धानको बीउमै ठगिएपछि किसानहरु मर्कामा

कारी महतो/खैरहनी

बढी उत्पादन लिनका लागि स्थानीय कृषि सहकारी संस्थाबाट धानको बीउ ल्याएर लगाएको धानबालीबाट उत्पादन नभएपछि खैरहनी नगरपालिका वडा नं. १ का कृषकहरु आफूहरु ठगिएको महशुस गरेका छन् । खैरहनी नगरपालिका स्थित थारु कृषक कल्याण समूहका सचिव हरिकुमार चौधरीले ज्यामिरे कृषि सहकारी संस्थाबाट धानको बीउ ल्याएर ८ कट्ठा खेतमा धान लगाएका थिए । तर घरकै बीउ रोपेका अन्य छिमेकीहरुले धानको उत्पादन लिईसकेपनि उनको धान अझै निस्किएकै छैन । त्यस्तै सोहि गाउँका बनहरि चौधरीको पनि त्यस्तै हालत छ । उनले ५ कट्ठा जग्गामा धान लगाएका छन् । शिवलाल चौधरीको पनि उस्तै व्यथा छ । उनले जानकी एग्रोसिडबाट धानको बीउ ल्याएर ७ कट्ठा जग्गामा धान लगाएका छन् । उनीहरु मात्र होइन त्यस क्षेत्रका अधिकांश कृषकहरु धानको बीउमा ठगिएको महशुस गरेका छन् । तर चेतनाअभावका कारण दुईजना कृषकले मात्र जिल्ला कृषि विकास कार्यालयमा उजुरी गरेका छन् ।

धान खेतीबाट घाटा व्योहोर्नु परेको पिडा कृषक हरि कुमार चौधरीले खैरहनी कृषि सेवा केन्द्रका प्रमुख गोपाल लम्साललाई जानकारी गराए । सेवा केन्द्र प्रमुख लम्साल कृषकहरुको खेतमै गई निरिक्षण गरेपछि उक्त धानको बीउ कृषकले भने जस्तै सावा मन्सुली नभएको बताए । सोधीखोजी गर्दा ज्यामिरे कृषि सहकारी संस्था र जानकी एग्रोले भण्डारा बजार स्थित जनता कृषि पसलबाट धानको बीउ ल्याएर बिक्री गरेको थाहा पाए । जनता कृषि पसलका बीउ बिक्रेताका अनुसार उक्त बीउ भैरहवाको लुम्बिनी सिड कम्पनीबाट ल्याएर बिक्री गरेको बताए । तर पीडित कृषकहरुका अनुसार उक्त धानको बीउ बिक्री गरेको बोराको ट्यागमा बीउ उत्पादन चितवनकै पटिहानी भएको उल्लेख भएको जनाए ।

अन्तमा उक्त बीउ नक्कली भएको कृषि सेवा केन्द्र खैरहनीका गोपाल लम्सालले स्पष्ट पारेपछि पिडित कृषकहरुले जिल्ला कृषि विकास कार्यालयमा क्षतिपूर्तिका लागि माग गरेका छन् । जनता कृषि पसलका बीउ बिक्रेता भरत पाठकले आफूहरुले नेपाल सरकारले नै स्वीकृति दिएको भैरहवाको लुम्बिनी सीड कम्पनीले उत्पादन गरेको बीउ बिक्री गरेको बताए । पिडित कृषकहरुले आफूहरुले लगाएको खेतमा जति धान उत्पादन हुन्छ, त्यति नै बराबरको क्षतिपूर्तिको माग गरेका छन् । आफूहरुले वर्षभरि खानपुग्ने जग्गाबाट धान उत्पादन नभएपछि कृषकहरु चिन्तित छन् ।

आज चितवन जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत सुदीप रेग्मी धानखेतमै गई धानबाली निरिक्षण गरेका छन् । निरिक्षण पश्चात त्यस धानको बीउमा मिसावट भएको बताए । उनले धानको बीउमा मिसावट भएकोले उत्पादन नभएको प्रष्ट पारेका छन् । चितवन जिल्ला कृषि विकास कार्यालयले उचित क्षतिपूर्तिको लागि प्रकृया अगाडि बढाउने जानकारी कृषकहरुलाई दिएका छन् । “सम्बन्धित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गर्नेछौं” उनले बताए ।

Leave a Reply

Your email address will not be published.