दोलनमा थारु समुदाय भित्रका कोलिय र शाक्य थर भएका थारु टार्गेटमा परे। उनीहरु आफ्नो थर जोगाउनको लागि कपिलबस्तु छोडेर काठमाडौं बसाई सराई गरी आफ्नो थर पनि परिवर्तन गरे। विस्तारै विस्तारै उक्त थर विलाएर गएको तथ्यहरु डा. दहितले आफ्नो थेसिसमा प्रस्ट्याएका छन्।
उति बेला थारु समुदाय सबै बौद्ध धर्मलाई मान्ने गर्थे। माटोको गुम्बा बनाएर देवथनुवा अर्थात नेपालीमा भन्नु पर्दा मन्दिर बनाएर पुजा गर्थे। तर १००औं वर्ष अगाडीको आन्दोलनले त्यो सबै ध्वस्त पार्यो र विस्तारै विस्तारै थारुहरुमा पनि व्यक्तिगत स्वतन्त्रता आयो। राज्यले, हिन्दू धर्माबलम्बीहरुले उनीहरुलाई हिन्दू बन्न दबाब दियो। ब्यक्तिगत स्वतन्त्रताले अहिले हिन्दु धर्म मात्रै होइन, कोही क्रिश्चियन, कोही मुश्लिम धर्म पनि मान्न थाले। पछिल्लो पुस्ताका थारुहरुलाई झन थारु समुदायको धार्मिक ईतिहासको बारेमा समेत जानकारी हुन नसक्ने अवस्था आएको छ।
थारु समुदायको धर्ममा मात्र हस्तक्षेप भएको होईन। हरेक कुरामा हस्तक्षेप हुदैछ। थारु समुदायको जीवन जीउने कला हलो थियो। उनीहरु खेतीलाई बाँच्ने आधार बनाएर रातदिन कृषिमा मेहनत गर्थे तर किसानहरु धान गहुँको मूल्यनिर्धारण गर्न कहिलै पाएन्न। राज्यले जहिले पनि थारु किसानहरुलाई नजानिदो पाराले भूल्याई राखे र आफ्नो अनुकुलता अनुसार धान गहुँको मूल्यनिर्धारण गर्दै आए। किसानहरु आफ्नो परिश्रमबाट उत्पादन गरेको सामानको मूल्यनिर्धारण गर्न नपाएपछि त्यो जमिनको मूल्य नै देख्न छोडे र आफूसंग भएको जमिन पनि विस्तारै बेच्दै गए।
राज्यले थारुहरुको सम्पत्ति, संस्कार, परम्परामा समेत ढाबा बोलेको छ। यति बेला राजनीतिक दल, स्थानीय चुनावको लागि व्यापक तयारी गरिरहेको अवस्था छ। संबिधान अनुरुप नेपाल र नेपाली चलेका छन्। थारु यसको अपबाद हुन सक्तैन। तर थारु समुदाय आफ्नो प्रथाजनित कानुन अनुसार पनि काम गरिरहेको कुरा धेरैलाई थाहै होला। समुदायले देशको कानुन र आफ्नो प्रथाजनित कानुनलाई आत्मसात गर्दै साना तिना सवालहरुको सहजीकरण, सडक, पुलपुलेसा मर्मतको कार्य आफैं पनि गर्दछ। सो कार्यकालागि हरेक गाउँमा भल्मन्सा छनौट गरी गाँउभरीका मान्छे मिलेर कानुनी नीति नियम बनाएका हुन्छन्। गाँउलेले बनाएको नियमलाई भल्मन्साको निर्देशन अनुसार सबैले मान्नुपर्ने हुन्छ। तर नगरपालिकाले यति बेला थारु गाउँहरुमा टोल बनाई टोल समिति गठन गरेको छ र गरिरहेको छ। त्यसको संयोजक छनौट पनि गर्दैछ। तर यो समिति अन्तर्गत भलमन्सा चल्ने अबस्था देखिंदैन। यसले थारु समुदायको भलमन्सा प्रणालीलाई संकटमा पारिरहेको छ। नगरपालिकाको यो नीति भल्मन्सा प्रथालाई अन्त्य गर्ने कुचेष्टा लिएरआफ्नोकार्य अगाडी बढाएको देखिन्छ।
थारु समुदाय तराईको भुमि पुत्र हुन् भनि मलेरिया रोगले राम्रैसंग प्रस्ट्याएको छ। डा. दहितको अध्ययन अनुसार ३ हजार वर्ष सम्म तराईमा बसोबास गर्नेलाई मलेरियाले आक्रमण गर्न सक्तैन। उनको अध्ययन अनुसार थारु ३ हजार वर्ष भन्दा धेरै पहिलेदेखि नै तराईमा बसोबास गर्दै आईरहेका छन्। फलस्वरुप उनीहरु मलेरियालाई पचाउन सकेका हुन्। पछिल्लो चरणमा थारुसमुदायलाई मात्र लाग्ने रोग सिकलसेल एनिमियाले पनि थारु तराईको धर्तिपुत्र हुन् भनी प्रमाणित गरेकोे छ।
थारु समुदाय आफ्नो धर्म, कला, भाषा संस्कृतिको संरक्षणको लागि होम स्टे सञ्चालनगरि नमुनाको रुपमा स्थापनागर्दै आईरहेका छन्। होमस्टेले मात्रै थारु समुदायको संस्कृति, कला, भाषा, खानपीन परिकारमा शुद्धता ल्याउन सक्दैन। त्यो प्रयास मात्र हो। त्यसैले हरेक थारु जागरुक हुनै पर्छ। आफ्नो ईतिहास जोगाउनको लागि हरेक थारुमा थारुपना हुन जरुरी छ। होईन भने हामी थारु हाम्रो पहिचान खोज्दै जान्छौ तर हाम्रो पहिचान भने नजानिदो पाराले सखाप भईसकेको हुन्छ। अनि हामी हाम्रो पहिचान खोई भनेर जती नारा लगाए पनि त्यो नाराको कुनै औचित्य नै हुदैन।