पाँच थारु साहित्यकार सम्मानित हुने

जंग्रार साहित्यिक बखेरीको पाँचौ वार्षिक उत्सवमा पाँच जना साहित्यकार सम्मानित हुने भएका छन् । सोही अवसरमा साहित्य र गीत विधामा महत्वपूर्ण योगदान गरेबापत ३ जना स्रष्टाहरु पुरस्कृत हुने भएका छन्। जंग्रार साहित्यिक बखेरीको आगामी पुस महिनाको १ र २ गते बर्दियाको राजापुर नगरपालिका ४, बालाबजारमा हुन गइरहेको भब्य समारोहबीच ती साहित्यिक ब्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गरिने बखेरीका अध्यक्ष सोम डेमनडौराले जानकारी गराएका छन्। जंग्रार साहित्यिक बखेरीको अभियानलाई सशक्त बनाउन महत्वपूर्ण योगदान गर्ने ब्यक्तिहरुलाई प्रशंसा पत्र दिनेसमेत घोषणा गरिएको छ ।

सम्मानित हुनेहरुमा वरिष्ठ साहित्यकार कृष्णराज सर्बहारी, लेखक तथा कवि सुशील चौधरी, जंग्रार साहित्यिक बखेरीका रेडियो उत्पादक तथा सञ्चालक सेभेन्द्र कुसुम्या, जीवनका बक्र रेखाहरुको लेखिका बालिका चौधरी र नव गायक तथा गजलकार दर्पण कुसुम्या छन् । कृष्णराज सर्बहारीले बिगत लामो समयदेखि साहित्यिक क्षेत्र बिशेषतः थारु साहित्यको विकास र संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनले जंग्रार साहित्यिक बखेरीद्धारा प्रकाशित पुस्तकको सम्पादन, सल्लाहकारको जिम्मेवारीसमेत सम्हाल्दै आउका छन् ।

सुशील चौधरी जंग्रार साहित्यिक बखेरीका संस्थापक संरक्षक हुनुका साथै विभिन्न अभियानलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनी बिरहुल बस्ती नामक थारु र नेपाली भाषाको कबिता संग्रह समेत प्रकाशन गरि सकेका छन् ।

यसैगरी हसुलिया ८, कैलालीका गजलकार सेभेन्द्र कुसुम्याले अनवरतरुपमा २०७१ चैत्र देखि जंग्रार साहित्यिक बखेरीको ल्वाह्रल मन कार्यक्रमको उत्पादन गरि देशभरका विभिन्न १७ वटा एफएम, दुई वटा अनलाइनमार्फत प्रसारण गराइरहेका छन् ।

बालिका चौधरी हालसालैमात्र जीवनका बक्र रेखाहरु पुस्तक लेखेकि छन् । दर्पण कुसुम्याले थारु भाषाका गिती एल्बम बजारमा ल्याएका छन् । उनीमार्फत हालसालै हिरडा र पुन्वासिक ओजरिया २ वटा गीती एल्बममा स्वर दिएका छन् । जसमध्ये धेरै जसो गजल रहेका छन् । सो दुई वटा गीती एल्बम र जीवनका बक्र रेखाहरुको पुस्तकका लागि समाजसेबी मोहन चौधरीले प्रत्येकलाई दश दश हजार रुपैया पुरस्कार स्वरुप प्रदान गर्ने भएका छन् ।

जंग्रार साहित्यिक बखेरीले गर्न लागेको आफ्नो ५औं वार्षिक उत्सवको अवसरमा गुर्बाबा र गुर्बाबक जल्मौटी को बारेमा समेत प्रस्तूति रहनेछ । कार्यक्रममा बहुभाषिक साहित्यबाचन, पुस्तक प्रदर्शनी, थारु साँस्कृतिक झाँकी, थारु गायकहरुको बेजोड प्रस्तूति रहने आयोजक संस्थाले जनाएको छ ।

जंग्रार साहित्यिक बखेरीले पाँच वर्षको दौरानमा डिउल गजल संग्रह, जेउनास गजल संग्रह, पस्नक पन्ह्वा गजल संग्रह, मैयक पहुँरा गजल संग्रह र जीवनका बक्र रेखाहरु र गिती एल्बमहरुमा हिरडा र पुन्वासिक ओजरिया प्रकाशन गरि सकेको छ । सो कार्यक्रमबीच खबेरीद्धारा प्रकाशित हल्कोरा नामक मुक्तक संग्रह र ठाकुर अकेलाद्धारा लिखित छाँही गजल संग्रह बिमोचनसमेत रहनेछ ।

थारु साहित्यका लागि पहिलो पटक यसखाले वार्षिकोत्सवकोरुपमा आयोजना गर्न लागेको साहित्यिक पर्वको प्रमुख अतिथिका बारेमा भने छलफल भइरहेको बखेरीका अध्यक्ष डेमनडौराले जानकारी गराए।

Leave a Reply

Your email address will not be published.